भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप – Nepal Press

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले सोमबार विहान कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमार्पत कोरोना खोपको पहिलो डोज लिएको जानकारी दिएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार मोदीले स्वदेशी उत्पादन कोभ्याक्स लगाएका हुन् । यो खोप भारत बायोटेकको उत्पादन हो ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘यो उल्लेखनीय छ कि हाम्रा चिकित्सक र वैज्ञानिकहरुल कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाईंलाई बलियो पार्न कसरी तीव्र रुपमा काम गरिरहेका छन् ।’

उनले आम जनतालाई कोरोना खोप लगाउन अपील गर्दै भनेका छन्, ‘आउनुहोस सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाउँ ।’
भारतमा जेष्ठ नागरिक, गम्भीर विमारीबाट पीडित ४५ वर्षभन्दा माथिका नागरिकका लागि आजबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ ।

दोस्रो चरणको खोप अभियान केहि फरक हुनेछ । पहिलो चरणमा सरकारी खोप केन्द्रबाट मात्र कोरोना खोप उपलब्ध रहेकामा अवदेखि निजी अस्पतालले पनि खोप दिन पाउनेछन् । त्यसका लागि अस्पतालअनुसार भुक्तानी गर्नुपर्नेछ । देशभरका १० हजार सरकारी अस्पतालमा भने कोरोना खोप निःशुल्क पाइन्छ ।

भारतमा जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो । भारत सरकारले जुलाईसम्ममा ३० करोडभन्दा बढी नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । पहिलो चरणमा फ्रन्टलाइनर कर्मचारीलाई खोप दिइसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर