अखिल क्रान्तिकारीको विवादमा माउ पार्टी माओवादी किन मौन ? – Nepal Press

अखिल क्रान्तिकारीको विवादमा माउ पार्टी माओवादी किन मौन ?

पञ्चा र पवन एकअर्कालाई अवैध भएको दाबी गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद छताछुल्ल भइसक्दासमेत उक्त विवाद समाधानमा माउ पार्टी नेकपा माओवादी केन्द्र मौन बसेको छ । एक वर्षअघि २०७८ असोज १४ गतेदेखि १८ गतेसम्म अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट सुरू भएको विवाद अहिले सतहमा आएको हो ।

संगठनको विवादलाई पार्टीले गम्भीर रूपमा नलिँदा उक्त विवाद झन् बढ्दै गएको स्वयं क्रान्तिकारी नेताहरूको बुझाइ छ । पञ्चा सिंह नेतृत्वको संस्थापन पक्ष र तत्कालीन संगठनका उपाध्यक्षसमेत रहेका अखिल क्रान्तिकारी समानान्तर कमिटीका संयोजक पवन कार्की नेतृत्वको समूहका बीचमा समानान्तर गतिविधिको होडबाजी चलिरहेको छ । संस्थापन पक्षले कार्कीले समानान्तर कमिटी गठन गरेको भन्दै उक्त समूहमा लागेका सबै विद्यार्थी नेतालाई कारबाही गरेको छ ।

केहि दिनअघि बसेको क्रान्तिकारीको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनमा असन्तुष्ट बनेकालाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिएका थिए । पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारिक र वैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्युजन नरहेको भन्दै संगठनका समस्या समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । संगठनका उपाध्यक्ष मदन भुलका अनुसार बैठकमा ४१ पदाधिकारी मध्ये ३७ जना पदाधिकारी सहभागी भएका थिए ।

माओवादी उपमहासचिव पम्फा भुसालले क्रान्तिकारीको विवादमा पार्टीले केही निर्णय गर्ने बताइन् । ‘देखिएको समस्या र विवाद समाधानको जिम्मेवारी पार्टी सचिवसमेत रहनुभएका फ्याक्सन इन्चार्ज हितमान शाक्यलाई दिइएको छ । उहाँले सके आजको बैठकमा नभए र्को बैठकमा राख्नुहोला । त्यसपछि पार्टीले कुनै न कुनै निर्णय गर्ला नि ‘, उनले भनिन् ।

यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

संगठनको विवादबारे संस्थापन पक्षका उपाध्यक्ष मदन भुल पदाधिकारी चयन गर्दा कतिपय साथीहरूको व्यक्तिगत कुण्ठा, आफ्ना आसेपासे, पदाधिकारी नहुनेलाई पनि पदाधिकारी बनाउनुपर्‍यो भनेर व्यक्तिवादी माग राखेको टिप्पणी गर्छन् ।

‘अराजक गतिविधि गरेपछि तत्कालीन उपाध्यक्ष पवन कार्कीलगायत ८ जनालाई साधारण सदस्य नरहनेगरी कारबाही गरिएको हो । क्रान्तिकारीका नाममा अरु पसल धेरे भेटिन्छन् । त्यो पार्टीको भ्रातृ संगठन होइन । पार्टी अध्यक्ष ज्यूले पनि भन्नुभएको छ । अखिल क्रान्तिकारी भित्रको खासै समस्या होइन । कार्यालयको टीम पदाधिकारी ३९ जनामध्ये एकजना उपाध्यक्षको असन्तुष्टि हो । यो विषयमा पार्टीले चाडै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी छ गतिविधि बन्द गर्नुभएन भने ।’

उनले उपाध्यक्ष नारायण खनाल आत्मआलोचित भइसकेको, उपाध्यक्ष इन्द्र भुसालाई स्पष्टीकरण सोध्ने कुरा भइसकेको बताए । सीटीईभिटीको सम्वन्धनमा बार्गेनिङको सन्दर्भ अस्वीकार गर्दै उनले यदि भएको भए प्रमाण पेस गर्न चुनौती दिए । तर, पवन कार्की समूहले भने गल्ती नगरेको भए आत्मआलोचित किन भनिरहनुपर्थ्यो भनिरहेको छ ।

संगठन स्ववियू निर्वाचनमा होमिसकेको भन्दै विद्यार्थी नेता भुलले अहिले विशेष महाधिवेशन नहुने र २ वर्षे कार्यकाल सकिएपछि महाधिवेशन नै हुने बताए ।

‘कतिपयका व्यक्तिगत कुण्ठालाई छोडेर आत्माआलोचित भएर आउन अनुरोध गर्दछौं । नीति विधिअनुसार आएमा मिलाएर लैजाने भन्ने छ । फेरि कुनै पदाधिकारी दिने गरी भने होइन । अब ठोस रुपमा परिपत्र जारी गर्छ । कहीँ कतै अखिल क्रान्तिकारीका नाममा कसैले गतिविधि गर्‍यो भने सह्य हुँदैन । गरेमा बहिस्कृत हुन्छन्’, उनले नेपाल प्रेससँग भने ।

क्रान्तिकारी विद्रोही समूह (पवन कार्की) का प्रवक्ता उपदेश यादव विधानअनुसार पञ्चा नेतृत्वको कमिटी नभएकोले अवैध भएको दाबी गर्छन् । चुनावी कार्यक्रम अघि बढ्नुस भनेर अध्यक्षले भन्दाभन्दै २५ पदाधिकारी र १९९ भनेकोमा ४१ सदस्यीय पदाधिकारी र २९९ सदस्यी केन्द्रीय समिति बताएको यादवको भनाई छ ।

‘त्यो बनाउदैँ गर्दा पनि प्रक्रिया नपुर्याएको अवस्था छ । १९९ भित्र नरहेकालाई ५ देखि ६ जनालाई पदाधिकारी बनाउनुभयो । विधानले केन्द्रीय सदस्य हुन प्रतिनिधि हुनुपर्‍यो र पदाधिकारी हुन केन्द्रीय समितिमा पर्नुपर्‍यो । हामीसँग २१ औँ सम्मेलनमा निर्वाचन हारेका व्यक्ति पदाधिकारी भए । हामीले आन्दोलन गतिविधि हेर्‍यौं भने सुस्ताएको देखिन्छ नै’, उनले नेपाल प्रेससँग भने ।

आर्थिक चलखेल गरेको भन्दै उपाध्यक्ष इन्द्र भुसाल अख्तियार जाने तयारीमा रहेको उनले ठोकुवा गरे । पार्टी र संठनलाई ध्यानाकर्षण गराएर पवन कार्कीको संयोजकत्वमा आयोजक समिति बनाएको यादवले बताए ।

यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीको विवाद देशभर फैलियो, कार्की समूहले गर्‍यो समानान्तर कमिटी विस्तार (पूर्णपाठ)

‘उहाँहरूसँग ४१ जना पदाधिकारी बुढा भइसके । निर्वाचन लड्ने आट गर्दैनन् । एक पद माथि गएर रिटायर्ड हुन चाहिरहेका छन् । उमेरहद लगाउने वित्तिकै सबै बाहिरिन्छन् । त्यसैले पनि पञ्चा सिंहलाई नै मान्न खोजिरहेका छन् र समर्थन गरिरहेका छन् । पञ्चा सिंहले जारी गरको सर्कुलरविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेका छन् तर उनैलाई समर्थन पनि गरिरहेका छन् । न प्रदेश समितिको भेला त कता हो कता शपथसमेत गराउन सक्नुभएको छैन । प्रदेशलाई ३ भाग लगाएर बैठक गर्दा पनि कार्यकर्ता पुर्‍याउन सकिरहेका छैनन्’, उपदेशले भने ।

काठमाडौंका ७ ठूला कलेजमा पञ्चाको कमिटी नै नभएको भन्दै बाँकी ७ मा दुवैको कमिटी बनेको उनको भनाइ छ । अध्यक्षले २ पटक सहमतिको नजिक पुर्‍याउँदा पनि पञ्चाले नमानेको भन्दै यादवले विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यबाट पनि पटकपटक रिपोर्ट गरिएको जानकारी दिए ।

विवादको जड के हो ?

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनले अध्यक्षसहित पदाधिकारीको टुंगो लगाउन नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ल प्रचण्डलाई दियो । सम्मेलनले २५ सदस्यीय पदाधिकारी र ११९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव पारित गर्‍यो । बन्दसत्र सुरू भएलगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद गरे । बन्दसत्रमा विवाद भएपछि नाराबाजी तथा तोडफोड भएपछि घोषणासभा नै अनिश्चित बन्यो ।

त्यसको केही दिनपछि प्रचण्डले पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट मानिएकी पञ्चा सिंहलाई अध्यक्ष चयन गरे । संगठनमा विवाद भएका कारण सम्मेलनको बन्द सत्रबाट अध्यक्षसहित पदाधिकारी चयन गर्न नसकेपछि तत्कालीन पार्टीको स्थायी समिति बैठकले तत्कालीन अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्यलाई जिम्मेवारी दियो । अघिल्लो समितिका पदाधिकारीसँग छलफल गरेर शाक्यले विवाद टुंग्याउने भनिएको थियो ।

संगठनकी अध्यक्ष पञ्चा सिंहले २०७८ मंसिर २७ गते ३ जना केन्द्रीय सदस्यको नाम खाली राखेर १९९ सदस्यीय केन्द्रीय समिति सदस्यको नामावलीसहितको विज्ञप्ति सार्वजनिक गरिन् । यतिमात्र नभएर ३९ सदस्यीय केन्द्रीय आयोग, ५६ सदस्यीय केन्द्रीय प्रतिनिधि, विषेश प्रदेशसहित ८ वटा प्रदेश कमिटिका पदाधिकारी नामावली पनि विज्ञप्तीमार्फत नै सार्वजनिक गरिन् ।

त्यसपछि २०७८ पुस ७ गतेका लागि अध्यक्ष सिंहले केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएर शपथ गराईन । त्यसपछि संगठनको दोस्रो पूर्ण बैठक २०७९ वैशाख ३ र ४ गते बस्यो । पार्टी अध्यक्ष प्रचण्ड र विद्यार्थी इन्चार्ज हितमान शाक्य उपस्थित रहेको उक्त बैठकले महासचिव दिपेश पुनलाई चयन गर्दै १९ उपाध्यक्ष रहनेगरी ४१ सदस्यीय पदाधिकारी गठन गर्‍यो भने केन्द्रीय समिति १९९ बाट २९९ पुर्‍याउने निर्णय गर्‍यो ।

२०७९ असार ५ गते बसेको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनमा असन्तुष्ट रहेको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुटसम्म भयो । लगत्तै असन्तुष्ट कार्की पक्षले असोज ७ गते पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गरेर विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वसँग माग गर्‍यो ।

कार्की पक्षले पत्रकार सम्मेलन नै गरेर अध्यलाई पदमुक्त गर्नुपर्ने र विषेश महाधिवेशन गर्न माग गरेपछि संगठनले उपाध्यक्ष पवन कार्कीसहित केन्द्रीय सदस्य वसन्ता भण्डारी, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, पदम नेपाली रविन बस्नेत, समिर बुढाथोकी गरेर १० जनालाई संगठनले अनिश्चित कालका लागि निलम्बन गर्‍यो । संगठनले तेस्रो पूर्ण बैठकबाटै विभिन्न विभाग गठन भएको विज्ञप्ति असार १३ गते जारी गर्‍यो ।

संगठनले निलम्बन गरेको केही दिनपछि असोज १५ गते असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहले विधानअनुसार काम नगरेकाले अवैध कमिटी खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने मागसहित उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय अलग्गै समानान्तर कमिटी घोषणा भयो । त्यसपछि संगठन औपचारिक रूपमा नै फुट्यो ।

भर्खरै सम्पन्न चुनावका लागि पञ्चा नेतृत्वले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णय गरेलगत्तै कार्की पक्षले एक दिन अगाडि २०७९ भदौ २१ गते निर्वाचन केन्द्रित रिभोल्युसनरी फोर्स घोषणा गर्‍यो । त्यसपछि २०७९ कात्तिक ६ गते कार्की पक्षले छुट्टै चुनावी मिसनका लागि १२ हजार ५०१ कमाण्डर रहेको समिति बनायो ।

यो पनि पढ्नुस् : पवन समूहको समानान्तर गतिविधिपछि पञ्चाको यस्ताे ‘रियाक्सन’

दुई पक्षबीच विवाद चलिरहदाँ संस्थापन पक्षकै ७ जना उपाध्यक्षले २०७९ मंसिर २८ गते पार्टी अध्यक्ष प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको मागसमेत गरे । उपाध्यक्ष इन्द्र भुसाल, नारायण खनाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, डा.अच्युत भट्ट र गजेन्द्र देवलगायत ७ जना उपाध्यक्षले संगठनका अध्यक्ष पञ्चा सिंहमाथि कजेलको सम्बन्धनमा बार्गेनिङ गरेको आरोप लागेपछि विशेष राष्ट्रिय सम्मेलनको माग गरेका थिए । समानान्तर कमिटीको नेतृत्व गर्दै आएका संयोजक कार्कीले एक विज्ञप्ति नै जारी गर्दै संगठनकै पदाधिकारीमार्फ बार्गेनिङ गरेको छानबिन गरी तथ्य बाहिर आउनुपर्ने र संलग्नलाई कारबाही माग गरे ।

संगठनका समानान्तर गतिविधिलगायत सबै समस्याको समाधान खोज्ने सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन भएकाले संगठनलाई विशेष राष्ट्रिय सम्मेलनतर्फ दिशानिर्देश गर्न माग गरिएकोमा पार्टी अध्यक्ष प्रचण्ड र सिंगो पार्टीले कुनै सुनुवाइ गरेनन् ।

त्यसपछि मंसिर २९ गते अखिल क्रान्तिकारीका कोषाध्यक्ष भूषण शाही र लेखा आयोग प्रमुख विश्वमणी थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै संगठनका जिम्मेवार नेताबाट सीटीईभीटी, पोखरा विश्वविद्यालय लगायत अन्य विश्व विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम बिस्तारलाई लिएर आन्दोलनका नाममा केन्द्रको निर्देशनमा आर्थिक चलखेल गर्न बार्गेनिङ गरेको देखिएको भन्दै कारबाहीको माग गरे । तर, यो यत्तिकै सेलायो ।

पछिल्लो समय कलेजदेखि, प्रदेश तथा विभिन्न विभागमा पवन कार्की समूहले समानान्तर कमिटीलाई तीब्र पारेको छ । स्ववियू निर्वाचन परिचालन समिति निर्माण गरी तयारीमा लाग्नसमेत निर्देशन दिएको छ । त्यसको रियाक्सन स्वरूप पञ्चाले ३ जना सचिव मनोनीत गर्नुका साथै विभाग गठन र प्रदेश इन्चार्ज तोकेकी छन् ।

माघ ८ गतेमात्र पञ्चा सिंह नेतृत्वको टिमले खुला सत्र चलाएको पोखरा विश्वविद्यालय अन्तर्गतको कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी मूल इकाई कमिटीको सम्मेलनको पदाधिकारी चयनमा विवाद भएपछि पवन कार्की समूहले बन्द सत्रबाट कमिटी बनायो ।भोलिपल्ट त्यहाँ अरु दुईवटा समिति बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर