प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय – Nepal Press

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले साविक विजेता लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफ खेल नियन्त्रणमा राखेको थियो । निश्चित पोजिसनको सेन्ट्रल ब्याक बिना मैदानमा उत्रिएको लिभरपुलले मिडफिल्डर जोर्डन हेन्डरसन र फाविन्होलाई डिफेन्समा खेलाएको थियो ।

खेल अवधिभर दुवैले गोलका केहि अवसर सृजना गरेका थिए तर असफल भए । लिभरपुलले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । यो उसको चौथो खेलमा तेस्रो बराबरी हो ।

बराबरी पछि पनि युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । उसको १८ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट ३४ अंक रहेको लिभरपुल चौथो स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा जोन स्टोन्सले २ गोल गरे । २६ औं मिनेटमा स्टोन्सले केभिन डी ब्रुयेनको पास सदुपयोग गरी सिटीलाई अग्रता दिलाएका थिए ।

बाँकी गोल दोस्रो हाफमा सम्भव भयो । ५६ औं मिनेटमा गुन्डोगानले गोल गरे भने ६८ औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा नियमित समय सकिनु २ मिनेटअघि रहिम स्टलिङले ४–० को जित निश्चित गरे ।

जितसँगै सिटी १७ खेलबाट ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २ खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर