रवीन्द्र जडेजाका बुवा भन्छन्- छोराले बुहारीको कुरामा लागेर हामीसँग सम्बन्ध तोड्यो – Nepal Press

रवीन्द्र जडेजाका बुवा भन्छन्- छोराले बुहारीको कुरामा लागेर हामीसँग सम्बन्ध तोड्यो

काठमाडौं । भारतीय क्रिकेटर रवीन्द्र जडेजाका बुवा अनिरुद्ध जडेजाले आफ्नो छोरा र बुहारीबाट तिरस्कार सहनुपरेको गुनासो मिडियामा गरेका छन् । छोराबुहारी लामो समयदेखि आफ्नो सम्पर्कमै नरहेको उनको भनाइ छ ।

रवीन्द्र जडेजाकी पत्नी रिभावाको एउटा तस्विर सार्वजनिक भएको थियो, जसलाई लिएर उनी गर्भवती भएको हुनसक्ने अड्कल गरियो । यसको आधिकारिक पुष्टि गर्न केही मिडिया पर्सनले रवीन्द्रका बुवा अनिरुद्धलाई फोन सम्पर्क गरेका थिए । त्यसको जवाफ दिने क्रममा अनिरुद्धले छोरासँग आफ्नो कुनै सम्पर्क नरहेको बताए ।

उनले भने, ‘तपाईं साँचो कुरा सुन्न चाहनुहुन्छ ? मेरो रवीन्द्र र उसको पत्नीसँग कुनै सम्बन्ध छैन । हामी उनीहरुलाई बोलाउँदैनौं, उनीहरु हामीलाई बोलाउँदैनन् ।’

रवीन्द्रको विवाहको दुई-तीन महिनापछि नै सम्बन्धमा दरार सुरु भएको अनिरुद्धको भनाइ छ । उनले आफ्नो छोरालाई क्रिकेटर बनाएकोमा ग्लानीसमेत गरेका छन् । यदि स्टार नभएको भए छोरो आज आफूसँगै हुनसक्ने उनको अनुमान छ ।

‘म अहिले जमानगरमा एक्लै बस्छु । रवीन्द्र अर्कै बंगलामा श्रीमतीसँग बस्छ । हामी एउटै शहरमा छौं । तर, ऊ कहिल्यै मलाई भेट्न आउँदैन । थाहा छैन, बुहारीले छोरामाथि के जादु गरेकी छन्, ऊ हामीबाट धेरै टाढा भएको छ’, अनिरुद्धले सुनाए ।

उनी थप्छन्, ‘रवीन्द्र मेरो छोरा हो भन्ने कुराले नै छाती पोल्छ । सायद मैले उसको बिहे नै नगरिदिएको भए हुन्थ्यो, क्रिकेटर नबनाएको भए हुन्थ्यो । हामीले यस्तो भुक्तमान खेप्नुपर्ने थिएन होला ।’

‘बिहेको तीन महिनापछि नै बुहारीले मलाई आफ्नो सबै कुरा उनको नाममा नामसारी गर्न भनिन् । उनले हाम्रो परिवारभित्र दरार पैदा गरिन् । उनी परिवारमा बस्नै चाहन्थिनन् र स्वतन्त्र जीवन बाँच्ने उनको इच्छा थियो । अहिले हाम्रो परिवारको कुनै पनि सदस्यसँग उनीहरु सम्पर्कमा छैनन् । हामीबीच सम्बन्ध छैन, केवल घृणा छ ।’

‘हामीले पाँच वर्षदेखि नातिनीको मुख हेर्न पाएका छैनौं । रवीन्द्रका ससुरालीले नै सबै व्यवस्थापन गरेका छन् । उनीहरु सबै कुरामा हस्तक्षेप गर्छन् । रवीन्द्रलाई उनीहरु बैंक जसरी उपयोग गरिरहेका छन् ।’

अनिरुद्धको अन्तर्वार्ता भाइरल भएपछि रवीन्द्र जडेजामाथि गालीगलौजको वर्षा भयो । त्यसपछि उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् । उनले बुवाको आरोप तथ्यहीन र प्रायोजित भएको दाबी गरेका छन् ।

‘यो मेरी पत्नीको इमेज बिगार्ने षड्यन्त्र हो, कुनै पनि कुरा सत्य छैनन्’, रवीन्द्रले लेखेका छन् । भित्री कुराहरु अरु नै भएको र आफूले बाहिर ल्याउन नचाहेको उनको भनाइ छ ।

यसैबीच हालै एक कार्यक्रममा उपस्थित भएकी रिभावालाई पत्रकारहरुले उनीमाथि लागेको आरोपबारे सोधेका थिए । रिभावाले जवाफ दिन इन्कार गरिन् ।

‘यो कार्यक्रम जेसँग सम्बन्धित छ, त्योमात्रै सोध्नुस् । व्यक्तिगत कुराहरु अरु बेला सोध्न सक्नुहुन्छ’, उनले भनिन् ।

रवीन्द्रकी पत्नी रिभावा राजनीतिकर्मी हुन् । उनी भाजपाबाट गुजरात विधानसभाको सदस्य छिन् । रवीन्द्रका बुवा अनिरुद्ध भने प्राइभेट कम्पनीमा वाचम्यानको काम गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर