लुम्बिनीमा दशैंपछि सराएँको रौनकः यस्तो छ इतिहास – Nepal Press

लुम्बिनीमा दशैंपछि सराएँको रौनकः यस्तो छ इतिहास

रुपन्देही । बडादशैंको टीकापछि लुम्बिनी प्रदेशका पहाडी जिल्लामा मनाइने विशेष नाच हो सराएँ । सराएँ शब्द संस्कृतको शर (हतियार)सँग सम्बन्धित छ । संस्कृतिविद्हरुले यसको ठ्याक्कै कहिले शुरुवात आयो स्पष्ट पार्न सकेका छैनन् इतिहासमा पनि ठ्याक्कै उल्लेख छैन तर दशैं र दुर्गा पूजाको शुरुवातसँगै यसको पनि शुरुवात भएको बताउँदै आएका छन् ।

उनीहरुका अनुसार यसको प्रकृति, महत्व अनि विशेषताले यसले युद्धको पृष्ठभूमितिर लैजान्छ । इतिहासमा भएका युद्धमा विजय प्राप्तिपछि गरिने विजयोत्सवको झल्को दिन्छ यो नाचले ।

इतिहासका जानकारहरुका अनुसार देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सराएँ नाच नाचिने गरिन्छ । विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सराएँ नाचमा हतियार एकआपसमा जुधाइन्छ ।

राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ । अर्घाखाँची, गुल्मी, प्युठानमा यो नाचका लागि प्रख्यात मानिन्छ । अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, चोयगालगायतका कोटहरूमा दशैंदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ ।

गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू अर्घाको कोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोटलगायतका स्थानको नाम सराएँसँग जोडिएर आउँछ । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराएँ नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको यसका जानकारहरु बताउँछन् ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार मध्यकालमा, वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घाराज्यमा राजा जिल्ला राईले आफूले अर्घाराज्य जितेको विजयको उत्सवको रूपमा विजया दशमीको कोजाग्रत पूर्णिमाको दिनमा यो सराएँ नाच नचाउन, दहीकेरा र बक्सिस बाँड्न थालेका भनिन्छ । ‘अर्घाको टाकुराबाट प्रचलनमा आएको यो विजय नाच अन्यत्र पनि चल्यो, विस्तारित भयोे ।

सम्पूर्ण अर्घाखाँची, अधिकांश गुल्मी, पश्चिम पाल्पा, पूर्वी प्युठान तथा दक्षिणी बागलुङमा यो स्थापित भयो । केही कालसम्म पर्वत र स्याङ्जा पनि नाच्ने९खेल्ने गरिएको बुझिन्छ ।’ उनले भने–‘अर्घाको टाकुरामा कोजाग्रत पूर्णिमाको दिनमा खेलिने सराएँ अन्य शक्तिपीठहरूमा बडादशैंका दिन, एकादशी, द्वादशी, त्रयोदशी या चतुर्दशीका दिनमा खेलिने गर्छ ।’

यसको सुरुवातीका विषयमा दुई फरक मत रहेका छन् । एकथरी मत अनुसार अज्ञात समय ९परापूर्व काल०देखि अर्घामा सराय खेल्ने गरिएको भन्ने छ । यहाँबाट खाँचीकोट, प्युठान बिजुलीकोट, गुल्मी धुर्कोट, इस्मा, चोयगा तथा पाल्पामा लगेर खेल्न थालिएको भन्ने छ ।

अर्को चाँही गुरुङ्ग राजाले अर्घ दिने गरेको, १४ औं शताब्दीबाट मुस्लिम आक्रमणबाट हारेर नेपाल पसेका, करिब १५ औं शताब्दीबाट २२ से २४ से राज्य जम्मा भए, गुरुङ्ग (जाडेया राज्य चलाएका), मगर राज्य चलाएकालाई ठकुरी राज्य चलाएकाले जितेको र अर्घामा पनि जिल्ला राई भन्ने ठकुरीले आधुनिक राज्य बसाले र उनैले अर्घामा सराय शुरु गरेको आचार्य बताउँछन् । उनका तीन भाइले खाँची र धुर्कोटमा सराएँ लगेको इतिहास भेटिएको आचार्य बताउँछन् ।

इतिहासका जानकारहरुका अनुसार विसं १३८१ म भारतको दिल्लीबाट जिल्ला राई नाम गरेका राजा अहिलेको अर्घाखाँचीस्थित अर्घा आएर बसे । समथमा गीत गाउने गन्दर्भ, पूजागर्ने पुरोहित, लुगा सिलाउने परियार तथा हतियारसहित फौज लिएर आए । त्यातिबेला अर्घामै गुरुङ राजा थिए । उनीसँग लडाई जितेर १७ मौजा कब्जा गरे । बडादशैंको पूर्णिमाका दिन सराएँ निकाले ।

त्यसपछि पूर्णिका दिन अर्घाबाट सराएँ निकाल्न शुरु भयो । क्रमशः जिल्लाका अन्य दुर्गा स्थापना गरी मन्दिर बनाएर दशैंदेखि पूर्णिमासम्म सराएँ नाच निकाल्ने परम्परा शुरु भएको हो । बिस्तारै गुल्मी, प्यूठान, पाल्पा हुँदै छिमेकी जिल्लाहरुमा शुरुवात भएको पाइन्छ ।

मन्दिरबाट भगवान् बाहिर निस्कनसक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवानको रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको भनाइ छ ।

नयाँ पुस्ताले सराएँको अनुशरण गर्न नसक्दा ऐतिहासिक संस्कृति संकटमा परेको पाकापुस्ताको चिन्ता छ । पहिले पुरुषहरु मात्र खेल्ने सराएँ नाच अहिले महिलाहरु पनि सक्रियताका साथ सहभागिता हुने गर्दछन् ।

सरायँ नाच र महत्व

दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रंगीचंगीसहितका ध्वजापतकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ ।

मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीयवासी आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवान्को रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ ।

खासगरी बहुुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि यो संस्कार सुरु भएको हुन सक्छ । सरायँ नाच विशेष गरी दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच पनि हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङ जस्ता विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडको बस्तीमा यो नाच देख्न पाइन्छ । र यो एउटा खेल पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

पृथ्वीनारायण शाहको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा भुरेटाकुरे राजाहरू थिए । ती जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रूपमा लिने गरिन्थ्यो । त्यतिबेला पनि राजाहरूलाई शक्तिपीठ, कोट र मन्दिरमा विजयादशमीका वेला सरायँ नाच देखाउने चलन थियो ।

कहाँ बढी मनाइन्छ सराएँ ?

खाँचीकोट र ढुङगेचौरकोटमा त्रयोदशीका दिन, नयाँगाउँ, उलुक छत्र र अर्घातोस कोटमा दसैँका दिन, बाइगाउँ र काम्लेचौरकोटमा द्वादशीका दिन, उनायाचौरकोटमा चतुर्दशीका दिनमा, भण्डारथुम, धुर्कोट र जोगीथुमकोटमा पूर्णिमाको दिनमा, आदि ।

प्युठान बिजुवारको डल्लेमा भने तिहारपछिको पञ्चमीका दिनमा खेलिने परम्परा छ । माओवादीको सशस्त्र युद्धको समयमा केही ठाउँमा यी नाच पनि प्रभावित भए । दश वर्षको द्वन्द्वकालमा ग्रामीण परम्परागत हतियारहरु केही सरकारले केही माओवादीले लगे । रातिमा गरिने परम्परागत सांस्कृतिक गतिविधिहरू पनि रोकिए । अहिले सराएँ पुनः जगाइएको छ । माथि उल्लिखित जिल्लाहरू बाहेक रुपन्देही, कपिलवस्तु, दाङ, काठमाडौँ आदि जिल्लामा पनि खेल्न र खेलाउन थालिएको छ ।

अहिले अर्घाखाँचीको अधिकांश कोटहरुमा ठाउँमा दशैंदेखि पूर्णिमासम्म सराएँ खेलिन्छ । अर्घाखाँचीमा अर्घासँगै भण्डारथुम, मालारानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोटलगायतका कोटहरुमा । गुल्मीको चोयगा, धुर्कोट रजस्थल, अर्जे, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुर, नयाँगाउँ, पिपलधारालगायतका क्षेत्रमा ।

प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ । पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, क्ुस्ुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा खेलिन्छ । बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा अहिले हराउँदै गएको छ ।

दाङका लेखक केबी मसालले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए । प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराएँ तिहारसम्म खेलिन्छ । सराएँ हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् ।

सराएँ नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् । सराएँ नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । संस्कृतविद् घनश्याम कोइराला सराय नाच मौलिक संस्कृति भएकाले यसको संरक्षण र संम्बद्र्धन गर्न आवश्यक रहेको बताउँछन् । ‘मौलिक संस्कृति जोगाउन यसको संरक्षण र सम्वद्र्धन आवश्यक छ कसैको वक्रदृष्टि नपरोस्’– उनले भने ।

बसाई सरेसँगै तराईमा सर्यो सराएँ

पहिले पहाडी जिल्लामा मात्र गरिने यस्तो उत्सव अहिले बसाई सरेसँगै तराईका विभिन्न स्थानमा सुरुवात गर्न थालिएको छ । आफूले पहिलेदेखि गर्दै आएका शक्तिपिठहरु बनाएर रुपन्देही, कपिलवस्तु, नवलपरासी, दांगमा यस्ता नाच नाच्ने गरिन्छ । बुटवलको जितगढी दुर्गामन्दिरमा त्रयोदशीका दिन र बुटवलकै देवीनगर चौपारीमा पूर्णिमाको दिनमा सराएँ खेल्ने खेलाउने गरिन्छ । यो धूनप्रधान साङ्गीतिक नृत्यनाटिका हो । तसर्थ प्रायः गीत गाइँदैन । केही कोटमा मात्र आदिका माग्ने गरिन्छ ।

परम्परागत फलामका हतियारहरुको सट्टामा काठे हतियार प्रदर्शन गरेर खेल्न र खेलाउन थालिएको छ ।पुराना पाका पुस्ताको अभावलाई पूरा गर्नको लागि युवाहरु तम्सिएका पाइन्छन् । यसरी लोप हुन लागेको सँस्कृति नयाँ स्वरूपमा भए पनि बच्ने आशा जागेको छ । अहिले बुटवलमा होटल पौवाले १७ गते गुल्मीका कलाकारलाई बोलाएर विशेष प्रदर्शन गर्न थालेको छ ।

पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराएँ नाचको शुरूवात तराईमा सराय नाचको शुरुवात भएको जितगढी सराएँ नाच समितिका संयोजक ऋषि आजाद बताउँछन् । उनले आफ्नै सक्रियतामा बुटवलको जीतगढीमा केही वर्षयता यसकको शुरुवात गरेको र निकै धेरैले यसमा साथ दिएको बताए ।

‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि सराय नाच्छन्’ आजाद भन्छन्– ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । तर नयाँ पिंढीमा यसको जानकारी दिन नसक्दा अहिले आएर यो नाच संकटमा परेकोले आफै अगुवाई गरेर रुपन्देहीको जितगढीमा हुरु गरेको हो ।’ उनका अनुसार यसपटकदेखि दशैंपछिको त्रियादशीमा यहाँ सराय नाच नाचिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *