भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ – Nepal Press

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

लमजुङ । लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनः निर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरहरूको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए ।

२०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबार विहीन लाभग्राहीको आवास पुनः निर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो । उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो ।

थप रकमसहित २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले भूकम्पपीडितको डीपीसीसम्मको घर निर्माण कार्य गरी सरकारबाट भूकम्प पीडितहरूलाई दोस्रो किस्ता बापत दिएको १ लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएको पीडितको गुनासो छ ।

घर निर्माण गरिदिन्छु भनी झुट्टा आश्वासन देखाएर ३ वर्षदेखि फरार उनी विरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी वृत्त ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्राउ गरी ल्याएको र ६ गते ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरेको र पुन सोमबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबारे जानकारी मङ्गलवार मात्रै गराएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक जगदीश रेग्मीले केही व्यक्तिका उजुरीको आधारमा पक्राउ गरी ल्याइएको र घटनाबारे बुझेपछि ढिला मात्रामा सार्वजनिक गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित भएकालाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *