मुम्बईमा भेटिएका तीन बालक अभिभावकसँग घर फर्किँदै, किन र कोसँग गएको अझै खुलेन – Nepal Press

मुम्बईमा भेटिएका तीन बालक अभिभावकसँग घर फर्किँदै, किन र कोसँग गएको अझै खुलेन

तीनमध्येका एक समीर भन्छन्- नेपाल आएपछि सबै कुरा भन्छौं

रुपन्देही । भारतको मुम्बईमा भेटिएका बुटवलका तीनजना बालक आज अभिभावको साथमा घर फर्किएका छन् ।

शुक्रबार विद्यालय जान हिँडेका उनीहरू बेपत्ता भएका थिए । बिहान झोलामा किताब हालेर हिँडेका उनीहरू विद्यालय नपुगेपछि चारैतिर खोजी सुरू भएपछि शनिबार राति २ बजे मुम्बईको रेल स्टेशनमा भेटिएका थिए ।

बुटवल उपमहानगरपालिका- ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुईजना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँगै विद्यालय जान भनी घरबाट निस्केपनि ती तीनजना विद्यालय पुगेका थिएनन् । तीनैजनामध्ये समीरका बुबा मुम्बईको एक कम्पनीमा काम गर्ने भएकाले पनि उनीहरू छिटो भेटिएका हुन् । तर, शुक्रबार बिहान हिंडेका उनीहरु शनिबार राती नै मुम्बई पुगिसकेकाले नयाँ स्थानमा यति छोटो समयमा कसरी पुग्नसके भन्ने विषय परिवारलाई आश्चर्य बनाएको छ ।

समीरका बुबा बुद्धि लम्सालले तीनैजनालाई झोलाबिहीन अवस्थामा स्टेशन भेटाएको र अहिले उनीहरूको अवस्था सामान्य भएपनि के कारण र कसरी आए भन्ने विषयमा केही नबोलेको बताएका छन् ।

‘म यही बम्बईमा काम गर्न लागेको १२ वर्ष भयो, आफैँलाई एक्लै आउन डर लाग्छ तर उनीहरू कसरी छोटो समयमा आए भन्ने विषय गम्भीर छ, यिनीहरूले यहाँ केही बताउनै चाहेका छैनन्, केही सोधे एकले अर्कोको मुखमा हेरेर चुपचाप बस्छन्’, बुद्धिले टेलिफोनमा नेपाल प्रेससँग भने ।

समीरसँगै तीन बालक हराएको सूचना पाएपछि त्यहाँको एक कम्पनीमा काम गर्ने बुद्धिलाई शुक्रबारदेखि बेचैनी बनायो ।

‘परिवारको लागि यति दुःख गरेर अरुको देशमा बसेर काम गर्नुपरेको छ, उनीहरूको विषयमा यस्तो सुनेपछि कस्तो भयो होला, शुक्रबारदेखि केही काम गर्न मन लागेको छैन, छोरालाई लिएर नेपाल आउँछु कसको उक्साहटमा यिनीहरू यहाँ आएको कारण पत्ता लगाउँछु र अरुलाई पनि सचेत बनाउन लाग्छु’, उनले भने ।

बुद्धिले तीनैजनालाई भेटाएपछि स्थानीय एक कलेजको होस्टलमा राखेर बसेका थिए । मंगलबार बिहान मात्रै सागर पौडेलका बुबा कृष्ण पौडेल, मामा राजु पन्थी, प्रदीपको बुबा हरि पन्थीसहित नेपाल फर्कने टिकट लिएर बसेका छन् ।

मुम्बई पुगेका समीरले नेपाल प्रेससँग भने, ‘हामी सुनौली घुम्न भनेर हिंडेका हौं, घरबाट मैले साथीहरूको योजनामा ११ हजार लिएर आएको थिएँ, सुनौलीको बोर्डरमा टेक्सीले तानातानजस्तै गरे, एकजनाको ४ सय दिएपछि गोरखपुर पुर्‍याउने र त्यहाँ रेल हेर्न पाइने भनेर हिँडेका हौं, अनि रेलमा आएपछि र टिकट लिएर हिँडेपछि हामीलाई एकजना दाइले फेसबुकबाट घरमा खबर पुर्‍याउन सहयोग गर्नुभयो त्यो को हो हामीले चिनेनौं पछि निदाएछौं थाहा भएन । अरु कुरा नेपाल आएपछि भन्छौं ।’

मुम्बई पुगेका सागरका मामा राजु पन्थीले उनीहरूले हरेक पटक दिने उत्तर फरक आएकाले केही विश्वास गर्न नसकिने बताए ।

‘पहिले म्यासेन्जरमा, अनलाइनमा गरेका कुरा र अहिले भनेका कुरा बाझिएका छन्, अहिले धेरै कुरा गर्न थाले ल्याउन समस्या हुने हो कि भनेर हामीले धेरै खोतल्न सकेनौं, उनीहरूसँग रेलमा व्यवस्था मिलाउने, बुटवलबाट हिँड्न प्रेरित गर्ने सबैलाई खोज्न जरुरी छ । हामी आएपछि प्रहरीलाई अनुसन्धान गर्न लगाउने छौं, सबै अभिभावक सचेत हुनुपर्ने पाठ यसले सिकायो, ५ दिन भयो कतिजनालाई तनाब बनायो यो विषयले, घरपरिवार, छिमेक, विद्यालय, प्रशासन सबैलाई तनाब बनायो’, उनले भने ।

त्यहाँ पुगेका विद्यार्थी सागर पौडेलले साथीले भनेको आधारमा हिँडेको र अरु आफूलाई केही थाहा नभएको बताए । उनीहरुले लगेका झोलाहरु सबै रेलमा छुटेको बताएका छन् भने सँगै लगेको ११ मध्ये २ हजार ४ सय रकम साथमा रहेकाले समस्रले बाबालाई दिएका छन् । अहिले उनीहरुले अभिभाकलाई धेरै कुरा गर्नै खोजेका छैनन् ।

नविन औद्योगिक स्कुलका प्राचार्य प्रेम बस्नेतले विद्यार्थी वेपत्ता भएपछि विद्यालयमा पनि तनाब भएको बताउँदै अभिभावले आफ्नो बालबच्चाको मनोविज्ञान बुझ्नका लागि आग्रह गरेका छन् । हराएका दुवै विद्यार्थी आफ्नो विद्यालयको नौ कक्षाको एकै सेक्सनमा अध्ययन गर्ने र उनीहरु धेरै मध्यम तहमै रहेका विद्यार्थी रहेको उनले बताए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *