पाल्पाको तिनाउ दोभान बन्दै मृत्यु कुण्ड, स्थानीयले उठाए सुरक्षाको प्रश्न – Nepal Press

पाल्पाको तिनाउ दोभान बन्दै मृत्यु कुण्ड, स्थानीयले उठाए सुरक्षाको प्रश्न

रुपन्देही । रुपन्देही आसपासमा गर्मी छल्ने नजिकको ठाउँ हो, पाल्पाको दोभान क्षेत्रको तिनाउ नदी । रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट यहाँ पौडिन आउनेहरुको लर्को नै लागिरहन्छ ।

बुटवलबाट ५.७ किलोमिटरको दूरीमा सिद्धबाबाको ड्यामदेखि दोभान आसपासको क्षेत्रमा गर्मी छल्ने पौडिन पुग्ने धेरै छन् । तराईमा हपहपी गर्मी हुँदा पनि बग्ने चिसो पानी र अग्ला पहाडको बीचमा रहेका ससाना ताल तथा बुटवल जलविद्युतको ड्यामसाइड पौडनेहरुको केन्द्र बनेको छ । यससँगै साविकको दोभान तथा हालको तिनाउका विभिन्न झरनाहरुमा अहिले सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

तर, यसरी पौडन जानेहरुको उल्टै डुबेर मृत्यु हुन थालेपछि यहाँको सुरक्षामा प्रश्न उठेको छ । नेपालीमात्र होइन भारतीय नागरिकसमेत ज्यान गुमाएपछि स्थानीयले सरोकारवालासमक्ष सुरक्षाको प्रश्न उठाएका छन् ।

बैशाख १३ गते माथिल्लो सिद्धबाबा नजिकको ड्याम साइडको रहमा एक जना युवा डुबे । गहिरो रहमा डुबेका १५ वर्षीय भैरहवाका शिशिर उपाध्यायको समयमै उद्धार नहुँदा मृत्यु भएको उनको परिवार तथा सँगै पुगेकाहरु बताउँछन् । साथीहरुसँग पौडी खेल्न पुगेका थिए उनी । उद्धारमात्र होइन ड्याम साइडको रहमा उनको शव खोज्नसमेत निकै कठिन भएको थियो । स्थानीय पौडी खेल्ने युवाहरुले धेरै प्रयास गरे पनि भेटाउन सकेनन् । बुटवल उपमहानगरपालिकाको अगुवाइमा बर्दियाबाट गोताखोर मगाएर २४ घण्टामा शव निकालिएको थियो ।

गर्मीमा पौडी खेलेर शीतल मनाउन आएका उनी पानीको गहिरो एकिन नगर्दा डुब्न पुगेको प्रहरीले जनाएको छ ।

असारको पहिलो साताको शनिबार पनि अर्का एक जना युवाको डुबेर यही मृत्यु भयो । चिडियाखोलाका राजन गौतम सानैबाट पौडी खेल्छन् । पाल्पा क्षेत्रमा डुबेर मृत्यु भएका अधिकांशको शव उनले निकालेका छन् । उनले डुबेर हराएका १८ जनाभन्दा बढीको शव निकालेको बताउँछन् ।

‘यो क्षेत्र खतरापूर्ण छ भन्ने सूचना दिन नसकेर यस्ता घटना बढ्दै गएका छन्, कम्तीमा यहाँको पालिकाबाट सुरक्षाको लागि एउटा ट्युव हावा भरेर राख्ने वा सूचनामूलक बोर्डहरु राख्नुपर्ने हो’, उनले भने ।

बुटवल पावर कम्पनीको ड्याम साइड करिब ३५ देखि ४० फिट गहिरो भए पनि अहिले भने यो पुरिँदै गएको छ । यहाँ गहिरोभन्दा पनि ड्याममुनि पानीले खोतलेर बनाएको सुरुङ र रडहरुमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको गौतमको भनाइ छ ।

राम्ररी पौडी खेल्न नजानेहरु टाउकोमा चोट लागेर बेहोस हुने र निस्सासिएर मृत्यु हुने गरेको उनको बताउँछन् । पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भए पनि पछिल्लो समयमा खासै चासो नदेखाएको उनको गुनासो छ ।

‘सरोकारवालाहरुले चासो नदिँदा जोखिम बढेको छ’, गौतमले भने । चिसो छल्ने केन्द्रको रुपमा आन्तरिक तथा भारतीय पर्यटकको केन्द्र बनेका दोभान क्षेत्रमा झुम्साको भूतखोला, सिद्घबाबा तल कदमबास क्षेत्रमा बढी डुबेर मृत्यु हुने गरेको छ ।

यहाँ हुने घटनाको उद्धारमा खटिने सशस्त्र प्रहरीको टोलीका अनुसार पाल्पा जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा डुबेर २२ जनाको मृत्यु भएको छ । जसमा १० पुरुष, २ महिला, ५ बालक र ४ जना बालिका छन् । यसमध्ये तिनाउ गाउँपालिका- ३ स्थित भूतखोला, ड्याम र तिनाउ खोला क्षेत्रमा ६ पुरुष, एक महिला, २ बालबालिका गरी ९ जना तथा रामपुरको कालीगण्डकी तथा अन्य खोलाहरुमा बाँकीको डुबेर मृत्यु भएको तथ्यांकले देखाउँछ ।

पाल्पाको तिनाउ गाउँपालिका- ३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोला पानी पोखरीमा फोटो खिच्ने तथा पौडी खेल्ने क्रममा घुम्न आउने पर्यटकहरु घटनामा परेका छन् । रुपन्देही तथा तराईको अन्य जिल्लाबाट घर्मी छल्न पाल्पास्थित तिनाउ खोलामा पौडी खेल्न आउनेसँगै डुबेर मर्ने घटना बढ्न थालेपछि पर्यटकहरुमा त्रास बढेको छ ।

इञ्जिनियर जयलाल मरासिनीका अनुसार पौडी केन्द्र आसपासका क्षेत्रमा पर्याप्त सूचना राख्नुका साथै केही महिना पौडी जानेका अस्थायी व्यक्तिहरुलाई सुरक्षार्थ खटाउनुपर्ने बताउँछन् । स्थानीय राजनीतिक अगुवा महेन्द्र पाण्डेयले तिनाउ आसपासको क्षेत्र तराईको गर्मी छल्ने केन्द्रको रुपमा विकास भए पनि केही सुरक्षाका गम्भीर विषय उठेकाले स्थानीय सरकार तथा वन समितिले पर्याप्त सुरक्षा सर्तकताका सूचनामा ध्यान दिनुपर्ने र यहाँ आउने पर्यटकले अपनाउनुपर्ने सुरक्षा मापदण्डका विषयमा जानकारी दिने संयन्त्र बनाउन पहल गर्नुपर्ने बताउँछन् ।

पर्यटनकर्मी दलबहादुर गुरुङले पर्याप्त सूचना दिने संयन्त्र बनाएर यसलाई सबैतिर सचेतना बढाउनुपर्ने बताउँछन् । ‘यति धेरै पर्यटकको चाप हुने ठाउँमा सुरक्षाको विषय उठ्नु चुनौती हो, स्थानीय व्यवस्थापन समिति, पालिका तथा सुरक्षा निकाय बसेर सुरक्षा संयन्त्र बनाउनुपर्दछ, पौडिन आउनेहरु पनि प्रयाप्त सूचनाविना जाने काम बन्द गर्नुपर्दछ’, उनले भने ।

तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले गर्मी छल्न आउने पर्यटकको संख्या बढे पनि धेरै सुरक्षाका विधिहरु प्रयोग नगरेको र यसबाट दुःखद घटनाहरु भइरहेको बताए ।

‘हामीले ठाउँठाउँमा बोर्ड पनि राख्न लगाएका छौं, यसको व्यवस्थापन स्थानीय सामुदायिक वनले गरेको छ । तर, केही व्यक्ति धेरै मदिरा सेवन गरेर, लागूऔषध प्रयोग गरेर आएकाले सुरक्षाको समस्या बढेको विषयहरु आएका छन्, पालिकामै यसलाई कुन विधिबाट समाधान गर्न सकिन्छ योजना बनाउँछौं’, अर्यालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *