‘देङ सिआओ पिङ’ जन्माउने प्रसव पीडा – Nepal Press
नेकपा विवाद

‘देङ सिआओ पिङ’ जन्माउने प्रसव पीडा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो आन्तरिक समस्यामा फसेको छ । अत्यधिक जनमत प्राप्त कम्युनिष्ट दलको यो विवाद फुट नजिक पुगेको विश्लेषण भइरहँदा नेपालको कम्युनिष्ट आन्दोलन नै विघटन हुने भयसम्म उब्जाएको छ । बहुमत प्राप्त सत्तारुढ दल यही विग्रहमा गएमा त्यस पार्टीका नेता–कार्यकर्ताको मात्र भविष्य प्रभावित गर्दैन, समग्र देश र जनताको भाग्य र भविष्यमाथि समेत बज्रपात हुने निश्चित छ ।

नेपाल र खासगरी नेकपा, र केही हदसम्म नेपाली कांग्रेसले अहिले भोगिरहेको याे पीडा सन् १९६६ देखि १९७८ सम्म मित्रराष्ट्र चीन र चिनियाँ कम्युनिष्ट पार्टीले भोगेको अत्यन्त लामो र पीडादायी समयसँग तुलना गर्न सकिन्छ, जसपश्चात चीनले ‘आधुनिक चीनको आर्किटेक्ट – देङ सिआओ पिङ’को नेतृत्व स्थापित गर्‍यो र उहाँकै सफल नेतृत्व र नीतिबाट चीनले निरन्तर तीव्र आर्थिक विकास हासिल गर्दै आज चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा फहराउन सफल भएको छ ।

र, सम्भवतः आगामी दशकमा विश्वको पहिलो शक्तिराष्ट्रको रुपमा चीन उदाउँदैछ । नेकपाले व्यहोरिरहेको यो पीडालाई सकारात्मक चिन्तनबाट विश्लेषण गर्दा नेकपाले ‘कर्तव्य पालन र आर्थिक समृद्धि’को नेतृत्व गर्ने (देङ सिआओ पिङ जस्तै) नेता जन्माउने प्रसव पीडा भोगिरहेको अवस्थाका रुपमा बुझ्न सकिन्छ ।

नेतृत्वकाे योगदान

हाल नेपालका मुख्य राजनीतिक दलहरुको नेतृत्व गर्ने नेताहरु क्रान्तिका सफल नायकहरु हुन्, एक हिसाबले राजनीतिक क्रान्तिको ‘च्याम्पियन’ नै हुन् । निरंकुश र परिवार केन्द्रित शासन प्रणालीलाई विस्थापन गरेर जनताको शासन स्थापना गर्ने अत्यन्तै साहसिक काम उहाँहरुले आफ्नै जीवनकालमा सफल पार्नुभयो ।

एउटै पुस्ताबाट राजनीतिक क्रान्ति सफल बनाएर क्रान्तिका उपलब्धिहरुलाई संविधानमा लिपिबद्ध मात्र गरेनन्, त्यसअनुरुप कानून बनाएर क्रान्तिबाट प्राप्त हक र अधिकारलाई जनताको घरआँगनमा पुर्‍याउने काम लगभग सम्पन्न गरिसकेका छन् ।

राजाको विरुद्ध सामान्य भनाइ राख्दा समेत राजद्रोह मुद्दामा ‘मृत्युदण्ड’ वा ‘आजीवन कैद’ सजाय भोग्नुपर्ने निरंकुश प्रणालीबाट देश र जनतालाई राष्ट्रपति र प्रधानमन्त्रीसँग सार्वजनिक स्थानमा ‘असन्तुष्टि राख्न पाउने अधिकार’ जनतालाई दिलाइएको छ । आज जनताले आफ्नो अभिमत स्पष्ट ढंगले राख्न पाउने अवस्था सृजना भएको छ । गणतान्त्रिक मुलुकमा राजाको समर्थनमा जुलुस निकाल्न सक्ने अधिकारबाट जनता सु–सज्जित भइसकेका छन्, केही त्यो अधिकारको भरमग्दुर उपयोग पनि गरिरहेका छन् ।

विभिन्न खालको राजनीतिक लडाइँमार्फत उहाँहरुले जनतालाई अधिकार दिलाएका कारण उहाँहरुको योगदान चिरकालसम्म स्मरणीय रहनेछ । उहाँहरु हाल देश र पार्टीको नेतृत्वदायी पदमा पुग्नुको कारकतत्व पनि त्यही क्षमता, योगदान र सफलता हो, न कि कसैको दया, मायाबाट या पारिवारिक विरासतबाट ।

विद्यमान अवस्था

नेकपा र नेपाली कांग्रेसको आजको नेतृत्व विद्रोहबाट जन्मेको, विद्रोहको राजनीतिमै स्थापित भएर त्यही क्षेत्रमै सफलता हासिल गरेको नेतृत्व हो । तसर्थ, उहाँहरुको स्वभाव र शैली मात्र हैन, विचार पनि विद्रोही धरातलमै उभिएको छ ।

यो नेतृत्वले जनतालाई आफ्नो हक र अधिकारप्रति सचेत हुन सिकायो, विद्रोह गर्न आँट भरोसा मात्र हैन नेतृत्व प्रदान गर्‍यो, जनताको हित र इच्छा विपरित सरकार चल्दा आन्दोलन गर्न प्रेरित गर्‍यो । यो पंक्तिले समग्रमा नेपाली जनतालाई राज्यसत्तासँग ‘प्रतिपक्ष’ हुन सिकायो, जनताले त्यसलाई अनुसरण गरे र यो विशाल राजनीतिक, संवैधानिक र कानूनी क्रान्ति सफल भयो ।

विस्तारै जनताको त्यो जुझारुपन लतमा परिणत भयो । सम्पूर्ण हक अधिकार आफ्नो ‘अभिमतमा व्यक्त गर्न सकिने व्यवस्था’ लागू भइसक्यो, कैयौं ‘आधारभूत अधिकार’लाई कानून मात्र हैन, संविधानले ‘ग्यारेन्टी’ गरिसक्यो, तर जनतासँग अधिकार प्राप्तिको लडाईको चेतना, स्वभाव र कायैशैली कायमै छ । आन्दोलनबाट जन्मेका नेताहरु आज अधिकार दिने ठाउँमा पुगिसक्नुभयो, देश र जनतालाई समृद्धिको मार्गचित्र दिन मात्र हैन, त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगिसक्नुभयो, तर देशलाई नेतृत्व गर्ने ठाउँमा पुगिसक्नुभएका आदरणीय नेताहरुले विद्रोही स्वभाव त्याग्न सकेका छैनन् ।

अलेक्जेण्डर पोपले एक समय भनेका छन्, ‘व्यवहारलाई व्यवहारले मात्र विस्थापन गर्न सक्छ’ । अलेक्जेण्डर पोपको भनाइमा विश्वास गर्ने हो भने विद्रोही व्यवहारलाई निमिट्यान्न पार्न सकिन्न, उपाय भनेको यसलाई बदल्ने मात्र हो । तर मानवीय आदतको शक्ति यति बलियो र कठोर हुन्छ कि मानिसले सजिलै आफ्नो आदत परिवर्तन गर्न सक्दैनन् । विद्रोही मानसिकता र संस्कार बोक्नुभएका हाम्रा नेताहरुले यो आदतलाई परिवर्तन गरेर ‘कर्तव्य पालन र समृद्धि प्राप्तिको आन्दोलन’मा आफूलाई ढाल्न सक्नुभएको छैन ।

आधारभूत अधिकारबाट सुसज्जित भइसकेका जनताले समृद्धिको माग गर्दैछन्, तर उहाँहरुको ध्यान र आदत विद्रोहकै क्षेत्रमा क्रियाशील छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब नयाँ नेतृत्व’ भन्नुको तात्पर्य पनि उहाँमा विकास भएको यही निश्कर्षको फल हो भन्ने बुझ्न सकिन्छ । संसारभर प्रणाली परिवर्तनको नेतृत्व र आर्थिक समृद्धिको नेतृत्व एउटै व्यक्तिबाट भएको विरलै उदाहरण पढ्न पाइन्छ ।

अधिकार प्राप्तिको लामो लडाइँ लडेका नेतृत्व वर्ग मात्र हैन, त्यसमा सहभागी भएका जनताले ती सबै अधिकार आफ्नै हातमा बोकेर पनि आफूले देखेका, भोगेका र सहभागी भएका निर्मम राज्य विरुद्धको लामो संघर्ष यात्रा स्वरुप विरासतमा पाएको ‘प्रतिपक्ष मानसिकता’ त्याग्न सकेका छैनन् । जनतालाई यस प्रतिपक्षीय मानसिकतामबाट परिवर्तन गरेर श्रमप्रति सम्मान, मिहिनेत, कर्तव्य पालन र शिल्प विकासको मार्गमा लम्किन प्रेरित गर्ने नेतृत्व नै आजको आवश्यकता हो ।

चिनियाँ अनुभव

चीनको जनवादी क्रान्तिका नायक माओत्सेतुङले सञ्चालन गरेको क्रान्तिले सफलता पाएपछि सन् १९४९ मा जनवादी गणतान्त्रिक चीनको जन्म भयो । योसँगै राज्यको अधिकार आधारभूत जनतामा निहित हुन पुग्यो ।

त्यही अधिकार प्रयोग गरेर त्यहाँ भूमि क्रान्ति, सांस्कृतिक क्रान्ति लगायत थुप्रै अधिकार प्राप्तिका कार्यहरु विधिसम्मत सम्पन्न भए, तर देशले आर्थिक समृद्धिको बाटो समाउन सकेन । जनता शक्तिशाली भए, तर सम्पन्न हुन सकेन, सम्पन्न नभएपछि खुशी र सन्तुष्ट हुने कुरै भएन ।

जनताको यो असन्तुष्टि विस्तारै आक्रोशमा बदलिन थाल्यो । लगभग सन् १९६६ मा प्रष्फुटन हुन खोजेको जनताको असन्तुष्टि एक दशक पछि त बाहिरै छताछुल्ल पोखिन थाल्यो । जनताको असन्तुष्टि तिनै जनताको नेतृत्व गर्ने नेतामा प्रकट हुन समय लागेन र चीन तथा चीनलाई नेतृत्व गर्ने शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टी बडो कष्टकर आन्तरिक समस्यामा रुमल्लिन थाल्यो । यतिसम्म भयो कि एक पक्षीय नेताहरुले अर्को पक्षीय नेताहरुलाई विरोध मात्र हैन, कारबाही नै गर्न थाले ।

यही सिलसिला हाम्रो नेपालमा र खासगरी अहिले बहुमत जनताले अभिमत दिएको नेकपामा शुरु भएको छ । नेपाली कांग्रेसमा हाल यो पक्ष सुषुप्त छ, शायद प्रतिपक्षीय भूमिकामा बस्दाको फाइदा पनि यही हुनसक्छ । चीनमा त्यो लामो पीडादायक पार्टी र नेताको बेचैनता पछि सन् १९७८ डिसेम्बरमा सम्पन्न तेश्रो प्लेनमको एघारौं केन्द्रीय कमिटी बैठकबाट देङ स्याओपिङ नेतृत्वमा आउनुभयो र उहाँले अर्को वर्ष सन् १९७९ मा लागू गर्नुभएको आर्थिक सुदृढीकरणको नीति अवलम्बन पछि चीन ‘इलेक्ट्रिक रेल’को गतिमा कुद्यो । सन् १९८० मा विश्वको सम्पन्न मुलुकको सातौं स्थानमा रहेको चीन तीन दशकको दौरानमा सन् २०११ मा दोश्रो स्थानमा उक्लिन सफल भयो भने आगामी दशकमा पहिलो स्थानमा पुग्ने दौडमा सामेल छ ।

नेपाल र नेपालका राजनीतिक दलहरुको अहिलेको पीडाबाट नेपालले देङरुपी नेपाली आर्थिक समृद्धिको नेताको आगमनको व्यग्र प्रतीक्षा गरेको छ । आगामी वैशाखमा हुने निर्वाचनबाट यही नयाँ अनुहारको अपेक्षा गरेको छ ।

विभिन्न पटक परीक्षण भइसकेका पुरानै नेतालाई फेरि नेतृत्व दिनु भनेको पुनः ‘राम्रो नेपाली शिक्षकलाई अंग्रेजी विषयमा अध्यापन गराउनु’ जस्तै हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो नेतृत्वलाई सत्ता सुम्पनुभन्दा जनतामा गएर नयाँ नेता माग्छु भन्नुको तात्पर्य यही मान्यता हुनुपर्छ भन्ने पंक्तिकारको विश्वास छ । अब नेपाली जनताले पाएको अधिकारलाई बगलीमा राम्रोसँग सम्हालेर आगामी वैशाखमा आर्थिक समृद्धिको बाटोमा डाेर्याउने नयाँ नेता चुन्ने अवसर प्राप्त छ, अवसरलाई सदुपयोग गर्नु आवश्यक छ ।

यो लेखक [email protected]को निजी विचार हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.