तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला स्थानीय तहको नेतृत्वमा – Nepal Press

तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला स्थानीय तहको नेतृत्वमा

काठमाडौं । स्थानीय तह निर्वाचनको नतिजा आइरहँदा तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला नेतृत्वमा निर्वाचित भएका छन् । ७५३ मध्ये ७२७ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा तीन पालिकामा प्रमुख र उपप्रमुख दुइटै पदमा महिला निर्वाचित भएका हुन् ।

अन्तिम नतिजा आउन बाँकी पालिकामध्ये चितवनको भरतपुर महानगरपालिकामा मात्रै महिला प्रमुख रहेका छन ।

प्रदेश १ मा झापाको गौरीगञ्ज गाउँपालिका, कर्णालीमा दैलेखको भैरवी गाउँपालिका र सुदूरपश्चिममा कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला निर्वाचित भएका हुन् ।

झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी हुँदा उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भएकी छन् । फूलवतीले ५ हजार ६८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत पाए ।
उपाध्यक्षमा एमालेकी पूजन न्यौपानेले ४ हजार ७५५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मखना महतोले ३ हजार ७९५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका महिला उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विजयी रीताकुमारी शाहीले तीन हजार ९७६ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले तीन हजार ९६० मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले तीन हजार ३७४ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेकै पदमकुमारी विष्टले तीन हजार २२७ मत ल्याइन् ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएका छन् । शाहीले १२ हजार ७१३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी निवर्तमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईंले १० हजार ४३५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा चौधरीले ११ हजार ७०८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी शाहीले ८ हजार ३०८ मत प्राप्त गरेकी छन् ।

तीन स्थानीय तहमा प्रमुख र उपप्रमुख दुइटै पदमा महिला विजयी भएसँगै देशभर २४ स्थानीय तहमा आगामी पाँच वर्ष महिला नेतृत्वले स्थानीय तह सञ्चालन गर्दैछन् । हालसम्म प्रमुखमा एमालेबाट झापाको विर्तामोड नगरपालिकामा पवित्रादेवी महतारा, मोरङको कानेपोखरी गाउँपालिकामा राजमती इङ्गनाम, रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह, चितवनको माडी नगरपालिकामा ताराकुमारी काजी महतो, सिन्धुलीको फिक्कल गाउँपालिकामा पार्वती सुनुवार, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा विमला अर्याल, पाल्पाको बगनासकाली गाउँपालिकामा सरस्वती दर्लामी (चिदी) र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मोहनमाया भण्डारी विजयी भएका छन् ।

कांग्रेसबाट सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा मीनादेवी कार्की, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विमला राई, सप्तरीको सुरुङ्गा नगरपालिकामा गीता चौधरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे, बागलुङको बडिगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, दैलेखको भैरवी गाउँपालिकामा रीताकुमारी शाही, अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्बिकाकुमारी चलाउने, कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही, झापाको गौरीगन्जमा गाउँपालिकामा फूलवती राजवंशी विजयी पालिका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै माओवादी केन्द्रबाट खोटाङको जन्तेढुंगा गाउँपालिकामा अरुणादेवी राई, सिन्धुलीको सुनकोशी गाउँपालिकामा दीपा बोहोरा दाहाल, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा रेणुका चौलागाईै विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट रौतहटको ईशनाथ नगरपालिकामा कौशल्यादेवी प्रमुख पदमा विजयी भएकी छन् ।

नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीनाकुमारी लामा विजयी भएकी छन् ।
चितवनको भरतपुरमा माओवादीले अग्रता कायमै राखिरहेको छ । भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल जित नजिक छ । उनी विजयी भए देशभरबाट २५ जना महिला स्थानीय तहको नेतृत्वमा पुग्नेछन् ।

हालसम्मको परिणामअनुसार ३.१८७ प्रतिशत महिला स्थानीय तहको नेतृत्वमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर