उपविजेतालाई उपमहानगर नियमित आउने बनाउँछु: मेयर पाण्डे – Nepal Press

उपविजेतालाई उपमहानगर नियमित आउने बनाउँछु: मेयर पाण्डे

बुटवललाई आर्थिक केन्द्र र मेगा सिटीका रुपमा विकास गर्ने योजना छ ।

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे । मेयर पाण्डे कांग्रेसका बुटवल नगर सभापतिसमेत हुन् ।

२०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्जाकै आदर्श माविमा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा कांग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट उनी तेस्रोपटक नेपाली कांग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भएका थिए ।

यसअघिको निर्वाचनमा माओवादीसहितको गठबन्धनबाट मेयर उम्मेदवार बनेका पाण्डे एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका थिए । यसपटक ७ हजार ५ सय मत बढी ल्याएर उनी विजयी भए । बुटवलको अल्पकालीन र दीर्घकालीन विकासका योजना, चुनावी प्रतिबद्धता कार्यान्वयन तथा गठबन्धन र प्रमुख प्रतिस्पर्धी दलसँगको सहकार्यमा केन्द्रित रहेर मेयर खेलराज पाण्डेसँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी नेपालटकमा:

– दोस्रो प्रयासमा सफल हुनुभयो, कस्तो अनुभूति भएको छ ?

यसअघि म मतका हिसाबले निर्वाचित हुन सकेको थिइन । तर पनि म जनताका माझमै थिएँ । म हरेक वडाका काममा सक्रिय नै थिएँ । अहिले जनताले विश्वास गरेर मलाई चुन्नुभएको छ । मलाई जिम्मेवारी दिएर यहाँ पठाउनुभएको छ । म त्यो विश्वास र जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नेछु । जनताको विश्वासलाई कायम राख्न, जनताका कामलाई प्राथमिकता दिन तत्पर भएर लाग्नेछु ।

– स्थानीय सरकारका मुख्य प्राथमिकता के हुन् ? बुटवलमा ५ वर्षमा के गर्न सकिन्छ भन्ने लागेको छ ?

हरेक वडाको पहिचानसहितको कार्यक्रम हामीले ल्याउनेछौं । अबको पाँच वर्षमा हरेक वडालाई आफ्नो पहिचान स्थापित गर्ने गरी, भूगोल, भेग र व्यवसायिक क्षेत्रको आधारमा, ऐतिहासिक, पुरातात्विक क्षेत्रका आधारमा वडाको पहिचान कायम राख्दै ती क्षेत्रको विशेषताअनुसारका कार्यक्रमलाई अघि बढाउनेछौं । फोहोरमैला व्यवस्थापन वैज्ञानिक ढंगले समाधान गर्न अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्नेबारे विज्ञहरुसँग छलफल गर्दैछौं ।

मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भइरहेको छ । स्थानीयको समस्या सम्बोधन गर्दै औद्योगिक क्षेत्र निर्माण गर्ने काम अघि बढ्नेछ । पदस्थापन भएको १२–१५ दिनमै केही काम सुरु गरेका छौं भने केही सुुरु हुने क्रममा छन् । मतदातासँग भेटेर धन्यवाद भन्नुपर्ने र सुझाव लिनुपर्ने पनि छ । योसँगै जनताका समस्या समाधानको काम पनि सँगसँगै अघि बढाउनुपर्ने छ । त्यसलाई पनि अघि बढाइरहेका छौं । केही समयपछि बुटवलका समस्या समाधानका लागि विज्ञहरुको छलफलमा बुटवललाई आर्थिक केन्द्र बनाउन, देशभरका ठूला लगानीकर्तालाई बुटवलमा ल्याउन छलफल गर्नेछौं । बुटवल हाम्रो संरक्षक हो, हाम्रो अभिभावक हो भन्ने भावना सबैमा जगाउनुपर्ने छ ।

अबको ५ वर्षमा धेरै सूचकांकमा परिवर्तन ल्याउने छौं । शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानीका क्षेत्रमा अलि बढी महत्व दिएर काम गर्नेछौं । वडाहरुका मूल समस्यालाई ल्याएर तिनको समाधान गर्ने गरी कार्यक्रम ल्याउनेछौं ।

– चुनावी प्रतिबद्धता पूरा गर्न सकिने छन् त ? अल्पकालीन र दीर्घकालीन योजना कस्ता छन् ? बुँदागत रुपमा भनिदिनुस् न ।

हामीले चुनावको समयमा धेरै संकल्प जनताका माझमा गरेका थियौं । तीमध्ये केही तत्काल गर्न सकिने कार्यक्रम छन् । केही २–३ वर्ष लाग्ने खालका छन् भने केही योजना बनाएर क्रमागत तरिकाले अघि बढाउँदै लैजानुपर्ने योजना पनि छन् । ती योजनाको प्रकृतिअनुसारले तात्कालिक र दीर्घकालीन रुपमा हामीले छुट्याउने छौं र त्यसैअनुसारले काम गर्दै जानेछौं । कतिपय कार्यक्रम र योजनाहरु हामीले मात्रै गर्न सक्ने या हाम्रो बजेटले मात्रै भ्याउने खालका छैनन्, ती कार्यक्रममा प्रदेश सरकार, संघीय सरकार र अरु अनुदान दिने निकायहरुसँग समन्वय, सहकार्य गरेर अघि बढ्नेछौं ।

तत्काल गर्ने काम हामीले सुरु गरिसकेका छौं । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक संघीय योजना भए पनि यो बुटवलभित्रको योजना हो । यसले यहाँका बासिन्दा, व्यवसायी र बटुवालाई असर गरिरहेको छ । कतिले त व्यवसाय नै बन्द गर्नुपरेको छ । यो सडक निर्माणमा भएको ढिलासुस्तीलाई खबरदारी गर्ने, झकझकाउने र अनुगमन गर्ने, कतिपय अवस्थामा अगुवाइसमेत गरेर सुधार गर्नुपर्ने देखिए पनि म आफै सडकमा गएर दिनदिनैजसो कामको अनुगमन गरेँ । त्यसपछि यो सडक निर्माणले गति पाएको छ ।

तत्काल गर्नुपर्ने अर्को काम थियो ज्योतिनगरको पहिरो र तिनाउ नदी किनारका बस्तीको जोखिम न्यूनीकरण । ज्योतिनगर पहिरोको समस्या समाधानका लागि हामीले काम थालेका छौं । त्यहाँ प्राविधिकहरुको सल्लाहअनुसार नै बस्तीभन्दा माथिबाट आउने खहरे खोलाको बाढीलाई अर्कोतर्फ बग्ने गरी पर्खाल बनाउने र सुरक्षा दिने काम सुरु भएको छ । तिनाउ नदी किनारका १६ हजार घरपरिवारमध्ये जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित आवासको लागि नदीमा तटबन्ध गर्ने, सुरक्षित बनाउने काम पनि चलिरहेको छ ।

सुकुमबासी समस्या समाधानका लागि बसोबासका आधारमा प्रमाणपत्र दिने काम गर्छौं । १६ हजार घरपरिवारको नाम तयार भइरहेको छ । त्यसलाई कानूनअनुसार सूचना प्रकाशित गरेर नगरबाट बसोबासको प्रमाणपत्र दिनेछौं । तिनाउ कोरिडोरबाट विस्थापितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि हामीले योजनामा राख्नेछौं । अर्को कुरा, मोतीपुर क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भइरहेको छ । स्थानीयको भावना र मागलाई सम्बोधन गरेर औद्योगिक क्षेत्र बनाउने काम अघि बढाउन संघीय सरकारसँग समन्वय गर्नेछौं ।

सेमलारमा देशकै उत्कृष्ट कृषि उपज केन्द्र निर्माण गर्ने काम पनि हाम्रो योजनामा आउनेछ । जग्गाको टुंगो लागेपछि यसको काम अघि बढ्नेछ । अब यी केही अल्पकालीन योजनाहरु पनि हुन् । दीर्घकालीन रुपमा बुटवललाई समानता, स्वाभीमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने भनेका छौं । त्यसका लागि विज्ञहरुसँग छलफल गरेर योजनाबद्ध काम गर्नेछौं । यस्तै बुटवललाई आर्थिक केन्द्र र मेगा सिटीका रुपमा विकास गर्ने योजना छ । तिनलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर चरणबद्ध रुपमा काम अघि बढाइनेछ ।

– बुटवलको बजेटका प्राथमिकता के हुन् ?

समग्र बुटवललाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर भौगोलिक, व्यवसायिक, ऐतिहासिक र पुरातात्विक हिसाबले विकास गर्ने कार्यक्रम ल्याउनेछौं । वडा नम्बर १४ देखि १९ लाई ग्रीनल्याण्डका रुपमा विकास गर्ने, अर्गानिक खेती, थारु होमस्टे निर्माण गर्ने र विमानस्थलदेखि नजिक पर्ने सो क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्ने गरी कार्यक्रम ल्याउने छौं । पारि बुटवललाई ऐतिहासिक र पुरातात्विक हिसाबले विकास गर्ने खालका कार्यक्रम ल्याउनेछौं । शैक्षिक, पर्यटन, स्वास्थ्यलाई त्यसैगरी वडाहरुलाई समेत किटान गरेर कार्यक्रम ल्याउने छौं । यहाँका किसान, मजदुुर, व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी कार्यक्रम आउनेछन् ।

– गठबन्धन दल र मुख्य प्रतिस्पर्धीलाई कसरी समेट्नुहुन्छ ?

निर्वाचन सकिएपछि मलाई लाग्छ, दलीय भावना समाप्त भएको छ । प्रदेश र केन्द्रमा प्रतिपक्षी हुन्छ । तर स्थानीय सरकारमा प्रतिपक्षीको व्यवस्था छैन । यहाँ एमालेबाट उपप्रमुख र वडाध्यक्षहरु निर्वाचित हुनुभएको छ । नगरलाई साझा र सबैले अपनत्व महसुस हुने गरी, प्रतिनिधित्व हुने गरी काम गर्नेछौं । म त्यही बाटोमा हिँड्नेछु । उपविजेताज्यूलाई सहभागी बनाएर, उपमहानगरपालिकाको कार्यालयमा नियमित आउने र सल्लाह लिनेदिने वातावरण हामीले निर्माण गर्नेछौं ।

– बुटवल विकासको रणनीतिमा अन्य दल तथा संघसंस्थाको भूमिका कस्तो हुनुपर्ला, के त्यो समन्वय गर्न सक्नुहुन्छ ?

बुटवल सबैको हो । यसलाई साझा रुपमा अघि बढाउनुपर्छ । बुटवल उपमहानगरपालिकाले अभिभावकका रुपमा भूमिका निर्वाह गर्दैगर्दा यहाँका संघसंस्थाहरुलाई साथसाथै लिएर अघि बढ्नेछ । निजी क्षेत्र, बुटवलवासी र हरेक क्षेत्रमा संलग्नहरुलाई सँगै लिएर बुटवलको विकासमा अघि बढ्नेछौं । यसमा लगानी र सहकार्यका लागि बुटवल र संघसंस्थाहरुसँग समन्वय र साझेदार हुने गरी काम गर्नेछौं । बुटवलको विकासका लागि सबैको साथ जरुरी छ र त्यो पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

– प्रदेश तथा संघीय सरकारको समन्वय कस्तो हुनुपर्छ ?

प्रदेश र संघसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । हाम्रो बजेटको अंशसमेत संघ र प्रदेशको अनुदानमा पनि आधारित छ । त्यसैले प्रदेश र संघसँग विकासका कार्यक्रममा साझेदारी, समन्वय र सहकार्य गरेर अघि बढ्नेछौं । संघको बजेटमा हाम्रा केही कार्यक्रमहरु बाँकी रहेका छन् । हामी निर्वाचित भएर आउनुअघि नै संघको बजेट निर्माण भइसकेको र हामीले संघ सरकारसँग छलफल गर्न नपाउँदै बजेट आएकाले केही कार्यक्रमहरु समावेश हुन सकेनन् । त्यसलाई हामीले फेरि छलफल गरेर ती छुटेका कार्यक्रमहरुलाई समावेश गर्ने गरी पहल गर्नेछौं । प्रदेशमा पनि हामीले बजेटमा हाम्रा कार्यक्रमहरु समावेश गर्न अनुरोध गर्नेछौं । प्रदेशसँग निरन्तर रुपमा छलफल गरेर अघि बढ्नेछौं ।

– बुटवलवासीसँग तपाईंको अपेक्षा के के छन् ?

बुटवल सबैको साझा हो । हामी धेरै काममा पीपीपी मोडलमा जान चाहन्छौं । बुटवल अभिभावक हो भन्ने भावना जागृत गराउन चाहन्छौं । विकासका हरेकजसो कार्यक्रममा जनतालाई साझेदार बनाएर अघि बढ्न चाहन्छौं । बुटवलमा धेरैभन्दा धेरै लगानीकर्तालाई आकर्षित गर्न चाहन्छौं । यसका लागि सबै क्षेत्रको सहयोग र सहभागिता आवश्यक पर्छ । यसमा सहयोग गर्न सबैलाई अपील गर्न चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर