मोदी र ओलीकै घोषणा अलपत्र, कहाँ गयो जनकपुरको एक अर्ब भारु ? – Nepal Press

मोदी र ओलीकै घोषणा अलपत्र, कहाँ गयो जनकपुरको एक अर्ब भारु ?

जनकपुरधाम । साढे दुई वर्षअघि सीता जन्मस्थल जनकपुरको जानकी मन्दिर परिसरमा उभिएर नेपाल र भारतका शक्तिशाली प्रधानमन्त्रीले संयुक्त रूपमा गरेका घोषणा र शुरु भएका काम अलपत्र परेका छन् ।

रामजानकी विवाहको अवसरमा जनकपुरवासीले केपी ओली र नरेन्द्र मोदीले गरेका बाचा समेत पूरा नभए कसको विश्वास गर्ने भन्ने प्रश्न गरेका छन् ।

२०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमण गरे । जानकी मन्दिरमा विशेष पूजा परेपछि मोदीको देश विदेशमा खूबै चर्चा भयो । जनकपुरवासी पनि खुसीले गद्गद् भए । मोदीले यहाँको विकासका लागि १०० करोड आर्थिक सहयोग दिने घोषणा गरेर जनकपुरवासीको मन जिते ।

मोदीको स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं जनकपुरधाम आएका थिए । जानकी मन्दिरबाटै मोदी र ओलीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्या बस सेवाको पनि उद्घाटन गरे । तर अढाइ वर्ष बितिसक्दा पनि आर्थिक सहयोग रकम आउन सकेन । बस सेवा पनि उद्घाटन सयर लगत्तै बन्द भयो ।

उद्घाटन पश्चात् संघीय सरकारले पठाएको बस अयोध्या त पुग्यो तर त्यहाँबाट जनकपुरधाम फर्केपछि बस पुनः अयोध्या गएन । संघीय सरकारले बस तत्कालै काठमाडौं फिर्ता बोलायो । त्यस यता न कसैले पहल गरेका छन्, न संघीय सरकारले चासो नै देखाएको छ ।

किन ओझेलमा पर्र्यो‍‍ सहयोग रकम ?

मोदीले घोषणा गरेको आर्थिक सहयोग रकम ल्याउन जनकपुरधाम उपमहानगरपालिका निरन्तर प्रयास गरिरहेको छ । तर संघीय सरकारले पहल र सहकार्य नगर्दा सो रकम आउन सकेको छैन ।

सहयोग गर्ने भनिएको रकम प्राप्त गर्न जनकपुरधाम उप–महानगरले ५ लाख रुपैयाँ खर्च गरेर डीपीआर बनाएको छ । एक सय करोड कहाँ कहाँ खर्च गर्ने योजनासहित भारतीय राजदूतावासमा प्रस्ताव पेश गरिसकेको छ ।

दूतावासले भने आवश्यक प्रक्रिया अगाडि बढाउन आनाकानी गरिरहेको मेयर लालकिशोर साह बताउँछन् ।

उनले नेपाल प्रेससँग भने– मोदीले घोषणा गरेको रकम ल्याउन कैयौं पटक छलफल गरें । आवश्यक प्रक्रिया पु¥याएँ । दूतावासमा बुझाएको पनि कैयौं महिना बितिसक्यो । तर दूतावासका अधिकारीले प्रक्रिया अगाडि बढाउन सकेका छैन ।

उपमहानगरपालिकाले सो रकमबाट अन्तर्राष्ट्रिय राम–सीता कन्भेन्सन हल निर्माणलगायतका परियोजना अघि सारेको छ । सो रकम आउन सक्दा जनकपुरधामको विकासमा ठूलो सहयोग पुग्ने मेयर बताउँछन् । दूतावास र संघीय सरकारले पहल नगरेको उनको गुनासो छ ।

यता, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले संघीय सरकारको उदासीनताले रकम आउन नसकेको बताएका छन् । उनले भने– विदेशी सहयोग परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने हो । भारतीय पक्षले त रकम लग्न पत्राचार पनि गरेको छ । तर परराष्ट्र मन्त्रालयले चासो देखाएका छैन ।

रकम नआउँदै विवाद

मोदीले कबोल गरेको रकम आउने कुनै छाँटकाँट देखिएको छैन । तर पनि विभिन्न निकायबीच विवाद शुरु भइसकेको छ । मोदीले घोषणा गरेको रकम पाउने र खर्च गर्ने अधिकार स्थानीय सरकारको भएको विज्ञहरु बताउँछन् ।

तर त्यो रकममा जानकी मन्दिर र बृहतर जनकपुर विकास परिषद्ले पनि दाबी गरेपछि विवादित बनेको छ ।

परिषद्का अध्यक्ष शालिग्राम सिंह भन्छन्– भारत सरकारले दिने बजेट परिचालन गर्ने अधिकार परिषद्को हो । तर मेयरको बेवास्ताका कारण रकम ल्याउन सकेको छैन ।

१८० करोड रुपैयाँ बराबरको योजना परिषद्ले संघीय सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयमार्फत दूतावासमा पेश गरेको अध्यक्ष सिंहको दाबी छ । उनले ऐतिहासिक १५ दिने मिथिला माध्यमिक परिक्रमालाई लक्षित गरेर योजना बनाएको जानकारी दिए ।

उनले भने– १५ ठाउँमा परिक्रमाका श्रद्धालुलाई बस्न धर्मशाला, खानेपानी, शौचालय र भोजनालय घर निर्माणको योजना बनाएर पठाएका छौं ।

यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोशन दासले पनि मोदीले घोषणा गरेको रकममा दाबी गरेका छन् । उनले रकम खर्च गर्ने अधिकार मन्दिरको भएको तर्क गरे । तर रकम प्राप्त गर्न न कुनै योजना बनाएका छन्, न प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुर–अयोध्या जोड्ने योजना अलपत्र

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि संघीय सरकारले भगवान रामको जन्मभूमि भारतको अयोध्या र सीता जन्मभूमि जनकपुरलाई जोड्न बस चलाउने निर्णय लिए । हरियो झण्डा देखाएर मोदी र ओलीले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे ।

तर आवश्यक तयारी विना नै हतारमा निर्णय लिएर उद्घाटन गरेकै कारण बस सेवा नियमित संचालन हुन सकेन ।

‘बस सेवा’ को उद्घाटनका क्रममा आफूलाई ‘प्रधान तीर्थयात्री’ का रूपमा प्रस्तुत गरेका मोदीले ठूलो महत्वका साथ आफ्नो सम्बोधन क्रममा उल्लेख गरेका थिए । तर बस सेवा रोकिएपछि भारतीय पक्ष पनि मौन छ ।

यहाँको विकासमा संघीय सरकार सधैं बाधक बन्ने गरेको र सोही कारण बस सेवा पनि रोकिएको व्यवसायी सन्तोष साह बताउँछन् । उनले भने, ‘संघीय सरकारले न जनकपुर एयरपोर्टको स्तरोन्नति गर्न चाहेको छ, न रेल चलाउन सकेको छ ।’

जनकपुरधामबाट भारतको सीतामढी हुँदै अयोध्या पुग्न करिब १२ घण्टा लाग्ने गरेको छ । यहाँदेखि अयोध्याको दुरी ५४४ किलोमिटर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *