महागठबन्धनलाई ८ दलीय बनाउने तयारी, एमालेलाई एक्ल्याउने प्रयास जारी – Nepal Press

महागठबन्धनलाई ८ दलीय बनाउने तयारी, एमालेलाई एक्ल्याउने प्रयास जारी

काठमाडौं । नेकपा एमालेविरुद्ध एक वर्षअघि बनेको पाँच दलीय गठबन्धन अब कम्तिमा ८ दलीय हुने भएको छ । स्थानीय चुनावमा झापालगायतका केही जिल्लामा ६ दलीय बनेको थियो । आम रुपमा पाँच दलीय नै रहेको गठबन्धनलाई अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ८ दलीय बनाउने पहल भएको छ ।

आउँदो मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ पाँच दलीय गठबन्धनबीच लिखित सहमति भइसकेको छ । सोही सहमतिबमोजिम सीट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलको पहिलो बैठक सोमबार बसेको छ ।

कार्यदल बस्नुअघि कांग्रेसका शीर्ष नेताहरुको बैठकमा गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सहभागी गराउने विषय उठेको थियो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आफू गठबन्धनकै हिस्सा रहेको बताइसकेको छ भने समाजवादी केन्द्रको प्वालबाट वामदेव गौतम पनि गठबन्धनमा छिर्दैछन् ।

हाल पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल सम्मिलित छन् । यसलाई ९ दलसम्म पुर्‍याउने तयारी भइरहेको नेताहरूको भनाइ छ । झापामा चुनाव जित्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समेत साथ आवश्यक देखिएकाले ९ दलको परिकल्पना भएको नेताहरु बताउँछन् ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने निर्णय गरिसकेको छ । जसपाबाट अलग्गिने निर्णयलगत्तै भट्टराई भेट्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाबुराम गठबन्धनमै रहने भन्दै आश्वस्त पारेका थिए ।

नेसपाको शनिबारको पहिलो केन्द्रीय समिति बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म साथ दिने निर्णय गरिसकेको छ । बाबुरामलाई गठबन्धनमै राख्न उपेन्द्र यादवबाहेकका नेताहरू सहमत छन् ।

नेसपाका दोस्रो वरियताका अध्यक्ष महिन्द्रराय यादवले यो गठबन्धन आफूहरूको भूमिकाका कारण सरकारमा पुगेको भन्दै कसैले निषेध गर्दैमा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताए ।

पार्टी दर्ताको प्रक्रियामा रहेकाले यादवले अब सत्ता गठबन्धनकै नयाँ घटकका रूपमा आफूहरू सक्रिय रहने बताए । लोसपालाई समेत समेट्न सकिने उनको भनाइ छ ।

गठबन्धनभित्रै छुट्टै मोर्चा बनाउने गरी पनि नेताहरूले तयारी गरेका छन् । माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान समेटेर समाजवादी केन्द्र बनाउनेबारे छलफल भइरहेको यादवले नेपाल प्रेससँग बताए । नेकपा एसको सचिवालयले समाजवादी केन्द्र गठनको निर्णय गरिसकेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहायक मोर्चाको कुनै आवश्यकता र औचित्य नभएको बताउँछन् । ‘ओलीको विरुद्ध लड्न त पाँच दलकै मोर्चा छँदैछ नि ! अब कोसँग लड्न मोर्चा बनाउने कुरा भएको हो मलाई थाहा भएन’, नेपाल प्रेससँग केही दिनअघि पौडेलले भनेका थिए ।

आइतबारमात्र बालुवाटार पुगेका महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच लोसपालाई सरकारमा सहभागी गराउने र गठबन्धनमा सामेल गर्ने विषयमा कुराकानी भएको थियो । नेता राजेन्द्र महतोका अनुसार सरकारमा सहभागितासँगै चुनावी गठबन्धनमा लोसपा पनि सातौं दलका रूपमा सहभागी हुनेबारे सकारात्मक कुराकानी भएको छ ।

उपसभामुखको निर्वाचनबाटै लोसपा पाँचदलीय गठबन्धनतिर ढल्किएको थियो । चन्दा चौधरीलाई उम्मेदवार तय भएकोमा अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको थियो ।

हेभीवेट नेताका लागि राप्रपालाई पनि ल्याउने तयारी

अघिल्लो स्थानीय चुनावमा एक्लै लड्दा एमालेमाथि भारी परेको नेपाली कांग्रेस यसपटक झापामा महागठबन्धन बनाएर चुनावमा जाँदा पनि कमजोर देखिएको छ ।

झापाका १५ स्थानीय तहमध्ये यसपटक कांग्रेसले माओवादी केन्द्रसँग सबै तहमा र एमाले तथा राप्रपासँग एकएक पालिकामा तालमेल गरेको थियो ।

पाँचदलीय गठबन्धनमा रहेका माओवादी र नेकपा एस कमजोर भएकाले यहाँ महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलालाई जोगाउनुपर्ने चुनौती कांग्रेसलाई छ । त्यसका लागि राप्रपासँगको तालमेल अनिवार्य देखिन्छ ।

एक महिनाअघिको कांग्रेस बैठकमा झापाका नेतासमेत रहेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पदाधिकारीले नै जिल्लामा खेल्न खोजेकाले चुनाव हारिएको भन्दै महामन्त्री शर्माको आलोचना गरेका थिए ।

गुटगत बैठक गरेको भन्दै बुढाथोकीले पार्टीलाई मिलाएर नलगे आगामी दिनमा पार्टीलाई अझ समस्या पर्नेतर्फ सचेत गराएका थिए । मेयरमा शर्माले टिकट खोसेका कारण मेची नगरपालिका हारेको उनले बताएका थिए ।

झापा १ विश्वप्रकाशको निर्वाचन क्षेत्र हो । यहाँ वडाको मत हेर्दा गठबन्धनभन्दा कांग्रेस फराकिलो अन्तरले पछाडि छ । राप्रपाको मत थप्दामात्र उनको जीत सहज हुन्छ । झापामा राप्रपा तेस्रो शक्ति हो ।


प्रतिक्रिया

2 thoughts on “महागठबन्धनलाई ८ दलीय बनाउने तयारी, एमालेलाई एक्ल्याउने प्रयास जारी

  1. लुतेहरूलाई एमालेले जनताको साथमा एउटै खाल्डोमा हालिदिन्छ।

  2. आगामी निर्वाचनमा सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प विरुद्ध महागठबन्धन बन्ने पक्का भएछ। दक्षिणपश्चिमको आशिर्वाद र निर्देशनमा महागठबन्धनमा कांग्रेस, माओवादी, एस, जसपा, जनमोर्चा, लोसपा, नेसपा र वामदेवहरू रहने पक्का अनि राप्रपासँग निश्चित क्षेत्रमा तालमेल गर्ने रणनीति बन्दैछ।
    नेकपा एमालेले जनतासँग गठबन्धन बनाएर परमादेशी कम्फर्टेबल महागठबन्धनलाई जनादेशले विस्थापित गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर