स्थानीय तह चुनावः तिलोत्तमामा कसले ल्याउलान् मेयरको टिकट ? – Nepal Press

स्थानीय तह चुनावः तिलोत्तमामा कसले ल्याउलान् मेयरको टिकट ?

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नेतृत्वका लागि दुवै दलबाट आकांक्षीको लर्को लागेको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जोडघटाउ सुरु हुन थालेको छ । यो पालिकामा तेस्रो शक्तिको रुपमा रहेको जनमुक्ति पार्टीसँग सहकार्य गरेर गत निर्वाचनमा गएको नेपाली कांग्रेसले आफ्नो जित निकाल्न सकेन ।

प्रमुख र उपप्रमुखसहित १३ वटा वडामा आफ्नो पकड कायम गरेको एमालेलाई उक्त बिरासत जोगाउने चुनौतीमा छ भने कांग्रेस पराजयको बदला लिने रणनीतिमा छ । चौथो शक्तिको प्रतिस्पर्धामा रहेका माओवादी, जसपा र नेकपा एसले एमाले र कांग्रेसको निर्णय पर्खेर गठबन्धनको साथ खोजेका छन् ।

आगामी निर्वाचनमा एमालेबाट चारजनाले मेयरको आकांक्षीको रुपमा आफ्नो दाबेदारी नेता कार्यकर्तालाई सुनाइसकेका छन् । यहाँ वडाध्यक्षको टिकटका लागिसमेत स्थानीय नेताले लबिङ थालेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमाले नेता बासुदेव घिमिरेले कांग्रेस नेता बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणलाई पराजित गरेका थिए । रामकृष्ण अहिले कांग्रेस जिल्ला सभापति छन् ।

नेकपा एमालेबाट अघिल्लो चुनावमा पार्टीबाट टिकट पाएर केही दिनपछि फिर्ता बोलाइएका नेता मोहन चापागाईं मुख्य दाबेदारका रुपमा रहेका छन् । अघिल्लो पटक निर्णय भएर पछि फिर्ता भएको, पार्टीको जिल्ला कमिटीको पदाधिकारीमा पनि नपरेको र चुनावी रणनीतिमा तटस्थ मत तान्नसक्ने भएकाले चापागार्इँलाई निर्विवाद अगाडि सार्नुपर्ने उनी निकटका नेताहरुको दाबी छ ।

पार्टीको उपाध्यक्ष, महिला, जनजाति तथा अहिलेका उपप्रमुख जागेश्वरी चौधरीलाई अवसर दिनुपर्ने तर्क अर्को समूहको छ भने पार्टी जिल्ला सचिव यज्ञ गैरे, जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज दिनेश फुल्लेलले पनि मेयरका लागि बलियो दाबेदारी गरिरहेका छन् । आफू पुनः मेयरमा नदोहोरिने अभिव्यक्ति दिएका हालका मेयर बासुदेव घिमिरेलाई पनि अहिले पुनः दोहोराउनुपर्ने केहीको तर्क आएको छ । तर यसबारे उनले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।

अघिल्लो पटक नगरमा भाइ रामकृष्ण खाँणलाई हराएकाले अहिले संघमा दाइ बालकृष्ण खाँणलाई हराउन बासुदेव घिमिरेलाई जसरी पनि लैजानुपर्ने तर्क एमालेभित्रै सुरु भएको छ ।

अघिल्लो पटक निर्णय भएर फिर्ता बोलाइएकाले नेता मोहन चापागाईंले अबको तिलोत्तमाको नेतृत्वमा पार्टीको तर्फबाट आफूलाई अन्याय नहुनेमा ढुक्क छन् । ‘अवसर देखाउन सबैले आउनुपर्दछ, राम्रो काम गरेकाहरू माथिल्लो तहमा पठाउने हो, पार्टीले न्यायोचित निर्णय गर्नेमा ढुक्क छु, अघिल्लोपटक फिर्ता बोलाएपनि पार्टीले गरेको निर्णय मानेर पार्टीलाई जिताउन मैदानमा खटिएको हुँ’, उनले भने ।

अर्का आकांक्षी यज्ञ गैरेले निरन्तर पार्टी काम र जनताको बीचमा पुगेर काम गरेकाले यसपटक आफूलाई अवसर दिनुपर्ने दाबी गरेका छन् । गैरे बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, पाँच कार्यकाल जिल्ला कमिटी हुँदै अहिले एमाले जिल्ला सचिव छन् ।

त्यस्तै अर्का आकांक्षी दिनेश फुल्लेल एमाले रुपन्देहीको सचिवालय सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज छन् । उनी यातायात मजदुर तथा व्यवसायी भलाइ कोषको अध्यक्षसमेत हुन् । ‘मैले यसबीचमा जनताका बीचमा रहेर सुख दुःखमा साथ दिने अवसर पाएको छु भने जनताको भावना बुझेको छु, पार्टीमा सबैलाई सन्तुलन मिलाएर लैजानका लागि पनि पार्टीले यसपटक मलाई अवसर दिन्छ भन्ने विश्वास छ,’ फुल्लेलले भने ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य लिला गिरीलगायतका नेताहरुको निर्वाचन क्षेत्रसमेत जोडिएकाले यी नेताहरुले कसलाई रोज्छन् भन्नेमा तिलोत्तमा टिकट फाइनल हुनेछ ।

अघिल्लो चुनावमा नेपाली कांग्रेसले जनमुक्ति पार्टीसँग गठबन्धन गर्दासमेत नगरप्रमुखमा घिमिरेले दुई हजार तीन सय मतान्तरले जितेका थिए । गठबन्धनको चर्चा व्यापक भइरहँदा एमालेले पुनः घिमिरेलाई नै टिकट दिँदा सहज हुने चर्चा पनि छ ।

कांग्रेसमा तिलोत्तमा नगर प्रमुखमा अघिल्लो निर्वाचनका उपविजेता बनेका रामकृष्ण खाँणको कम चर्चा गरिए पनि उनले एमालेको विवाद बढेर कमजोर उम्मेदवार आएमा वा गठबन्धनबाट जित्ने बलियो आधार बनेमा पुनः मेयरमा आउने आंकलन गरिएको छ ।

कांग्रेस वृत्तमा नेताहरू रोमणिप्रसाद पाठक, गुणनिधि भण्डारी, नारायण न्यौपानेलगायतको चर्चा छ । कांग्रेस महासमिति सदस्यसमेत रहेका पाठकले पार्टी नेतृत्वले सुझबुझ ढंगले अगाडि सारे नेतृत्वका लागि तयार रहेको बताए । उनी कांग्रेसका पुराना नेता हुन् ।

पाठक संस्थापनइतर समूहका नेता हुन् । उद्योगी व्यवसायीसमेत रहेका भण्डारी गृहमन्त्री खाँण निकट मानिन्छन् । न्यौपाने पार्टीको नगर सभापतिमा हरिलाल पाण्डेसँग पराजित भएका थिए । तर यहाँ कांग्रेसभित्रकै दुई समूहको लडाइँ भएकाले कुन समूहले टिकट पाउँछ भन्ने ढुक्क छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर