देउवाका ‘दुःख’ भित्र कांग्रेस दृश्य
८१ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवालाई हामीले जहाँ-जहाँ बेठीक भन्दै आयौँ, त्यहाँ-त्यहाँ पत्नी डा. आरजुलाई दोष्दै रह्यौँ ।
विवाह भएको ३३ वर्षपछि उनी पतिको पार्टीबाट परराष्ट्रमन्त्री भइन् । फेरि हामी भन्छौँ, हिजो कोइरालाहरूले चलाएको वंश परम्परा देउवाले शुरू गरे । तर, भन्नुपर्ने थुप्रै कुरा हामीले देखेनौँ, लेखेनौँ र भनेनौँ ।
कांग्रेस राजनीतिमा उमेश श्रेष्ठहरूको उदय, विनोद चौधरीहरूको उत्थानदेखि सत्ता-शक्तिका सारा मामिलामा ‘देउवाको अवतार’ भन्दै डा. आरजु चित्रित भइरहिन् ।
पंक्तिकार ती कुरा हुँदै होइनन् भन्ने पक्षमा छैन ।
हामीले पहिल्याउन नसकेको, देखेर पनि नसम्झिने डा. आरजुको पछिल्लो संस्करणको चर्चा गरेनौँ भने ‘देउवा दृष्टिकोण’ ले पूर्णता पाउँदैन । ती हुन्, ३१ वर्षीय सुपुत्र जयवीरसिंह देउवा ।
कुनै दिन उनै राजेन्द्र बजगाईँ महाधिवेशनका निम्ति कोइरालाहरूलाई गाडीमै राखेर पैसा ओसारेको भनी बालुवाटारमा ‘रंगेहात’ समातिए । प्रकारान्तरमा देउवाकै भागमा परेर उनी चुनाव लड्न गोरखा पुगे । यहाँ हामीले डा. आरजुको ‘कमाल’ देख्यौँ । जयवीरलाई भेट्टाएनौँ ।
उमेश-विनोद चौधरीहरूले बूढानीलकण्ठको एउटा पाखा नै सर्लक्क नामसारी गरेको चर्चा छ । फेरि पनि हामीले त्यहाँ आमालाई देख्यौँ, छोरा देखेनौँ ।
अहिले उमेशको व्यापारिक साम्राज्य दुबई र क्यानाडाका रियल स्टेट कारोबारबाट फैलिएको कुरा सुन्यौँ भने फेरि पनि हामीले डा. आरजुकै नाम खराब पार्नेछौँ । छोरो देख्दैनौँ ।
रमेश लेखकदेखि नैनसिंह महर, महालक्ष्मी (डिना) उपाध्याय, भानु, प्रकाश देउवासम्म यी ‘दुःख’ भित्र कतै न कतै भेटिएलान् ।
आजको सिंगो कांग्रेस राजनीतिभित्र देउवाका खास-खास कुरा चर्चा नगरी अगाडि बढ्न सकिँदैन । यस कारण ‘दुःखहरू’ पर्गेल्नु परेको हो ।
रमेश लेखकलाई आगामी महामन्त्री बनाउँदै सभापतिको दौडमा छिर्न गगन देउवातिर नजिकिएका छन् । यो घटनाले मूलतः कोइरालाहरूलाई एक ठाउँमा त उभ्याउँछ, तर गगन-विश्वप्रकाश नभएको कोइराला खेमा बलिया बन्न सक्दैन ।
देशभरका कांग्रेसजन समयमै महाधिवेशन चाहन्छन् । उनीहरूको पहिलो शर्त नै हो त्यो । तर, देउवाको शर्त त्यो हैन । आफ्ना ‘दुःख’ नबिसाई उनले महाधिवेशनको ‘म’ पनि गर्नेवाला छैनन् । त्यसैले कांग्रेसजनका निम्ति यो समय देउवाको बारेमा चिन्ता वा चिन्तन गर्ने हो, महाधिवेशन त्यसपछि माग्ने हो । पहिलो चिन्तामा नगई उनीहरूले दोस्रो र मुख्य कुरा पाउने छैनन् । देउवा न हुन्, ‘गर्दिनँ’ भनिसकेपछि कसैको केही लाग्दैन, महाधिवेशन हुँदै हुँदैन । त्यसैले उनलाई त्यहाँ नपुर्याउनका निम्ति उनका दुःख, त्यसका भित्री मर्म र कर्म जान्नुपरेको हो ।
धेरैले भन्ने गरेका छन्, ‘आमा-छोरालाई सेट गरेपछि शेरबहादुरका दुःख सकिन्छन् ।’ कुरा यतिमात्रै हैन । आमाको फरक र छोराको फरक कुरा छ । अर्को महत्त्वपूर्ण कुरा हो, डडेलधुरा कसलाई छाड्ने ?
देउवाका भित्रियाहरूले भनेअनुसार, आउँदो चुनाव ०८४ भित्र वा अगाडि नै भएछ भने पनि उनले तेस्रो पटक ‘अन्तिम चुनाव’ डडेलधुराबाटै लड्नेछन् । ०७४ र ०७९ का चुनावमा उनले जनतासँग अन्तिम पटक भन्दै भोट मागे । तर, ती चुनाव ‘अन्तिम’ भएनन् । सम्भवतः अबचाहिँ साँच्चैको अन्तिम पटक उनी डडेलधुरा फर्किन्छन् । भित्रियाहरू भन्छन्, ‘भेन्टिलेटरमै राख्नुपरेछ भने पनि एक चुनाव डडेलधुरामा शेरबहादुर दाइ नै चाहिन्छ ।’
‘त्यसपछि डा. आरजु, जयवीर, भानु, प्रकाश, नैन, डिनामध्ये को हो, दाइको मर्जी’, एक भित्रियाले पंक्तिकारलाई सुनाए ।
छोरा जयवीर सक्रिय राजनीतिमा छैनन् । उनी अहिले बिहान उठेर आँखाको चिप्रा मिचेदेखि नै पैसा सम्झिँदै वास रुम छिर्छन् । राति सुत्दासमेत ‘कारोबार’ सम्झिरहेका हुन्छन् । हामीले यस मामिलामा आमालाई धेरै नै बदनाम गर्यौ्ँ, खासचाहिँ ‘काम’ छोराले गर्छन् ।
‘कारोबारी’ हरूले जयवीरलाई के बनाउँछन् ? कहाँ पुर्याउँछन् ? हेर्दै जाऔँला । तर, उनलाई कांग्रेसका कचिंगल, बाबुआमाका राजनीतिका कुरासँग कुनै सरोकार छैन । आफूसँग जोडिएका ‘कारोबारी’ का हितमा बाबुआमालाई भन्नुपर्ने कुरा भन्छन्, काम पनि हुन्छ । राजेन्द्र बजगाईँसँग स्यानेटरी प्याड र डाइपरको कारोबारमा जोडिएपछि हिजो कोइरालाका निम्ति पैसा ओसारेको अभियोगमा देउवाहरूले ‘रंगेहात’ पारेका कथा सकिए ।
त्यसैले अहिल्यै जयवीर न चुनाव, न पार्टी, न पद केही भनिरहेका छैनन् । अलिक पहिलासम्म देउवा स्वयंको चाहना आफ्नो राजनीतिक विरासत उनले धानिदिए हुन्थ्यो भन्ने चाहन्थे । तर, उनमै त्यो इच्छा नदेखिँदा बाबुआमाले चाहेरमात्रै भएन ।
जयवीरले राजनीतिमा जे-जे गर्छन्, बाबुको जीवनकालभरिमै गरे हो, नत्र गाह्रो छ । आरजुको हकमा पनि पति हुँदासम्म उनको राइँदाइँ चल्ने हो । त्यसपछि उनी के हुन्छिन् भन्ने कुरा आजकी सुजाता कोइरालालाई हेरेर बुझ्नुपर्छ । गिरिजाबाबु हुँदासम्मकी सुजाता र त्यसपछि आजकी सुजाता भनेजस्तै ।
अब कुरा गरौँ कांग्रेसको ।
गगन थापाहरूले के बुझे भने, शेरबहादुरसँग लडेर पार लाग्नेवाला छैन । मिल्दा पनि सबै कुरा मिल्नेवाला छैन । त्यसैले मिल्नेसम्मका कुरा मिलाएर महाधिवेशनसम्म जाने बाटो बनाउनुपर्छ भन्ने भयो । शेखर कोइरालाहरूलाई त झन् यो कुरा राम्रोसँग थाहा छ । उनलाई धेरै रिस उठायो भने ‘बाँचुन्जेल सभापति पनि छाड्दिन, महाधिवेशन पनि गर्दिनँ’ भनिदिए भने सबै ठन्डाराम हुनुपर्छ । त्यसैले ‘ठन्डाराम’ हुने मन कसैलाई छैन ।
यस कारण अब विशेष महाधिवेशन वा महासमितिको बैठक बोलाएर सुरूमा शेरबहादुरले गर्ने काम हो, विधान संशोधन । मनोनीत गरिने उपसभापतिभित्र एकजना महिलाको सीट थप्ने, डा. आरजुलाई बनाउने । यो काम गर्न गगनहरूले त सहयोग गर्ने नै भए । शेखरहरू पनि ‘भैगो त’ भन्नेमा पुग्छन् । किनभने, एउटी आरजु ‘मिलाउँदा’ महाधिवेशन हुन्छ भने त्यही नाममा खोँचे थाप्न उनीहरू पनि चाहँदैनन् । बरु, महाधिवेशनपछि शेरबहादुरको स्थिति जेसुकै भए पनि एउटी आरजुलाई फेरि मनोनीत गरेर ल्याऊँ नै भन्छन् ।
धेरैले भन्ने गरेका छन्, ‘आमा-छोरालाई सेट गरेपछि शेरबहादुरका दुःख सकिन्छन् ।’ कुरा यतिमात्रै हैन । आमाको फरक र छोराको फरक कुरा छ । अर्को महत्त्वपूर्ण कुरा हो, डडेलधुरा कसलाई छाड्ने ?
यसप्रकार शेरबहादुरको जीवनकाल वा शेषपछि उनको राजनीतिक विरासत धान्ने एक नम्बरकी पात्र उनै हुन् । फरक कुरा हो, हिजोकी सुजाता र आजकी सुजाता हुने । बन्छु र बन्दिनँ भनेर पाइँदैन, कांग्रेसको लेखान्त नै त्यस्तो छ ।
जयवीरचाहिँ बीपीपुत्र प्रकाश, श्रीहर्षजस्ता हुने छनक छ ।
जसरी सिंगो पञ्चायत व्यवस्था एकातिर, बीपी कोइराला व्यक्तिकै रूपमा अर्कोतिर भएर संघर्ष चलिरहँदा बीपीका सन्तान आजका जयवीरजस्ता थिए । आजका दलाल पुँजिपतिले जयवीरलाई मुठ्ठीमा लिएर आफ्नो राजनीति चलाइरहेका छन् । त्यसरी नै पञ्चायतविरोधी कमान्डर बीपीको घरमा पञ्चायत भित्रिसकेको थियो । जेठा प्रकाश दरबारियासँग हिँड्ने, खाने, नाच्ने गर्थे । माइला श्रीहर्षलाई पनि पञ्चायतले गाँजिसकेको थियो । कान्छा शशांक पढेर डाक्टर बन्ने सपनामा थिए, पछि बने पनि ।
धन्न पञ्चायत छिट्टै ढल्यो र ‘बीपीको विरासत’ का नाममा प्रकाश कांग्रेस राजनीतिमा ल्याइए । श्रीहर्ष र शशांक आइसकेका थिएनन् । पछि जागिर छाडेर शशांक राजनीतिमा आए । भतिज शेखरले आज ‘बीपी विरासत’ को वकालत गरिरहेका छन् । देउवासँग त यस्तो सुविधा पनि छैन । भएको एउटा छोरा कता हो कता । पत्नीको हालत देखिएकै छ, उनी ‘राजनीतिक’ बन्नै सकिनन् । बाँकी भएका भानु, प्रकाश, नैन, डिनाहरू कत्तिको उत्तराधिकारी बन्लान् ? भन्न सकिन्नँ ।
राजनीतिको रंग
पछिल्लो समयमा विकसित घटनाक्रमअनुसार शेखरको क्याम्पबाट उछिट्टिएर गगन थापा देउवातिर ढल्किएका छन् ।
वर्तमान सरकारमा मन्त्री छान्दाबाटै बदलिएको समीकरण आजसम्म आइपुग्दा अर्कै भएको हो । नत्र, जीवनभर देउवाको भनेर चिनिएका तेजुलाल चौधरी शेखरको कोटामा मन्त्री हुन्थेनन् । शेखर समूहभित्र गगन-विश्वप्रकाशका निम्ति एक-एकजना भाग लागे । जीवन परियारलाई छाडेर, चन्द्र भण्डारीलाई छिर्के लगाएर गगनले प्रदीप पौडेल र विश्वप्रकाशले बद्रीप्रसाद पाण्डेलाई रोजे । अहिले गगनहरू शेखरसँग छैनन् ।
एनपी साउद, बालकृष्ण खाँण, चन्द्र भण्डारीहरू देउवातिरका हैनन् । देउवापछिका भनिएका पूर्णबहादुरको भरमा स्वयं देउवा पर्न छाडेका छन् । त्यसैले रमेश लेखकलाई आगामी महामन्त्री बनाउँदै सभापतिको दौडमा छिर्न गगन देउवातिर नजिकिएका छन् । यो घटनाले मूलतः कोइरालाहरूलाई एक ठाउँमा त उभ्याउँछ, तर गगन-विश्वप्रकाश नभएको कोइराला खेमा बलिया बन्न सक्दैन ।
बीचमा शशांकलाई सभापतिका रूपमा अगाडि सार्ने देउवाहरूको योजना थियो । शेखर यसै पनि सभापतिका दाबेदार हुने नै भए ।
शेखरतिर लाग्दा गगनले धेरैमा उपसभापतिसम्म ताक्नुपर्थ्यो । देउवासँग लागेपछि त्यहाँ त सभापति नै खाली हुँदैछ । त्यसैले कांग्रेस समीकरण अर्को अध्यायतिर अभ्यस्त भयो ।
जयवीरले राजनीतिमा जे-जे गर्छन्, बाबुको जीवनकालभरिमै गरे हो, नत्र गाह्रो छ । आरजुको हकमा पनि पति हुँदासम्म उनको राइँदाइँ चल्ने हो । त्यसपछि उनी के हुन्छिन् भन्ने कुरा आजकी सुजाता कोइरालालाई हेरेर बुझ्नुपर्छ ।
अब गगनले नैनसिंह महरहरूलाई बोक्छन् । त्यसो गर्दा देउवा खुशी हुन्छन् । किनभने, देउवा कोटरीभित्र त्यो पुस्ताका सबभन्दा बढी राजनीतिक र सांगठानिक पत्र नैन नै हुन् । देउवाका पछि लागेका सुदूरपश्चिमीहरू पूर्वतिर जनाधार बनाउन तम्सिएनन् । त्यसैले नेविसंघ सभापति पनि भइसकेका नैन पूर्वेलीसँग मिलेरै राजनीतिमा हाबी हुँदैछन् । गगन-विश्वप्रकाशको साथ पाए भने उनको फलिफाप छ ।
यसरी आजका शेरबहादुर देउवालाई हेर्दै भोलिको नेपाली कांग्रेसको कल्पना गर्दा केही सुन्दर पक्ष पनि प्रतिबिम्बित हुन्छन् । जस्तो कि, पुस्तान्तरणको कुरा ।
उस्तै परे आजका ४८ वर्षीय गगन थापा नै सभापतिका उम्मेदवार बन्छन् । जितेनन् भने पनि ‘बुढाखाडा’ ले उपसभापति, महामन्त्री, सहमहामन्त्री ताकेर बस्दैनन् । किनभने, सभापतिको दौडमा ४८-५० उमेर समूहले दाबी गरिसकेपछि कम्तीमा ६० भन्दा माथिका बूढाहरूले तल्लो पद ताक्ने कुरा हुँदैन ।
शेखरतिर जाँदा सभापति उनी स्वयं । त्यसपछि केही बुढाखाडालाई मिलाएपछि मात्रै गगन-विश्वप्रकाशको कुरा आउँछ । त्यसैले त्यो लफडालाई उनीहरू आजैदेखि छाड्न चाहन्छन् । किनभने, देउवालाई चाहिएको धेरै केही छैन । मुख्य चाहना पत्नी र छोराको व्यवस्थापन । मिलेसम्म भानुले केही गरून् भन्ने छ । नैनसिंहहरु त देउवाको भएनछन् भने पनि ‘पोलिटिकल स्पेस’ कमाएकै मान्छे हुन् । उनका कुरामा देउवाले धेरै चिन्ता नगरे पनि फरक पर्दैन ।
खतराको संकेत
चाहे जुनसुकै धारको राजनीति किन नहोस्, त्यसभित्र दलाल पुँजीपति वर्गको आधिपत्य स्थापित भयो भने चौपट हुन्छ । त्यसमाथि राजनीतिमा विचार, दर्शन र संगठनभन्दा बढी टेक्नोक्र्याट र व्युरोक्र्याट हाबी हुँदा दलमात्रै हैन, देश नै ध्वस्त भएका घटना छन् । भारतमा कंग्रेस आई वर्षौँ पछाडि धकेलिनुको कारण परिवारवादमात्रै थिएन, त्यसभित्र दलाल पुँजीपति वर्गको प्रभुत्व स्थापित हुनु थियो ।
नेपाली कांग्रेस, विशेषतः देउवा नेतृत्वको विश्रमसम्म पुग्दा यसलाई पुँजीपतिहरूले कति मुठ्ठीमा राख्लान् भन्ने कुरा सबभन्दा बढी चिन्ताको विषय हो । मुठ्ठीमा त लिइसके । सिंगो नेपाली कांग्रेस उनीहरूको मुठ्ठीभित्र पुगिसकेको छैन । त्यसैले कांग्रेस जोगिने गुञ्जायस बाँकी छ । त्यसका निम्ति शेरबहादुर देउवालाई यो बुढेसकालमा सभापति बनाइराखेर कांग्रेसजनले धेरै दुःख नदिए हुन्थ्यो ।
कुरा ठिक छ ।