म्यानमारको सत्ता उल्टाउन गुरिल्ला युद्धको तयारी (तस्वीरहरु) – Nepal Press
म्यानमारको सत्ता उल्टाउन गुरिल्ला युद्धको तयारी (तस्वीरहरु)
नेपाल प्रेस २०७८ पुष ६ गते १६:२०
२०७८ पुष ६ गते १६:२०

रोयटर्स । म्यानमारको पूर्वी करेन राज्यस्थित एक जंगलमा एक हुल युवा र उनका फिटनेस प्रशिक्षक केही सशष्त्र लडाकुसँग युद्धकौशल सिकिरहेका छन् । उनीहरुको उद्देश्य म्यानमार सेनाको सत्ता विप्लवसँग लड्नु हो ।

थाइल्यान्ड सीमावर्ती एउटा दुर्गम पहाडमा नयाँ भर्ना गरिएका तन्नेरीहरु राइफल लोड गर्ने तरिका र घरेलु डेटोनेर बमहरु बनाउने तरिका सिकिरहेका छन् । गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि त्यसविरुद्ध उनीहरुले गुरिल्ला युद्ध लड्ने तयारी गरिरहेका हुन् ।

सहरको आकर्षक जागिर छाडेर गुरिल्ला बन्न हिँडेका ती युवाको ताजा तस्बिर रोयटर्सले सार्वजनिक गरेको छ । तस्बिरमा ती युवा ब्रान्डेड टिसर्ट, रंगिन लुगाहरु र सैनिक पोशाकमा देखिएका छन् ।

गत सेप्टेम्बरमा यी तस्बिर तथा भिडिओ लिइएको हो ।

                   

म्यानमार वरपर फैलिएको नागरिक सशष्त्र दस्ता र समूहबारे म्यानमारको सैनिक सरकारका प्रवक्ता टिप्पणी गर्न अस्वीकार गरे । गुरिल्ला युद्धमा होमिने तयारी गरेका युवाले सैन्यू कू विरुद्धको जनताको प्रदर्शन असफल भएपछि आफूहरुले हतियार उठाउनुपरेको बताएका छन् ।

‘हतियार उठाउनु नै हाम्रो एकमात्र विकल्प थियो’ नाम नबताउने शर्तमा ३४ वर्षे एक फिटनेस प्रशिक्षकले भने ।

ती प्रशिक्षकले ढाडमा लोकतन्त्रवादी नेतृ आङसाङ सूचीको ट्याटु खोपाएका छन् र ‘फ्रिडम टु लिड’ नामक नारा पनि खोपाएका छन् । नेतृ सूचीलाई यसै महिना कोरोनाभाइरस प्रोटोकल उल्लंघनको आरोपमा जेल सजाय सुनाइएको छ ।

अहिले म्यानमार वरपर सैन्य कूविरुद्ध यस्ता सशष्त्र दस्ताहरु प्रशस्तै छन् र उनीहरुबीच एकता पनि देखिएको छैन । उनीहरुले आफूलाई जनताको नागरिक रक्षा गर्ने शक्ति बताउने गरेका छन् ।

पूर्वविद्यार्थी अभियन्ता समेत रहेका एकजना प्रशिक्षकले आफूकहाँ सयभन्दा बढी युवाहरुले गुरिल्ला तालिम लिइरहेको रोयटर्सलाई बताए । प्रत्येक साँझ आगो ताप्न भेला भएर उनीहरुले सांगीतिक कार्यक्रम पनि गर्दै आइरहेका छन् । ती प्रशिक्षकले म्यानमार सेनाविरुद्ध लड्नुबाहेक अर्को उपाय नभएको बताए ।

‘नागरिकको रक्षाको लागि म मेरो मृत्युलाई समर्पित गर्न चाहन्छु’ उनले भने । गत फेब्रुअरी १ मा सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेतृ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सरकारको नियन्त्रण आफ्नो हातमा लिएको थियो ।

सेनाको कूविरुद्ध भएको विशाल प्रदर्शनहरुमा भएको हिंसात्मक दमनमा हजारभन्दा बढी नागरिकको ज्यान गएको राष्ट्रसंघले जनाएको छ । कतिपय राज्यमा सेनाले नागरिकको सामूहिक हत्या गरेको प्रमाणहरु पनि भेटिएका छन् । नागरिक सरकारविरोधी सेनाको कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायको विरोध भएपछि चीन र भारतजस्ता मुलुकले मौनता साँधिरहेका छन् ।

म्यानमार सेनाले नेतृ सूचीविरुद्ध कोभिड प्रोटोकल उल्लंघन गरेको र नागरिकलाई उक्साएको सहितका दर्जनभन्दा बढी अभियोगहरु लगाइएको छ ।

तस्बिरहरु : रोयटर्सका लागि केजिया लेभिटाज