झलनाथमा ‘मिर्गौला फेल’ पछिको जटिलता, आज दिल्ली प्रस्थान – Nepal Press

झलनाथमा ‘मिर्गौला फेल’ पछिको जटिलता, आज दिल्ली प्रस्थान

काठमाडौं । केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न जटिलता उत्पन्न भएपछि परिवारको निर्णयमा दिल्ली लगिएको हो ।

लगातार ज्वरो आएपछि खनाललाई तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

यस विषयमा चैत ७ गते नेपाल प्रेसले समाचार प्रकाशित गरेको थियो ।

त्यसबेला झलनाथको सचिवालयले समाचारको खण्डन गरेको थियो । तर, नर्भिक अस्पताल स्रोतले भने मिर्गौला फेल भएको पुनःपुष्टि गरेको छ ।

‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ ।

नर्भिकले झलनाथको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका हुन् ।

‘हामीले उपचार गर्न सक्छौं भनेका हौं । तर, उहाँहरुले पहिलेदेखि एपोलोमा देखाइरहनु भएको रहेछ । अहिले पनि एपोलोको डाक्टरसँग कुरा गर्नुभयो र डाक्टरको सल्लाहमा नै लैजान लाग्नुभएको हो,’ स्रोतले भन्यो ।

खनाललाई एक महिना अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । त्यसबेला उनी नर्भिक अस्पतालमा नै उपचार गराएर घर फर्केका थिए । अहिले ‘पोस्ट कोरोना’ को समस्या हो कि भनेर सुरुमा आँकलन गरिए पनि त्यस्ताे नदेखिएको अस्पताल स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर