रुपन्देहीमा दुर्घटनापछि फरार चालकसहित ३ जना पक्राउ – Nepal Press

रुपन्देहीमा दुर्घटनापछि फरार चालकसहित ३ जना पक्राउ

रुपन्देही । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार कार चालक र लुम्बिनीमा १० लाख रुपैयाँ लुटेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार रोहिणी गाउँपालिका- ३ का अजयकुमार चौधरी बा ८ च ६५३२ नम्वरको टाटा इण्डिका गाडीसहित पक्राउ परेका हुन् ।

चौधरीले उक्त कार सिद्धार्थनगर- ४ पिप्रहिया गाउँमा त्रिपालले छोपेर राखेको अवस्थामा सोमबार साँझ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उक्त कारको ठक्करबाट सोमबार बिहान पौने ५ बजे ओमसतिया- ४ पननीका २८ वर्षकी परमशीला कुर्मी, १४ वर्षकी सीमा कुर्मी र २ महिनाका श्रीराम कुर्मीको मृत्यु भएको थियो ।

यसैगरी प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका- ६ महिलावारस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट दश लाख नब्बे हजार लुटेका दुई जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेशको भगवानपुर बस्ने वर्ष २८ का सुनिलकुमार सहानी र गोरखपुर थाना रिठुअखओर बस्ने वर्ष २६ का शशिकान्त भट्ट रहेका छन् ।

उनीहरुको साथबाट सुन्मिका इण्डस्ट्रियल लेखेको सेमी अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन एक थान, ५ थान गोली, कटुवा पेस्तोल एक थान, युपी ५८ भी १८१४ नम्बरको भारतीय नम्बर प्लेट रहेको मोटरसाइकल र मोबाइल एकएक थान बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *