कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा – Nepal Press

कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

भान्सामा खाना पस्किँदै थिएँ । ‘ऐया गाह्रो भयो,’ भन्दै एक्कासी दाइ रोइकराई गर्न थाल्नुभयो । भाउजू आँत्तिदै ‘के भयो’ भन्दै आँसु खसाल्न थाल्नुभयो । म पनि किचेनबाट अत्तालिँदै दाइ सामुन्ने गएँ । ‘दाइ के भयो ?’ भन्दै थम्थमाएँ । अनि, चिच्याउँदै, कहालिँदै माथिल्लो कोठामा गएर अंकल आन्टिसँग गुहार मागेँ, ‘अंकल, दाइलाई गाह्रो भयो रे ?’ यो सुन्नासाथ अंकल आन्टी आत्तिदैँ तल्लो कोठामा झर्नुभयो ।

बेलुकादेखि दाइलाई १०३ डिग्री ज्वरो आएको रहेछ । ज्यान दुखेर फतक्कै गलेको रहेछ । राति सुत्न नसकेर छटपटाउनु भएको रहेछ । बिहान पो थाहा भयो ।

हामीलाई शंका लाग्यो, ‘कतै दाइलाई कोरोनाले त आक्रमण गरेन ? सिम्टमस् पनि ठ्याक्कै मिल्यो ।’ त्यसपछि अंकलले झटपट दाइलाई आइसोलेसनमा राखिहाल्नुभयो । दाइ बसेको ठाउँमा किटाणु मार्न कोठाभरी जताततै अंकलले औषधि छर्नुभयो । घरमा सबैजनाले मास्क र फेस सिल्ड लगाएर बस्यौँ । कोरोनाको त्रास घरभित्रै फैलिन थाल्यो ।

०००

केही साताअघि मात्र ठूलो बुवा कोरोना भाइरसको संक्रमित हुनुभएको थियो । बुवा आइसोलेट भएर बस्नुभएको १५ दिन बितिसकेको थियो । स-परिवार नै सर्तक थियौँ । अहिले उहाँ रिकभर स्टेजमा हुनुहुन्छ । अंकललाई थप टेन्सन भयो । ‘बुवाबाट कोरोना कन्ट्रोल गर्न खोजिरा फेरि भतिजलाई नि कोरोना भयो,’ भन्दै सबैजना आइसोलेट भएर बस्न भन्नुभयो । ९ जनाको परिवार । अरु त हट्टाकट्टा नै छन् । मूख्यतः हजुरबुवा आमालाई सुरक्षित राख्नुपर्ने भयो । उहाँहरुलाई पनि आफ्नो कोठाबाहेक केही दिन यताउता गर्न अंकलले रोक लगाउनुभयो ।

एक दिनपछि घरमै स्वास्थ्यकर्मी बोलाएर दाइको कोरोना टेस्ट गरायौं । रिपोर्ट नआएसम्म छटपटि भयो । दिउँसो १ बजे गराएको कोरोना टेस्टको रिपोर्ट साँझ छ बजेतिर आयो । शंका यथार्थमा बदलियो । अन्तत: दाइलाई कोरोना ‘पोजेटिभ’ देखियो ।

दिमागले काम गर्नै छोड्यो । रिँगटा लागेजस्तो भयो, मलाई । कोरोनाको आतंकले स-परिवारलाई नै घेर्‍यो । भयभीत भयौँ । कोरोनाको अनुभव गरिसक्नुभएको बुवाले भने सम्झाउनुभयो । ‘डराउनुपर्दैन, आत्तिनु हुँदैन, निको भइहाल्छ नि !’ उहाँले भन्नुभयो ।

त्यो दिन अंकलले दाइलाई भिटामिन ट्याबलेट र ज्वरोको औषधी दिनुभयो । तैपनि अन्य बेलाजस्तो शान्त मन कहाँ हुन सक्छ र ? हाछ्छिऊँ आए पनि कोरोना पो हो कि ? घाँटी खसखस भए पनि कोरोना पो होकी ? जिऊ तातो भएनि कतै कोरोना भाइरसको सिम्टम त होइन यो ? अनेक तर्कनाले मन पिरोल्न थाल्यो ।

घरको परिवारले नै सावधानी अपनायौँ । पानीको बाफ लिने, काडा पानी, अन्य झोलिलो खाने कुरामा जोड दिन थाल्यौं । एकअर्कासँग आइसोलेट जस्तै भएर बस्यौँ ।

एक त घरमा कसैले पनि कोरोनाको खोप लगाएका छैनौं । कोरोनाको आतंक त मच्चिनेनै भयो । त्यसमाथि दाइको कोरोनाको लेभल अर्थात् सिटी भ्यालू १६/१७ को रहेछ । झन् सावधानी अपनाएर बस्नुपर्ने भयो ।

दाइ माथि तलामा । भाउजू र म तल्लो तल्लामा । त्यो रात राम्रोसित निद्रा परेन । घरीघरी दाइलाई कतै गाह्रो त भएन । केही हुने त होइन ? भ्रमित स्वप्न आउन थाल्यो । त्यो रात दाइलाई ज्वरो घटबढ हुने भइरहेको थियो । बेलाबेलामा फोन गरेर हालखबर बुझिराखेकी थिएँ । मनले मानेन । एकपटक दाइलाई नहेरी चित्त बुझेन, मेरो ।

०००

भोलिपल्ट बिहान चार बजे उठेँ । फेस सिल्ड र मास्क लगाएर दाइ बस्नुभएको कोठामा गएँ । ‘कस्तो छ दाइ अहिले तपाईँलाई ?’ भनेर सोधेँ । दाइ सुत्न नसकेर यताउती हिँड्दै छटपटाइरहनु भएको थियो । दाइले मलिन स्वरमा ‘ठिकै छ’ भन्नुभयो । दाइको अनुहारमा प्रस्ट देखिन्थ्यो, कोरोनाले दिएको कष्टकर शारीरिक अनि मानसिक पीडा । दुखाइले दाइको शरीर कमजोर बनाइसकेको थियो । उहाँको अवस्था देखेर यता मेरो मन झन् भावविह्वल भयो । उता भाउजू पनि चिन्तित हुनुहुन्थ्यो ।

तर, अब परिस्थितिको सामाना गर्नैपर्छ । अरु विकल्प पनि त छैन । दाइलाई कोरोना पोजेटिभ भएपनि हरेस खाएनौँ । बुवालाई कोरोनाले त्यति असर गरेको थिएन । तर दाइलाई भने अलि बढी असर गरेको देखेर कुन बेला के आपत आइलाग्ने हो भन्ने डर, चिन्ताले सताइरहेको थियो । हामी एकैछिन अगाडि नभएको बेलामा दाइलाई कतै सास फेर्न गाह्रो त हुने होइन । यस्तै यस्तै सोचले डेरा जमाउन थाल्यो ।

‘फ्रि काउन्सिलिङ’को लागि एकजना दिदीले चिकित्सक ‘रिफर’ गर्नुभएको थियो । उहाँलाई फोन गरेँ । एकदम राम्रोसँग ‘काउन्सिलिङ’ गर्नुभयो । झोलिलो खाने कुरा खाने, हाई प्रोटिन भएको खाने कुरा खाने दिनमा मनतातो पानी नापेरै चार लिटर पिउने, दिनमा चारवटा अन्डा खाने पोजेटिभ कुरा हेर्ने, सुन्ने, कोठामै यताउती हिँड्ने, व्यायाम गर्ने जस्ता उपाय सुझाउनुभयो । ‘केही अप्ठेरो परेमा ‘भाइबर’मा मेसेज गर्दा पनि हुन्छ । आत्तिनुपर्दैन, निको हुन्छ भनेर उहाँले हौस्याउनुभयो ।

डाक्टरसँगको कुराकानीपछि एककिसिमको ऊर्जा थपिए जस्तै भयो । खुशी लाग्यो । हलुका महसुस गरेँ । कोरोनाको कहरको लहरले छोइएला भन्ने पीरले घरभित्र बाँधिएका थियौँ । अब त घरभित्रै कोरोनासँग दैनिकी रुपमा सामना गरिरहेका छौँ, बुवा अनि दाइसँगै । रोग नलागुन्जेल कति डर थियो । तर प्रत्यक्ष सामना गरेपछि डर भाग्दो रहेछ ।

०००

वरपर छिमेकतिर पनि प्रायलाई कोरोना भाइरसले छोइसकेको छ । कोठा-कोठामा बस्नेले पनि मास्क लगाएको देखिन्छ । कोठाभित्र बस्दा चौबिसै घण्टा कोरोना भाइरसको ख्याल आउँछ । त्यसमाथि घरभित्रै दुईजना संक्रमित थपिइसके ।

साँझपख कौसीमा एकैछिन उफ्रेर, एक्सरसाइज गरेर मन टोलाउँछु । वरपरका मान्छे पनि प्रायः कौसीमा आएर व्यायाम गर्ने, उफ्रिने, नाच्ने, रमाइलो गर्ने गर्छन् । स्किपिङ खेल्नेको त कम्पिटिसन नै चल्छ । एकैछिन कौसीमा हो-हल्ला गर्दा पनि कोरोना भाइरसको त्यति वास्ता लाग्दैन । तर, जब कोठाभित्र पसिन्छ दाइ र बुवालाई देख्दा उही खिन्नताले पिरोल्न थाल्छ ।

अचेल उठबस गर्ने दैनिकी नै बदिलिएको छ । बुवा र दाइलाई माथि तलामा खाना/खाजा पुर्‍याउन जानुपर्छ । खाना दिने बेलामा सुरक्षित रहन हरेक दिन फेस सिल्ड, मास्क लगाउँछु । ‘बुवा’ दाइ भनेर टाढैबाट आवाज दिन्छु । ‘खाना ल्याएको छु है थाल र कचौरा सार्दिनु ल’ मेरो हरेक दिन बोल्ने शब्दै नै यही भएको छ, हिजोआज । बुवा वल्लो कोठामा । दाइ पल्लो कोठामा । दुवैजनाले थाल र कचौरा सररर सारेर राख्दिनुहुन्छ । उहाँहरुले प्रयोग गर्नुभएको थाल, कचौरालाई नछोइ खानेकुरा राखिदिन्छु । कहिले त खाने कुरा नै फुत्त फालेजस्तो गर्नुपर्ने हुन्छ । अचम्म लाग्छ ! हैट कस्तो रोग हो यो ? आफ्नै बुवा, दाइलाई पक्षपात गरेजस्तो ‘फिल’ हुन्छ ।उहाँहरुलाई खाना/खाजा दिँदैपिच्छे सायद दिनमा सयपटकभन्दा बढी साबुनपानीले हात पखालिन्छ होला ।

०००

दाइ कोरोना भाइरससँग लड्दै हुनुहुन्छ । एक साता बितिसक्यो । ‘डेन्जर जोन’बाट मुक्त हुनुहुन्छ । चार/पाँच दिन ज्वरो उतारचढाव हुँदा निकै त्रसित थिएँ । बेलाबेलामा अत्याउँदो रहेछ, यो रोगले । कहिले एकदम कमजोर बनाउने, कहिले रुघा लागेर ग्रस्त बनाउने । तर, अहिले स्वास्थ्यमा बिस्तारै सुधार हुँदै छ । बुवा अनि दाइ दुवै एउटै कोठाको चक्कर लगाउँदै बस्नुहुन्छ । उहाँहरुलाई त्यसरी कोठाभित्रै थुनिएर बसेको देख्दा मन खिन्न हुन्छ । दाइ बेलाबेलामा पीडा पोख्दै भन्नुहुन्छ ,‘कस्तो जेल जस्तो लाग्न थालिसक्यो, दिक्क लाग्छ ।’ उहाँ थप्नुहुन्छ,’ यस्तो रोग त शत्रुलाई पनि नलागोस् ।’

त्यसैले बिहान/बेलुकी खाना खाले बेलामा भर्चुअलबाटै दाइसँग जोडिन्छौँ, भाउजू र म । भिडियो कल गर्दै सँगै खाना खान्छौँ । गीत गाउने, हँसाउने, खुशी बनाउने कुरा गरेर उहाँको एक्लोपनलाई साथ दिइरहेका छौँ । बुवालाई सुधार भएजस्तै घरमै दाइले पनि कोरोनालाई जित्नुहुन्छ भन्ने विश्वास लिएकी छु ।

संसारलाई नै त्रसित बनाएको छ, कोराना भाइरसले । छिमेकी मुलुक भारतमा यसको कहर डरलाग्दो छ । अहिले नेपालमा पनि अवस्था अझै असामान्यै छ । आखिर कोरोनाको भय कहिले सम्मका लागि ? जब कोरोना भाइरसको प्रत्यक्ष सामना गरिन्छ, यसले दिएको मानसिक तथा शारीरिक पीडा भयभीत छ । त्यसैले कोरोना लागिहाले पनि हेलचेक्र्याँइ नगरौँ, नआँत्तिऔँ । आत्मबल उच्च बनाए यो रोगसँग हामीले लड्न सक्छौँ । कोरोना भाइरस सक्रिय त छ नै । भाइरसभन्दा बढी सक्रिय, सजक र सतर्क हामी हुन आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *