हर्क साम्पाङका समर्थकद्वारा धरानका वडाध्यक्षलाई कालोमोसो दल्ने प्रयास – Nepal Press

हर्क साम्पाङका समर्थकद्वारा धरानका वडाध्यक्षलाई कालोमोसो दल्ने प्रयास

उपमेयर आइन्द्रविक्रम बेघा भन्छन्- ‘डेडलक’ लाई निकास दिइयोस्

विराटनगर । धरान उपमहानगरपालिका वडा नम्बर १७ को कार्यालयमा सोमबार वडा अध्यक्ष सहित टोल विकास समितिका सदस्यहरूको बैठक जारी थियो ।

बैठक चलिरहेको वडा कार्यालयमा नाराबाजी गर्दै आएको समूहले वडा अध्यक्ष मनोज भट्टराईलाई मोसो दल्ने प्रयास गर्‍यो । मनोज भट्टराई तिनै वडा अध्यक्ष हुन् उनी धरानका मेयर हर्क साम्पाङको आलोचना गर्दै आएका छन् ।

भट्टराईले आफू असुरक्षित रहेको समेत बताउँदै आएका थिए ।

उनै भट्टराईको वडामा बैठक हर्क साम्पाङ जिन्दाबाद भन्दै पुगेको समूहले वडाध्यक्षलाई कालोमसो दल्न खोजेपछि टोल विकास समितिका सदस्य सहितले तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो ।

टोल विकास समितिका सदस्यहरूले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका तीनजना विरुद्ध प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ ।

प्रहरीले धरान-१७ का गोविन्द श्रेष्ठ, लाक्पा तेन्जिङ शेर्पा र ‘क्रान्ति क्रान्ति’ नामको फेसबुक पेज चलाउने ललित राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीन जनालाई पक्राउ गरेसँगै मेयर हर्क साम्पाङका समर्थकहरू आक्रामक बनेका छन् ।

मेयर साम्पाङले समेत पटक पटक सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिक दल र कार्यकर्ताहरूलाई गाली गरेका छन् ।

यसरी दुवै पक्ष आक्रामक बन्दा धरानमा सामाजिक सम्बन्धमा खलल पुग्न सक्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

वडा कार्यालयमा भएको हुलहुज्जतमा सहभागीहरूलाई कारबाहीको माग राख्दै प्रहरीमा किटानी जाहेरी परेको छ । भने वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यहरूले पनि विज्ञप्ति जारी गदै नगर प्रमुख हर्क साम्पाङ र उनका समर्थकहरूका कारण धरानमा अराजकता बढ्दै गएको आरोप लगाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘नगर प्रमुख र नगर प्रमुखका समर्थकहरूले सामाजिक सञ्जाल मार्फत गर्दै आएका टिप्पणी आदेश र गैर कानुनी कार्यपद्धतीका कारण अराजकता बढ्दै गएकोप्रति हामी चिन्तित भएका छौँ ।’

‘सञ्चार कानुन बनाएर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा, संरक्षण, संवर्द्धन गर्नुको सट्टा सञ्चार माध्यम, सञ्चारकर्मीलाई गाली गर्ने, सञ्चारकर्मीलाई आफू समक्ष आएर बयान दिन आदेश दिने जस्ता गैर कानुनी र प्रेस, अभिव्यक्ति स्वतन्त्रताप्रति धावा बोल्ने काम भइरहेको छ, यसले हामीलाई लज्जित बनाएको छ’, वक्तव्यमा भनिएको छ ।

उपमेयर भन्छन्- वडाध्यक्षको सही माग पूरा होस्

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले मेयर हर्क साम्पाङ लाई वडा अध्यक्षहरूको जायज मागलाई सम्बोधन गर्न माग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै ‘डेडलक’ लाई निकास दिनुपर्ने सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

मेयर साम्पाङ र वडाध्यक्षहरूको बीचको विवादले कार्यपालिका बैठक बस्न नसकेको दुई महिना पुग्न लाग्यो । दुई पक्षको विवादकै पृष्ठभूमिमा वडा १७ कार्यालयमा हुल हुज्जतको घटना भएपछि उपमेयरले ‘जटिल परिस्थिति’ सिर्जना भएको भन्दै वक्तव्य जारी गरेका हुन् ।

वडा १७ कार्यालयमा भएको घटना खेदजनक र दुःखद भएको र उक्त घटना मेयर साम्पाङ र वडाध्यक्षहरूबीचको विवादकै ‘उदाहरण’ भएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘वडा अध्यक्ष ज्युहरूले राख्नु भएका जायज मागहरूलाई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नु पर्ने देखिन्छ ।

(तस्बिर : सामूहिक विज्ञप्ति जारी गरेर आफ्ना कुरा राख्दै वडाध्यक्ष र कार्यपालिका सदस्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *