पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी – Nepal Press

पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

एजेन्सी । गएराति स्टार्सवर्गसँगको जितअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले लियोनल मेस्सीसहित यो सिजन अनुबन्ध भएका खेलाडीलाई समर्थकसामू सार्वजनिक गरेको छ ।

मेस्सीले रंगशालामा बसेर पीएसजीको लिग वानमा लगातार दोस्रो जित हेरे । बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीसहित यो सिजन सर्जियो रामोस, इटलीका गोलरक्षक जियानलुगी डोनारुम्मा, नेदरल्याण्ड्सका जर्जिन्हो विज्नाल्दम र मोनाकोका अचरफ हाकिमी यो सिजन पीएसजी पुगेका हुन् ।

यीमध्ये विज्नाल्दम र हाकिमीलाई टिममा राखिएको थियो भने तीनजनाले रंगशालामा बसेर खेल हेरे । गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी त्यसयता विदामा थिए । पर्याप्त प्रशिक्षण नभएकै कारण उनले डेब्यू गर्न हतारो नगरेको बताइएको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा स्टार्सवर्गलाई ४–२ गोलले हराएको पीएसजीका लागि माउरो इकार्डी, केलियन एम्बाप्पे, जुलियन ड्रक्सलर र पाउलो सारावियाले गोल गरेका हुन् । खेलको अन्त्यतिर स्टार्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *