सामाजिक सञ्जाल: क्रिस्दा रोड्रिगेजको मार्मिक सन्देशमा सोनाली बेन्द्रेको फोटो भाइरल – Nepal Press

सामाजिक सञ्जाल: क्रिस्दा रोड्रिगेजको मार्मिक सन्देशमा सोनाली बेन्द्रेको फोटो भाइरल

काठमाडौं । तपाईंले केही दिनदेखि सामाजिक सञ्जालमा एउटा पोस्ट हेर्नुभएको होला, जहाँ एक क्यान्सर पीडितले लेखेका केही प्रेरणादायी शब्दहरु छन् । जीवनमा पैसाभन्दा माया ठूलो हो भन्ने भाव पोखिएको मार्मिक पोस्टले जो कसैको मन छुन्छ ।

नेपालीमा अनुवाद गरेर भाइरल बनाइएको पोस्ट यस्तो छ:

१) मसँग मेरो ग्यारेजमा, संसारकै महँगोमध्येको कार थन्किएको छ । तर, म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु ।

२) मेरो घर मूल्यवान कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ । तर, म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु ।

३) मसँग प्रशस्त बैंक ब्यालेन्स छ । रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन ।

४) मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटलभन्दा कम छैन । तर, म अस्पतालको दुई वटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु ।

५) एउटा शहरको पाँचतारे होटलबाट अर्काे शहरको पाँचतारे होटलमा मिटिङ एवं लन्च-डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु ।

६) जीवनमा मैले सयौं शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ । तर, आज डाक्टरको प्रेस्क्रिप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ ।

७) मेरो कपाल मिलाउन मात्र मसँग ७ जना बार्बर कार्यरत थिए । तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौं बाँकी छैन ।

८) म प्राइभेट जेटमा विश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ । तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्न पनि मलाई अरु कसैको सहायता चाहिन्छ ।

९) रोजेको स्वादिष्ट भोजनमा रमाउने म । तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानीमात्र मेरो निम्ति खाना भएको छ ।

१०) आज मेरो लागि बैंक ब्यालेन्स, सानदार घर, महँगो कार, गहना, लत्ताकपडा, व्यापार-आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही कोही काम लाग्दैनन् ।

तर, मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ । र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ र त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ ।

स्वास्थ्यभन्दा ठूलो सम्पत्ति होइन रहेछ ।

मुस्कुराउन नछोडौं । सक्रिय जीवनमै भएको सकेको दान गरौं । जीवनमा कहिल्यै कसैको चित्त दुःखाउने भूल कदापि नगरौं । म सबैसँग माफी माग्छु ।

भवतु सब्ब मंगलम् ।

यो सन्देशमूलक पोस्ट हो, डेमोनिकन रिपब्लिककी इन्टाग्राम ब्लगर तथा फेसन डिजाइनर किरजायदा (क्रिस्दा) रोड्रिगेजको । चार वर्षअघि क्यान्सरका कारण मृत्यु भएकी रोड्रिगेजले अस्पतालको शय्याबाट भिडिओ सन्देश दिएकी थिइन् । सोही सन्देशको भावलाई अक्षरमा उतारेर सामाजिक सञ्जालमा फैलाइएको थियो, जुन अहिले नेपालमा धेरैले शेयर गरिरेहका छन् ।

तर, सन्देशसँगै भाइरल भइरहेको तस्विर भने रोड्रिगेजको होइन । तस्विरमा भएकी युवती हुन् भारतीय अभिनेत्री सोनाली बेन्द्रे । ९० को दशकका बलिउड चलचित्र हेर्नेहरु धेरैले उनलाई चिन्छन् ।

सोनाली पनि एक क्यान्सर सर्भाइभर हुन् । उनलाई सन् २०१८ मा चौंथो स्टेजको क्यान्सर पहिचान भएको थियो । भारतीय रियालिटी शोमा जज गर्दैगर्दा क्यान्सर देखिएपछि उनी अमेरिकामा उपचारका लागि गएकी थिइन् । करिब एक वर्ष किमोथेरापी र सर्जरीपछि उनी क्यान्सरमुक्त भएकी छन् । अहिले उनी पहिले जस्तै सक्रिय जीवन बाँचिरहेकी छन् ।

सोनालीले सन् १९९४ मा ‘आग’ बाट बलिउडमा डेव्यु गरेकी हुन् । उनलाई सन् १९९६ मा रिलिज भएको ‘दिलजले’ ले पहिलो सफलताको स्वाद दिलायो । त्यसपछि उनले ‘मेजर साब’, ‘सरफरोस’, ‘हम साथ साथ है’, ‘हमारा दिल आपके पास है’ जस्ता हिट फिल्महरुमा काम गरिन् । उनले ‘इन्डियाज बेस्ट ड्रामेवाज’, ‘हिन्दूस्तान के हुनरवाज’, ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘इन्डियन आइडल’ जस्ता रियालिटी शोहरुमा जजको भूमिका निर्वाह गरेकी थिइन् । उनी अहिले आफ्नो कलाकारिता सँगसँगै क्यान्सरको विषयमा जनचेतना फैलाउनसमेत सक्रिय छिन् ।

अब कुरा गरौं किरजायदा रोड्रिगेजको । सन् २०१९ मा उनको क्यान्सरका कारण निधन भएको थियो, जतिबेला उनी ४० वर्षकी थिइन् । पेटको क्यान्सर (स्टेज फोर) देखिएको एक वर्षमा रोड्रिगेज अस्ताइन् ।

उपचारका क्रममा उनले आफ्ना सबै अनुभूतिहरु इन्टामार्फत शेयर गर्ने गर्थिन् । अस्पतालकै बेडबाट उनले फेसनसम्बन्धी टिप्सहरु पनि दिन्थिन् । तर, जब उनलाई आफ्नो मृत्युको आभास भयो, सबै उपचार प्रक्रिया बन्द गर्न लगाइन् ।

उनले इन्स्टामा आफू अब मृत्युको लागि तयार भएको भन्दै फ्यानहरुका नाममा पोस्ट गरेकी थिइन् ।

‘अब किमो र रेडियसन बन्द गरिने छ किनकि यसले मैले आशा गरेअनुसार काम गरिरहेको छैन । मैले यी उपचारहरु बन्द गर्ने निर्णय लिएँ, ताकि म आफ्नो बाँकी समय साथी र परिवारसँग बिताउन सकूँ, सकेसम्म पीडारहित भएर ।’

सन् २०१८ को सेप्टेम्बर ९ मा किरजायदाको इन्स्टाबाट नै उनको निधनबारे जानकारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर