लुम्बिनीमा बिजुली बसको यान्त्रिक परीक्षण सफल, नियमित सञ्चालन भने अनिश्चित – Nepal Press

लुम्बिनीमा बिजुली बसको यान्त्रिक परीक्षण सफल, नियमित सञ्चालन भने अनिश्चित

रुपन्देही । लुम्बिनी विकास कोषले गरेको बिजुली बसको आधिकारिक यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै ५ वटा बस र १४ वटा भ्यान प्रदान गरेको थियो ।

कोषले ‘धम्म यात्रा’ को नाउँमा दशैं, तिहार र छठ पर्व निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण गरेको थियो ।

उक्त परीक्षण सफल भएको कोषका बोर्ड सदस्य एवं परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जनाले निःशुल्क बिजुली बसको सेवा लिएका छन् ।

६ वटा रुटमा ५ वटा बसमार्फत ५२७ ट्रिप सञ्चालन हुँदा १६ हजार ३८४ किलोमिटर दूरी यात्रा गरिएको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा सबैभन्दा बढी १६० ट्रिप बस चल्दा ५ हजार ७८३ जना यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए ।

लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा ५ हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा २ हजार २७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार ३४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताए ।

त्यसैगरी लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा २ हजार ८१४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा २ हजार ५७३ जनाले धम्म यात्राको सेवा लिएको कोषले जनाएको छ ।

लुम्बिनीमा सञ्चालित सटल बस सुरुमा ५ दिनमात्रै सञ्चालन भएको थियो । यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरी छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बसको यान्त्रिक अवस्था, चार्जिङलगायत प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । आवश्यक प्रक्रिया पूरा गरेर कोषले व्यवसायिक रुपमा बिजुली बस सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रुपमा बस तयार भएको निष्कर्ष निकालिएको छ । तर, सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम भइरहेको कोषाध्यक्ष भट्टराईले बताए ।

बिजुली बस सञ्चालन गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले चालक र सहयोगी उपलब्ध गराएका थिए । कोषले बिजुली बसको यान्त्रिक परीक्षण गर्न बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खान सदस्य रहेको समिति गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *