कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक – Nepal Press

कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक

काठमाडौं । कोरियन एयरलाइन्सको नियमित उडान नहुँदा कोरियाबाट नेपाल आउन चाहने पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । कोरियाबाट नेपाल आउने र नेपालबाट कोरिया जाने नेपाली कामदारले समेत नियमित उडानको भन्दा दोब्बरसम्म भाडा तिर्नुपरेको छ ।

कोभिडका कारण रोकिएको कोरियन एयरको उडान अब नियमित गर्न कुनै समस्या छैन । तर कोरियास्थित नेपाली व्यवसायी बिनोद कुँवरले एक ट्राभल एजेन्सीसित मिलेर मिलेर चार्टर्डमा करोडौं कमाइरहेकाले नियमित उडान हुन नदिएको आरोप लागेको छ ।

हालैमात्र शेष घले पक्षले गठन गरेको एनआरएनएका अध्यक्ष कुँवरले कोरियन एयरको चार्टर्ड उडान गर्ने गरेका छन् । कुँवरको कोरियामा केटिए ट्राभल्स छ र उनले कोरियन एयरको नेपालको उडानको काम गर्छन् ।

तर भाडादर सामान्यतः ८ सयदेखि एक हजार डलर हुनेगरेकोमा चार्टर्ड उडानबाट १८ सय डलरसम्म असूल गरिरहेका छन् । जसका कारण नेपाल आउन बुकिङ गरिसकेका पर्यटकले समेत भाडा महँगो भएको भन्दै रद्द गर्न थालेका छन् ।

कोभिड महामारी र लकडाउनका बेला यात्रु नहुने भएकाले इमरजेन्सीका लागिमात्र गरिएको चार्टर्ड उडानलाई केही व्यवसायीलाई कमाउने माध्यम बनाउँदा कोरियामा काम गर्ने नेपाली कामदार तथा नेपाल आउन चाहने कोरियाली पर्यटक मारमा परेका छन् । यस विषयमा मन्त्रालयले भर्खरै जानकारी पाएकाले नियमित उडान सन्चालनको लागि पहल गर्ने पर्यटनमन्त्री प्रेम आलेले बताएका छन् ।

अनियमितता गर्ने कसैलाई नछाडिने र चार्टर्ड उडानमा भएका अनियमितता छानविन गर्न मन्त्रालयले समिति गठन गरेको उनले बताएका छन् । कोरियन एयरको नियमित उडान सञ्चालन गर्न सके यो सिजनमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने नेपाल पर्यटन बोर्डका सदस्य समेत रहेका कोरियन टुर अपरेटर ङावाङिमा शेर्पाले बताए ।

कोभिड शुरु हुनुभन्दा अघिको तथ्यांक अनुसार वर्षेनी ३५ देखि ४० हजार कोरियन पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । दुई वर्षदेखि ठप्प रहेको व्यवसाय यस सिजनबाट पुनः लयमा आउने अपेक्षा गरेको व्यवसायीलाई कोरियन एयरको नियमित उडान नहुँदा निराश बनाएको कोरियन टुर्स एण्ड ट्रेकि अपरेटर्स एशोसियसन नेपाल (कोटान)का महासचिव अर्जुन पौडेल बताउँछन् ।

कोरियन पर्यटकहरु धेरैजसो ट्रेकिङका लागि आउँछन् । उनीहरु प्रत्येक हिमालको आधार शिविरसम्म जाने गर्छन् । विशेषगरि साहसिक पर्यटनमा कोरियनहरुको राम्रो बजार छ । उनीहरु आउँदा होटल तथा खानपिनमा समेत राम्रो खर्च गर्छन् । यो सिजनमा कोरियन पर्यटकहरु विस्तारै नेपाल आउन थालेका छन् भने धेरैले चासो राखेका छन् ।

नियमित उडानमा कोरियन एयरमा नेपालीलाई ८ सय डलर र कोरियन तथा विदेशीहरुलाई १ हजार डलरसम्म भाडा हुने गथ्र्यो । नेपालीलाई कोरियन सरकारले नै सो सहुलियत दिएको व्यवसायी बताउँछन् ।

नेपाल आउन चाहने कोरियनका लागि अहिले सबैभन्दा समस्या नै हवाइ उडान भएको छ । महँगो भाडाका कारण आउन चाहने पनि रोकिएका छन् । यसले गर्दा पर्यटन उद्योगलाई नै नकारात्मक असर परेको व्यवसायीहरुको गुनासो छ । सरकारले कोरियन एयरको नियमित उडानमा पहल नगरेकोमा व्यवसायी अशन्तुष्ट छन् ।

व्यसायीहरु भन्छन्–कोरियन एयरको नियमित उडान भर्न सरकारले दबाब दिनुपर्छ । मन्त्रीले राजदूत बोलाएर कुरा गर्न सक्छन् । कोरिया–नेपाल सिधा हवाइ उडानका कारण नेपाल आउने पर्यटक बढेका थिए । हप्तामा दुईवटा नियमित उडान गरेको कोरियन एयरले यात्रु बढेका बेला तीनवटासम्म उडान गथ्र्यो ।

तर अहिले साताको एउटा चार्टर्ड उडन हुने गरेको छ त्यसमा पनि एक सय डलर तिरेपछि २५केजीसम्मको लगेज लिन पाइने गरेकोमा अहिले प्रतिकेजी १० डलरसम्म लिने गरेको गुनासो यात्रुको छ । पर्यटक आउने बेला सरकारले नियमित उडानको पहल नगर्ने हो भने गलत सन्देश जाने व्यवसायीहरुले बताएका छन् ।

नेपालम कोरियन पर्यटकहरुको क्षेत्रमा काम गर्ने ४० वटा अपरेटर छन् ।


प्रतिक्रिया

One thought on “कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक

  1. यो खालको दुई नम्बरी दलाली धन्दा बिगत 15/16 महिना देखिनै हुँदै आएको हो बल्ल थाहा पाएछन त्यो पनि भगबन्डा पो नमिलेको कारण ले पो होकि???

Leave a Reply

Your email address will not be published. Required fields are marked *