पुस रिलिज फ्ल्यासब्याक : नम्बर-१ को रेसमा होमिएका कलाकारको नै फिल्म फ्लप – Nepal Press

पुस रिलिज फ्ल्यासब्याक : नम्बर-१ को रेसमा होमिएका कलाकारको नै फिल्म फ्लप

काठमाडौं । नेपाली बक्स अफिसमा धमाका मच्चाएको चलचित्र ‘कबड्डी’ को तेस्रो संस्करणबाट उपासनाको नाम एकाएक चुलियो । सिने क्षेत्र प्रवेश गरेको छोटो समयमै दर्शकको अप्रत्याशित माया पाएकाले कति मिडियाले उनलाई ‘लक्की’ हिरोइन नै घोषित गरे । सोही ‘लक्की’ शब्दले चलचित्रका निर्देशक र निर्माता पनि ढुक्क थिए सायद ।

उपासनाको ‘लक्की’ ट्यागले पुस १५ गतेबाट रिलिजमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ मा नतिजा देखाउन सकेन । अभिनयको दुनियामा ‘लक्की’ मानिएकी नायिका उपासना सिंह ठकुरी र कुनै समय चकलेटी हिरोको रूपमा चिनिएका आर्यन सिग्देल मुख्य भूमिकामा रहेको चलचित्र ‘डिसेम्बर फल्स’ मा कहिल्यै हाउस फूल देखिएन ।

यी दुई कलाकारको आसा र भरोसामा ‘डिसेम्बर फल्स’ का निर्माता रामप्रसाद रिजालले चलचित्रले ९ करोड कमाउने ठोकुवा गरेका थिए । चलचित्र लोकप्रिय बन्नेमा विश्वस्त उनी अर्को फिल्ममा पनि उपासनालाई नै दोहोर्‍याउने प्रणसम्म गरेका थिए । चलचित्र रिलिजपछि रिजालको बोली पनि मधुर भएको छ । ‘डिसेम्बर फल्स’ हलमा लाग्नु र उत्रिनु त्यस्तो हल्लाखल्ला भएन । ‘डिसेम्बर फल्स’ फ्लप भएपछि निर्माता रिजालले अक्रो चलचित्रमा उपासना दोहोर्‍याउँछन् वा दोहोर्‍याउँदैनन् त्यो भविष्यले बताउनेछ । तर, ‘लक्की’ हिरोइनको ट्याग भने बिलाएको छ ।

अब लागौँ, पुस २२ तर्फ । कलाकारको लर्को लाएर साइकोलोजिकल हरर जनरामा बनाइएको ‘चि मुसी चि’ को ट्रेलरले रिलिजअघि मिडियामा निकै चर्चा पायो । तर, हलमा दर्शकको उपस्थिति नदेखिएसम्म चलचित्रको लोकप्रियता मापन गर्न सकिन्न । चर्चित कलाकारहरू (प्रियंका कार्की, ऋचा शर्मा र बेनिसा हमाल, आयुष्मान देसराज जोशी, राजन खतिवडा, रवीन्द्र झा र गौरव विष्ट) को जम्बो टोली नै राखेको चलचित्र व्यापारमा भने चुक्यो ।

कमजोर ओपनिङ गरेतापनि वर्ड अफ माउथ बलियो हुन सक्ने आशा राखेका ‘चि मुसी चि’ का निर्देशक-निर्माता र कलाकारहरूको आशा थियो । हरर जनरामा अहिलेसम्मकै उत्तम चलचित्र बनेको दाबी धेरैको भएतापनि दर्शकले त्यति रुचाएनन् । पहिलो भागमा नै दर्शक नपाएको चलचित्रले दोस्रो भागमा कति दर्शक तान्ला त्यो भने ‘चि मुसी चि’ को भाग-२ नै कुर्नुपर्नेछ ।

यी दुई त पुस महिनामा रिलिज भइसकेका चलचित्र भए । आजै रिलिजको तयारीमा छ अर्को चलचित्र ‘तिम्रो मेरो साथ’ । यसमा पनि दुई चलेका कलाकार फिचर्ड छन् । कुनै चलचित्र नचलेको महिनामा एउटा चलचित्र चल्नैपर्छ भन्ने दबाब भएकाले पनि होला अहिले यस चलचित्रमा अभिनित साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का दिनरात प्रोमोसनको लागि कुदिरहेका छन् । सिने क्षेत्रमा को भन्दा को कमको दौड हुनु स्वभाविक हो । कलाकारिता नै पेशा भएपछि यहाँ नम्बर-१ हौँ भन्ने चाह सबैमा हुन्छ । यस्तो दौडमा साम्राज्ञी र पुष्पको स्टारर्डमले कति दर्शक तान्ला त्यो आजैबाट थाहा लाग्नेछ ।

‘बोल्ड’ अभिनेत्रीको रूपमा स्थापित भएकी साम्राज्ञीको बोल्डनेसले हल कतिको तातिन्छ भन्ने हेर्न सबै आतुर छन् । २०१८ मा चलचित्र ‘मंगलम’ बाट ‘नेसनल फिल्म अवार्ड’ अर्थात ‘राष्ट्रिय चलचित्र पुरस्कार २०१८’ आफ्नो नाम परिसकेका पुष्पलाई त त्यस्तै चुनौती छ । केही समयअघि रिलिज भएको उनको चलचित्र ‘कृष्णलीला’ पनि बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो । ‘तिम्रो मेरो साथ’ पनि पुष्प र उनको स्टारडमको लागि एक चुनौती पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *