पाँच वर्षभित्र लुम्बिनीलाई उज्यालो प्रदेश बनाइने – Nepal Press

पाँच वर्षभित्र लुम्बिनीलाई उज्यालो प्रदेश बनाइने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी पाँच वर्षभित्र उज्यालो प्रदेश बनाउने गरी सबै घरधुरीमा विद्युत्को आपूर्ती गर्ने योजना सार्वजनिक गरेको छ ।

प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरिएको हो ।

हाल प्रदेशमा ३९.१८ मेगावाट जलविद्युत, ९.६१७ सौर्य विद्युत् र ०.०२५ मेगावाट हाइब्रिड विद्युत् उत्पादन भइरहेको र विभिन्न ८ वटा जलविद्युत् आयोजनाबाट १५.९९ मेगावाट तथा सौर्य विद्युत्बाट ३ मेगावाट निर्माणाधीन अवस्थामा रहेको ऊर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ । प्रदेशमा १२ वटा कम्पनीले ११३.५७ मेगावाट र ७८.४९ मेगावाट सौर्य विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति लिएका छन् ।

उज्यालो प्रदेश अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाल्पाको निस्दी गाउँपालिकाबाट कार्यक्रम शुरु गरिने ऊर्जा तथा सिंचाई मन्त्री बीरबहादुर रानाले बताए । हाल प्रदेशमा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुग्न नसकेको र कार्यक्रम कार्यान्वयनमा ल्याउन करिब ३ अर्ब रुपैयाँ बजेट खर्च हुने मन्त्री रानाले बताए ।

उज्यालो प्रदेश बनाउन सम्भाव्य जलविद्युत् आयोजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने, पुराना प्रशारण लाइन तथा वितरण प्रणालीहरुको सुधार, निजी क्षेत्रसंगको सहकार्यमा सौर्य विद्युत्, लघु तथा साना जलविद्युत् आयोजना निर्माण अघि बढाई ५ वर्षमा करिब ७५० मेगावाट विद्युत् उत्पादन थप गर्नुपर्ने मन्त्री रानाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर