फिल्म उतारेपछि बुलाकी निर्देशकको निष्कर्ष- नेपालमा महिला कलाकारको क्रेज रहेनछ – Nepal Press
नेपाल टक

फिल्म उतारेपछि बुलाकी निर्देशकको निष्कर्ष- नेपालमा महिला कलाकारको क्रेज रहेनछ

काठमाडौं । भर्सटाइल अभिनेत्रीको ट्याग पाएकी सुरक्षा पन्त अभिनित चलचित्र ‘बुलाकी’ रिलिजको दुई दिनमै हलबाट उतारियो । वैशाख १ गते रिलिज भएको चलचित्र वैशाख ३ मै हलबाट उतार्नुमा निर्माताले हल सञ्चालकहरुलाई दोष दिएका छन् ।

कर्णाली प्रदेशको जारी प्रथालाई देखाइएको चलचित्रलाई शो वितरणमा भेदभाव गरिएको निर्माता विराज विष्टको आरोप छ । चलचित्र हलबाट उत्रिएसँगै करोडांैको लगानी डुब्ने स्थिति आएको छ ।

चलचित्र रिलिज अगाडि नै निर्माण टीमले हलहरुबाट विभेद भएको गुनासो पोखेका थिए । राम्रो शो नदिएमा हलबाट निकालेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने चेतावनीसमेत दिएका थिए । तर, सुरुवातमा दिएको शो भोलिपल्टदेखि बढ्ने आशामा चलचित्र सोही मितिमा रिलिज गरियो । नयाँ वर्षमा अरु पनि दुई नयाँ चलचित्र रिलिज भएकोमा बुलाकीलाई हल व्यवसायीले सबैभन्दा कम प्राथमिकतामा राखे ।

भोलिपल्ट शनिबार हलमा चलचित्रको शो बढ्नुको सट्टा घटेपछि निर्माण टीमले दुःखद निर्णय लियो । दर्शकबाट राम्रो प्रतिक्रिया आउँदाआउँदै पनि हल व्यवसायीले चलचित्रलाई अपहेलना गरेको, प्राप्त सबै शो अफटाइममा पारिएको, मोफसलका मुख्य स्टेसनमा एक शो पनि उपलब्ध नगराइएको, प्रायः सबै शो बिहानमात्रै दिइएको, दोस्रो दिनबाटै ७५ प्रतिशत शो कटौती गरिएको र अग्रिम बुकिङमै कम शो उपलब्ध गराइएको निर्माता विष्टको आरोप छ ।

नयाँ वर्षको अवसर छोप्दै चार निर्माताले एकै दिन आफ्नो चलचित्रको रिलिज मिति घोषणा गरेका थिए । जारी, बुलाकी, बिहेपास र नाईं नभन्नु ल ६ भिड्ने फाइनल भएकोमा नाईं नभन्नु ल ६ ले अन्तिम समयमा हात झिकेको थियो । त्यसपछि त्रिपक्षीय भिडन्तमा ‘जारी’ले विस्फोटक व्यापार गरिरहेको छ । बुलाकीले वाकओभर दिएपछि अहिले ‘बिहे पास’ लाई केही फाइदा भएको छ ।

अब ‘बुलाकी’ के हुन्छ ? निर्माताको लगानी कसरी रिकभर हुन्छ ? यसै सन्दर्भमा ‘बुलाकी’ का निर्देशक लक्ष्मण सुनारसँग गरिएको कुराकानी-

– रिलिज भएको दुई दिनमै फिल्म उतार्ने निर्णय किन लिनुभयो ?

खासमा सुरुमै शो बाँडफाँट भएपछि नै हामीले १ गते ‘बुलाकी’ नलगाउने सोचेका थियौं । तर, त्यो बेला वितरकहरुले भोलिपल्टबाट शो थपिन्छ भन्ने कुरा गर्नुभयो । त्यसैले सोही मितिमा हामी चलचित्र लगाउने भयौं ।

हामीले मिति सार्न खोजेका पनि हौं । एक हप्ता अघि सरौँ कि भन्ने लागेको थियो । तर एक हप्ताअघि सुरक्षाजीको अर्को चलचित्र ‘बहाव’ लागिरहेको थियो । फेरि एउटै अभिनेत्रीको दुईवटा चलचित्र जुधाउने कुरा भएन ।

तर, पछि शो दिँदा उहाँहरुले अफटाइममा दिनुभयो । बिहान ७ बजे, ८ बजेतिरको । अनटाइममा दिइएका शोहरु एकदमै थोरै थिए । शुक्रबार रिलिजपछि त झन् शोमा विभेद भयो । शुक्रबार चलचित्रले राम्रो पिकअप लिएको थियो । हामीलाई चल्दैन कि जस्तो लागेका ठाउँमा समेत चलचित्र हाउसफुल थियो ।

पश्चिमको कथा भएकाले पूर्वमा त्यति रुचाउनु हुन्न कि भन्ने डर रहेकोमा सोचेभन्दा उल्टो भयो । त्यो देखेपछि शनिबार र आइतबार चलचित्रले राम्रो गर्ने रहेछ भन्ने सोचेका थियौं । तर, १२ शो दिएको क्यूएफएक्सले आइतबारसम्ममा शो घटाएर ३ बनाइदियो । ७५ प्रतिशत शो कटौती भयो । सिंगल चेनहरुमा त शो नै छैन ।

मेरो आफ्नै गाउँ सुर्खेतमा समेत शो छैन । कहींकतै शो नदिएपछि बेकारमा के पोस्टर टालेर राखिराख्नु ? बुलाकी कर्णाली पश्चिमको कथा हो, दर्शकलाई हेरौं भन्ने लाग्छ नि ! तर, शो नै नभएपछि कसरी हेर्ने ? त्यही भएर हलबाट निकालेका हौं । खासमा आइतबार नै निकाल्ने भनेका थियौं । तर, आइतबारका लागि दर्शकहरुले टिकट काटिसक्नुभएकाले गर्दा त्यो दिन निकालेनौं । हेर्न चाहनुभएका दर्शकलाई निराश बनाएर फर्काउने कुरा पनि भएन ।

– हलवालाहरुले रिलिजको दुई दिनमै ७५ प्रतिशत शो कटौती किन गरे ? ‘जारी’ ले थिचेर कि चलचित्र नचलेर ?

फिल्म नचलेको त भन्न मिल्दैन । नयाँ वर्षमा ‘बुलाकी’ ले राम्रो व्यापार गरेको थियो । मेरो चलचित्रले मात्र होइन, नयाँ वर्षमा बिहेपासले पनि राम्रो व्यापार गरेको थियो । बिहेपासलाई शोहरु अनटाइममै दिनुभएको छ । तर, हलमा बिहेपास हेर्ने दर्शक छैनन् । तर पनि शोहरु यथावत राखिरहनुभयो । अर्को कुरा आयो- ‘जारी’ ले थिच्नेवाला । तुलनात्मक हिसाबले ‘जारी’ राम्रो चलेको हो । प्रि-बुकिङ पनि राम्रो थियो । तर, नयाँ वर्षमा सबै चलचित्रको व्यापार राम्रो थियो । यति भनेपछि कसैले कसैलाई थिच्ने कुरा नै आउँदैन । हाम्रो एउटै मात्र समस्या भनेको शो बाँडफाँट हो । सबैलाई समान व्यवहार गरेर, मिलाएर शो दिएको भए सबै चलचित्रलाई सहज हुन्थ्यो भन्ने हो । कसैलाई काखा कसैलाई पाखा गरे जस्तो भयो ।

– बुलाकीलाई सुरुमा कति शो छुट्याइएको थियो ?

हामीलाई क्यूएफएक्सले १२ शो दिएको थियो । बिग मुभिजले सुरुमा एउटा शो दिएको थियो र बुकिङपछि २ वटा बनाइ दिनुभयो । वान सिनेमाजमा बिहान साढे १० बजेतिरको एउटा थियो । त्यहाँबाहेक अरु हलहरुमा १, १ वटा शो थियो अफटाइमको ।

– तर, ‘जारी’ ले अफटाइममा पनि राम्रो व्यापार गरिरहेको छ नि ?

हो, म मान्छु ‘जारी’ ले अफटाइममा पनि राम्रो गरिरहेको छ । तर, हाम्रो चलचित्रमा उहाँहरुको जस्तो स्टारकास्ट छैन नि ! स्टारकास्ट नभएपछि अलिकति स्पेस राम्रो दिनुपर्छ । एक शो दिए पनि राम्रो अनि प्राइम टाइममा दिनुभयो भने हामी जस्तो नयाँ मेकर अनि नयाँ निर्देशकलाई राहत मिल्छ । हामीले ‘जारी’ र ‘बिहेपास’ जस्तो शो दिनु भनेको पनि छैन । यहाँ त दर्शकलाई कस्तो भयो भने, ‘बुलाकी’ हेर्नमात्र भए पनि उहाँहरु ८ बजे उठेर हल जानुपर्ने भयो । त्यहाँदेखि बाहेक अरु विकल्प नै भएन ।

चलचित्रको कथावस्तु मिल्नु संयोगको कुरा हो । जानीजानी कसैले कसैको विषयवस्तु चोरेको होइन । हामी रिलिज डेटभन्दा पछाडि जान सक्दैन थियौं । एउटै कथावस्तु भएकाले हामीले पछि रिलिज गर्ने सोच्दा पनि अलि धेरै नै पछि जानुपर्थ्यो ।

– ‘नाईं नभन्नु ल ६’ जस्तो ब्राण्डले त आफ्नो आधिकारिक रिलिज मितिबाट हात झिकेको थियो । ‘जारी’को चौतर्फी चर्चा देख्दा तपाईंहरुलाई चाहिँ रिलिज मिति सार्न मन लागेन ?

चर्चा त सबैको नै थियो । हामीले त फेरि ३ चोटी भइसकेको थियो रिलिज मिति सारेको । बारम्बार कति सार्नु ? जति सारे पनि कोही न कोहीसँग जुध्नु नै पर्छ । त्यही पनि शो बाँडफाँट भएपछि सारौं कि भन्ने लागेको थियो । तर, वितरकको कुरा सुनेर अडिग रह्यौं ।

– शो बाँडफाँटमा तपाईंहरुलाई विभेद भएकै हो त ?

पहिलो कारण भनेको हाम्रो वितरक नयाँ हुनुुहुन्छ । दोस्रो, म नै नयाँ निर्देशक हो । मैले हलवालाहरुलाई अहिलेसम्म बिजनेस दिएको छैन । तेस्रो, हाम्रो निर्माता नयाँ । हाम्रो चलचित्रमा कलाकारहरु पनि केही हदसम्म नयाँ नै हुनुहुन्छ । चौथो कारण हो ब्राण्ड । उहाँहरु पहिले नै स्थापित भइसकेको ब्राण्ड हुनुहुन्छ । समग्रमा भन्नुपर्दा हामी सबैतिरबाट नयाँ पर्‍यौं ।

– नयाँ मेकरहरुलाई हेपियो भन्न मिल्छ र ?

मिल्छ । त्यही भएको हो ।

– नयाँ वर्षमा एकै दिन चारवटा फिल्मको रिलिज डेट तोकिएको थियो । यसरी छिनाझप्टी गर्न खोज्नुको कारण के हो ?

सुरुमा मिति तोक्दा हामीलाई यति धेरै चलचित्र हुन्छन् जस्तो लागेको थिएन । ‘नाईं नभन्नु ल ६’ ले हामीले घोषणा गरेपछि रिलिज डेट घोषणा गरेको हो । उहाँहरुको त्यो समय सुट पनि पूर्ण रुपमा सकिएको थिएन । त्यसैले १ गते आउनुहुन्न होला जस्तो लागेको थियो ।

हामीले मिति सार्न खोजेका पनि हौं । एक हप्ता अघि सरौँ कि भन्ने लागेको थियो । तर एक हप्ताअघि सुरक्षाजीको अर्को चलचित्र ‘बहाव’ लागिरहेको थियो । फेरि एउटै अभिनेत्रीको दुईवटा चलचित्र जुधाउने कुरा भएन । त्योभन्दा अझै एक हप्ताअघि नरेन खड्काजीको चलचित्र ‘प्रेमा’ लागिरहेको थियो । त्यहाँ पनि फेरि जुध्ने नै भयो । यस्तै यस्तै कारणले हामी बीचमा अड्कियौं ।

मैले त हाम्रो निर्मातालाई मिल्छ भने अगाडि सारौं, हाम्रो चलचित्रलाई पिकअप लिन टाइम लाग्छ भनेको हो । उहाँले धेरै अगाडि पछाडि नगरौं, यही समय ठीक छ भन्नुभयो । प्रोमोसनमा धेरै खर्च भइसकेको थियो । यताउता सरिरहँदा झन् अप्ठ्यारो हुन्थ्यो ।

– जारी र बुलाकीको कथावस्तु एउटै भएकाले पनि तपाईंहरुलाई अप्ठेरो परेको हो कि ?

चलचित्रको कथावस्तु मिल्नु संयोगको कुरा हो । जानीजानी कसैले कसैको विषयवस्तु चोरेको होइन । हामी रिलिज डेटभन्दा पछाडि जान सक्दैन थियौं । एउटै कथावस्तु भएकाले हामीले पछि रिलिज गर्ने सोच्दा पनि अलि धेरै नै पछि जानुपर्थ्यो । जारीको कथा मान्छेले बिर्सिन आँटेपछि मात्र । मैले त्यतिखेर पनि हाम्रो चलचित्र चैत ३, १७ वा २४ मा रिलिज गरौं भनेको थिएँ । उहाँहरुले मान्नुभएन । अहिलेको परिस्थितिमा मलाई त्यही डेटमा रिलिज गरेको भए हुन्थ्यो भन्ने चाहिँ महसुस हुन्छ ।

अबको आउने दिनमा म आफ्नो माटोको कथा बनाउने भएँ भने स्टारकास्ट बलियो लिएर बनाउँछु । किनकि चलचित्र भनेको बनाउनुमात्र होइन रहेछ, हलसम्म लगाउन पनि उत्तिकै मेहनत लाग्दो रहेछ । हलमा चलचित्र लगाउन स्टारकास्ट बलियो हुनुपर्ने रहेछ ।

– यो फिल्ममा कति लगानी भएको छ ?

त्यो त मलाई ठ्याक्कै थाहा भएन । म शेयर पार्टनर पनि छैन । डोल्पामा छायांकन भएको हो । महँगो ठाउँ छ । राम्रै खर्च भयो होला । त्यसै पनि चलचित्र हो, चानचुने पैसामा त कहाँ बन्छ र ?

– अब लगानीको रिकभरी कसरी होला ?

हाम्रो चलचित्रको विदेश राइट्सहरु प्रायः बिक्री भइसकेको छ । यसबाहेक अर्को विकल्प पनि हामीले सोचेका छौं । मेरो घर सुर्खेत हो । त्यहाँ बुलाकी हेर्न धेरैलाई रहर छ । पश्चिममा त्यति हल छैनन् । कर्णाली प्रदेशमा एउटामात्र हल छ । त्यसै पनि पश्चिमको मान्छेलाई हाम्रो चलचित्र हेर्न मुस्किल नै पर्थ्यो । त्यसैले हामीले पश्चिमको प्रायः भागमा च्यारिटी उठाएर चलचित्र देखाउने सोचेका छौं । फेस्टिबलमा पठाउने प्लान पनि भइरहेको छ ।

– अर्को मितिमा फिल्म फेरि रिलिज गर्ने हो कि अब सकियो ?

यस विषयमा हामी छलफल गर्दैछौं । अर्को मिति तोक्ने कि भन्ने पनि कुरा हुँदैछ । तर, अर्को मिति तोकियो भने हामी अरु चलचित्रसँग जुधाउँदैनाैं । यदि रि-रिलिज गर्ने भयौं भने हल खाली भएको समयमा गर्छौं ।

– दुई दिनमा बुलाकीले कति कलेक्सन गरेको थियो ?

(हाँस्दै) त्यो त नभनौं हौ । हामीलाई हलवालाले जति हल दिनुभएको थियो, ती सबै हाउसफुल थिए । अहिलेलाई यति भनौं ।

– तपाईंहरुले डिस्ट्रिब्युटरहरुसँग सल्लाह नै नगरिकन फिल्म हलबाट फिर्ता लिनुभएको रहेछ नि ?

डिस्ट्रिब्युटरहरुसँग सल्लाह नगरेको भन्दा पनि कुरा नभएको हो । निर्माता विराज विष्टजीले कुरा गर्न खोज्नुभएको थियो । सम्पर्क पनि गर्नुभएको हो । तर, उहाँहरुको फोन रिसिभ भएन । कसैको फोन लागेन । अनि यसरी मरेर चलाउनुभन्दा निकालौं भनेर निकाल्यौं ।

– बुलाकी हेर्ने दर्शक र समीक्षकबाट कस्तो प्रतिक्रिया पाउनुभएको थियो ?

प्रतिक्रिया मिक्स थियो । कति जनालाई भाषामा समस्या भएछ । कतिले हामीले भाषा नै मज्जाले स्पष्ट बुझेनौं भन्ने जस्ता कुराहरु गर्नुभएको थियो । मलाई चिन्ने र मेरा नजिककोहरुले चलचित्र राम्रो भएको प्रतिक्रिया दिनुभयो । पिर नगर्नु, शो बढ्छ, चलचित्र राम्रो छ भन्नुहुन्थ्यो सबैले । तर, अन्तिममा गएर हलबाट निकाल्नुपर्ने बाध्यता आयो ।

– अब यस्ता खालका फिल्ममा निर्माताहरुले फेरि लगानी गर्लान् ?

आफ्नो ठाउँ, आफ्नो माटोको कथा कोर्न सबैलाई रहर हुन्छ । सबैलाई आफ्नो समाजको रीतिरिवाज र संस्कृति देखाउँ भन्ने हुन्छ । त्यसैले आउन सक्नुहुन्छ । तर, प्रस्तुति फरक हुनसक्छ । स्टारकास्ट बलियो लिएर आउन सक्नुहुन्छ ।

हलवालाले पनि हामीलाई के भन्नुभयो भने, ‘तपाईंको स्टारकास्टलाई हामीले एक हप्ताअघि पनि राम्रो हल दिएका थियौं । तर, दर्शक त्यति आउनुभएन । यो चलचित्रमा पनि उहाँ नै हुनुहुन्छ । कुन आधारमा हामीले उहाँलाई हल दिउँ ?’

मेरै कुरा गर्ने हो भने पनि अबको आउने दिनमा म आफ्नो माटोको कथा बनाउने भएँ भने स्टारकास्ट बलियो लिएर बनाउँछु । किनकि चलचित्र भनेको बनाउनुमात्र होइन रहेछ, हलसम्म लगाउन पनि उत्तिकै मेहनत लाग्दो रहेछ । हलमा चलचित्र लगाउन स्टारकास्ट बलियो हुनुपर्ने रहेछ ।

– चलचित्र बनाउँदा बलिया डिस्ट्रिब्युटरहरुलाई हातमा लिनुपर्ने रहेछ कि महँगा कलाकार च्याप्नुपर्ने रहेछ ?

राम्रो सिनेमा बनाएर राम्रो कलाकार राख्यो भने डिस्ट्रिब्युटर खोज्नै पर्दैन जस्तो लाग्छ मलाई ।

– सुरक्षा पन्त राम्रो कलाकार होइन ? उहाँको स्टार भ्यालु राम्रो छैन ?

उहाँको कारणले पनि हामीले शो अलि कम पाएका हौं । बुलाकी रिलिज हुनु एक हप्ता अघिमात्र उहाँको ‘बहाव’ लागेको थियो । उहाँको त्यो चलचित्रलाई हलवालाले राम्रो शो पनि दिनुभएको थियो । तर, शो राम्रो हुँदाहुँदै पनि चलचित्रले सोचे जस्तो सफलता हासिल गर्न सकेन । त्यस्तो माहोल देखेपछि हलवालाले पनि हामीलाई के भन्नुभयो भने, ‘तपाईंको स्टारकास्टलाई हामीले एक हप्ताअघि पनि राम्रो हल दिएका थियौं । तर, दर्शक त्यति आउनुभएन । यो चलचित्रमा पनि उहाँ नै हुनुहुन्छ । कुन आधारमा हामीले उहाँलाई हल दिउँ ?’

यति सुनेपछि मलाई नेपाली सिने क्षेत्रमा महिला कलाकारको स्टारडम पुरुषको जति रहेनछ जस्तो लाग्यो । महिला प्रधान चलचित्रहरु कति बन्छन् । तर, त्यो चलचित्र हलमा दुई दिन टिक्दैनन् । ‘राधा’ चलचित्रबारे कतिलाई थाहा पनि छैन । महिला प्रधान चलचित्र हेर्न महिला नै हलसम्म जादैनन् । सुरक्षाजीलाई नराम्रो भन्न खोजेको हैन फेरि । उहाँको अभिनय तारिफयोग्य छ । उहाँको अभिनयको चौतर्फी तारिफ गर्छन् सबैले । तर, उहाँको चलचित्र हेर्न भने दर्शक हलसम्म नगइदिँदा रहेछन् ।

– हलवालाहरुले सुरक्षाजीको कारण कम शो दिएको भन्नुभएको हो ?

मलाई हलवालाहरुले यस्तो कुरा गर्दैछन् है भनेर वितरकहरुले भन्नुभएको हो ।

– तपाईंको विचारमा कुन स्टारकास्ट चलचित्रमा राख्दा दर्शक हलसम्म आउँछन् ? ३ जनाको नाम भन्दिनुस् न ।

तीनजनाको नाम लिनुपर्दा पहिलो दयाहाङ राई । उहाँको देश-विदेश सबैतिर राम्रो क्रेज छ । अरु भनेका विपीन कार्की र अनमोल केसी । उहाँहरुको जे होस् क्रेज राम्रो छ ।

– महिला कलाकारमा स्टारडमको हिसाबले को बलियो लाग्छ ? क्रेजले दर्शक हलसम्म आउने खालको अभिनेत्री ?

अहिलेको परिस्थितिमा मैले त्यस्तो कोही देखिनँ । सृष्टि श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतका धेरै अभिनेत्रीका चलचित्रहरु लागे । तर, उहाँहरुको चलचित्र हेर्न दर्शकहरु मुस्किलले हल पुगे । नेपालमा अहिले त्यस्तो क्रेज भएको कोही छैनन् जस्तो रेखा थापाको पालोमा थियो । उहाँको क्रेज नेक्स्ट लेभलको थियो । रेखा थापाको नाम सुनेरमात्र भए पनि मान्छेहरु चलचित्र हेर्न हल पुग्थे । त्यो लेभलको स्टारडम र क्रेज अहिलेको अभिनेत्रीहरुमा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर