अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप – Nepal Press

अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

सात उपाध्यक्षले गरे प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा ‘बार्गेनिङ’ गरेको आरोप लागेपछि संगठनभित्रको विवाद छताछुल्ल भएको हो ।

यसअघि संगठनको २२औं महाधिवेशनमा पनि नेतृत्व चयनको विषयमा रडाको मच्चिएको थियो । महाधिवेशनबाट नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको नेतृत्व सिंहलाई जिम्मा दिएका थिए ।

अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको ‘बार्गेनिङ’ भएको खुलासा गरेका छन् ।

उपाध्यक्ष भुसालले फेसबुकमा लेखेका छन्, ‘सीटीईभीटी र पोखरा विश्वविद्यालयलगायत ठाउँमा हाम्रो संगठनको नाममा आधिकारिक रुपमा आर्थिक बार्गेनिङ गरिरहेको जानकारी प्राप्त भएको थियो । आर्थिक चलखेलमार्फत् गर्न खोजेको सम्बद्धताको सन्दर्भमा हामी र हाम्रो संगठन चुप लागेर नबस्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु । साथै यस्ता किसिमका आर्थिक गतिविधिबाट सचेत रहन आग्रह गर्दछु ।’

त्यस्तै अर्का उपाध्यक्ष खनालले पनि संगठनलाई बदनाम नगर्न पटक-पटक ध्यानाकर्षण गर्दासमेत अटेर गरेपछि बाहिर ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । खनाल अध्यक्ष सिंहको प्यानलबाटै उपाध्यक्ष बनेका हुन् ।

सीटीईभीटीले कोर्सहरु थप्ने र पोखरा विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिने विषयमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले विभिन्न बहानामा मोटो रकम बार्गेनिङ गरेको आरोप लगाइएको हो ।

पञ्चा सिंहले नेतृत्व गरेको संगठन अवैध !

महाधिवेशनमा सहमति नभएपछि प्रचण्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै पवन कार्कीको नेतृत्वले अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी चलाउँदै आइरहेको छ ।

समानान्तर कमिटीको नेतृत्व गर्दै आइरहेका संयोजक कार्कीले एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनयताको विवाद समयमै समाधान हुन नसक्दा आफैंमा गन्जागोलभित्र रुमलिएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले वास्तविक विद्यार्थीहरुको अखिल क्रान्तिकारी निर्माण गर्ने संकल्पसहित पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिलाई अवैध घोषणा गरी गत असार १८ गते क्रान्तिकारी संगठनको पुनर्गठन गरेर अगाडि बढेको यहाँहरु सबैलाई अवगत नै छ ।’

विद्यार्थी आन्दोलनलाई समग्र शैक्षिक क्षेत्रको रुपान्तरणका लागि केन्द्रित गरी निष्कर्षविहीन सम्झौताबाट मुक्त गर्ने अठोटका साथ अगाडि बढेको कार्कीले बताएका छन् ।

पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको उनले आरोप लगाएका छन् ।

‘संगठनको नाममा बार्गेनिङ स्वीकार्य छैन’

संगठनकै पदाधिकारीहरुमार्फत बार्गेनिङ गरेको सत्यतथ्य खबर सार्वजनिक भइसकेपछि संलग्नलाई कारबाही गर्नुपर्ने संयोजक कार्कीले माग गरेका छन् ।

‘समग्र शैक्षिक क्षेत्रको भविष्य धराशायी बनाउने कार्यमा संलग्न जो कोही संगठनका नेता वा विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक माफियाहरुका दलाल हुन्,’ संयोजक कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यमा संग्लनहरुलाई तत्काल छानबिन गरी कारबाही गर्न सम्बन्धित सबै सरोकारवाला निकायसँग र कमरेड पञ्चा सिंह नेतृत्वको अवैधानिक कमिटी खारेज गर्न मातृ पार्टी नेकपा माओवादी केन्द्रसँग माग गर्दछौं ।’

शैक्षिक माफियाहरुको आर्थिक चलखेलमा परी समग्र विद्यार्थी र शैक्षिक क्षेत्रको भविष्य धराशायी बनाउने गरी बाँड्न खोजिएको पोखरा विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रमहरुको सम्बन्धन बाँड्ने कार्य तत्काल रोक्नसमेत माग गरिएको छ ।

प्रचण्डसामु मागे विशेष राष्ट्रिय सम्मेलन

संगठनकी अध्यक्ष पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप लागेपछि सात उपाध्यक्षले पार्टी अध्यक्ष प्रचण्डसँग विशेष राष्ट्रिय सम्मेलनको माग गरेका छन् ।

उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा अच्युत भट्ट र गजेन्द्र देवले विशेष राष्ट्रिय सम्मेलनको माग गरेका हुन् ।

उनीहरुले प्रचण्ड र फ्याक्सन इन्चार्ज हितमान शाक्यलाई बोधार्थ गरेर बैठकको माग गरेका हुन् ।

सात उपाध्यक्षले संयुक्त रुपमा बैठक माग गर्दै भनेका छन्, ‘नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको रगतको भव्य आलोकमा निर्मित हाम्रो गौरवशाली संगठन अनेरास्ववियू क्रान्तिकारी यतिवेला संकटपूर्ण अवस्थामा छ । यतिवेला संगठनभित्र नेतृत्वमै राजनीतिक स्पष्टता, संगठनात्मक कुशलता, आर्थिक पारदर्शितालगायतका विषयमा गम्भीर समस्याहरु देखापरेका छन् ।’

मूल नेतृत्वले समस्याहरूको कमिटी प्रणालीमा छलफल र समाधानको आवश्यक पहलकदमी नगरेर संगठनलाई कोमामा पुर्‍याएको महसुस सिंगो संगठनले गरेको उल्लेख गरेका छन् ।

संगठनका समानान्तर गतिविधिलगायत सबै समस्याहरुको समाधान खोज्ने सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन भएकाले संगठनलाई विशेष राष्ट्रिय सम्मेलनतर्फ दिशानिर्देश गर्न माग गरेका छन् ।

विविध समस्याहरुको समाधान गर्न संगठनको केन्द्रीय समितिको बैठकको तयारीको निम्ति पदाधिकारी र केन्द्रीय कार्यलयको बैठक तत्काल राख्नसमेत सात उपाध्यक्षले माग गरेका छन् ।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीमा लफडा, पञ्चामाथि कलेजसँग सम्बन्धनमा बार्गेनिङ गरेको आरोप

  1. यो संगठनका सबैको काम लुटने अनि मस्तीसँग काठमाडौंमा बस्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर