लुम्बिनी प्राविधिक विश्वविद्यालय : प्रदेशको गौरव आयोजना, संघीय सरकारको बेवास्ता – Nepal Press

लुम्बिनी प्राविधिक विश्वविद्यालय : प्रदेशको गौरव आयोजना, संघीय सरकारको बेवास्ता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजना प्रादेशिक विश्वविद्यालय संघीय सरकारको बेवास्ताले अलपत्र परेको छ ।

विश्वविद्यालयको लागि बाँकेको खजुरा गाउँपालिकाले भोगाधिकारका लागि सिफारिस गरेको जग्गामा संघीय सरकारले भाडा मागेपछि विश्वविद्यालय आयोजना अलपत्र बनेको हो ।

लुम्बिनीले आफ्नो मुख्य ४ गौरवका आयोजनाममध्ये विश्वविद्यालयको योजना पनि प्रमुख थियो । विश्वविद्यालय सञ्चालन गर्न गएको साउन १६ गते उपकुलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरिएको थियो ।

विश्वविद्यालयका रजिष्टार भण्डारीले संघीय सरकारले लिजमा लिन प्रस्ताव गरेपछि प्रदेश सरकारबाट विश्वविद्यालयलाई निःशुल्क हस्तान्तरण वा भोगाधिकारका लागि निर्णय गर्न पुनः सिफारिस भएको बताए । उनले बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी विश्वविद्यालय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको जानकारी दिए ।

भण्डारीका अनुसार दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापना गरिएको र तत्काल पाँच वटा विधामा अध्यापन गराइने तयारी छ । उनले आर्थिक तथा शैक्षिक विनियम पास गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको बताए । प्रदेश सरकारले विश्वविद्यालयको लागि बजेट विनियोजन गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा खजुरा गाउँपालिकाले वडा नम्बर ८ रनियापुरमा रहेको करिब ११० बिगा जग्गा विश्वविद्यालयले भोगाधिकार गर्ने गरी सिफारिस गरेको थियो ।

विश्वविद्यालय कार्यान्वयन गर्दै बाँकेको नेपालगञ्जमा तत्कालका लागि केन्द्रीय कार्यालय उद्घाटन गरिएको थियो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भदौ २० गते कार्यालयको उद्घाटन गरेका थिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरिएको थियो । यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नुका साथै विश्वविद्यालयका लागि बजेट विनियोजन गरेको थियो । तर, कार्यविधि नबनेका कारण फ्रिज भएको थियो ।

यो प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय नेपालगञ्जमा स्थापना गरिएको छ । नेपालगञ्जस्थित डिभिजन वन कार्यालय बाँके पछाडि निर्माण गरिएको नयाँ भवनमा विश्वविद्यालयको कार्यालय रहेको छ । अहिलेको सरकारले बाँकेबाट कार्यालय सार्न खोजेको भन्दै सुरुमा सबै दलले संयुक्त आन्दोलन नै गरेर बाहिर लैजान रोकेका थिए ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले दक्ष जनशक्ति उत्पादन गर्न खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना सुरु भएर काम अगाडि बढेको बताए ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय देशकै नमुना विश्वविद्यालय बनाउने गरी अघि बढेको बताए । ‘प्रदेशको समुन्नत विकासका लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरी प्राविधिक शिक्षालाई ध्यानमा राखेर यो योजना अगाडि बढाइएको हो’, उनले भने, ‘हामीले प्राविधिक क्षेत्रमा विशिष्टीकृत अध्ययन गर्ने, प्रयोगात्मक अध्ययन गर्ने गौरवको योजनाका रुपमा अगाडि बढाएको छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर