गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल – Nepal Press

गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

जनकपुरधाम । प्रदेश दुइका प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखसँग छलफल गरेका छन् । मंगलबार प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अहिराजले प्रदेश दुइ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत गरेका हुन् ।

उनले प्रदेश दुइको गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भने, ‘जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’ बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

उनले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोवल टुट्ने गरेकोप्रति ध्यानाकर्षण गराएको प्रदेश प्रमुख कार्यालयका एकजना अधिकारी विशेष साहले जानकारी दिए । उनले भने ‘बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।’

युवा शक्ति विदेशिनु परेकाले ती युवालाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठूलो योगदान दिनसक्ने प्रदेश प्रमुखले बताए । आफ्नै देशमा केही गर्न सक्ने युवा पैसाको अभावमा विदेशिनु परेको बताउदै उनले त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

प्रदेश प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको सहभागिता रहेको थियो । यसैगरी, प्रदेश दुइमा रहेका प्रत्येक बैंकका प्रादेशिक प्रमुखको सहभागिता रहेकाे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर