मेयर यादवको ‘भजनकीर्तन’ गर्ने धनुषाकाे सबैलाका वडाध्यक्षहरुमाथि प्रहरीको लाठीचार्ज – Nepal Press

मेयर यादवको ‘भजनकीर्तन’ गर्ने धनुषाकाे सबैलाका वडाध्यक्षहरुमाथि प्रहरीको लाठीचार्ज

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवविरुद्ध वडाध्यक्षहरुले आज अनौठो आन्दोलन गरेका छन् ।

वडाध्यक्षहरुले मेयर यादवको प्रतिमा बनाएर बजार परिक्रमा गरे । उनीहरु भजनकीर्तन गर्दै नगरपालिका कार्यालय पुगे । त्यहाँ मेयरको नाममा ‘कारीराम कारीराम’ भन्दै जप गरे ।

सबैला नगरपालिकामा १३ वटा वडा छन् । सबै वडाध्यक्ष समर्थक लिएर मेयर यादवविरुद्ध आन्दोलनरत छन् । उनीहरुको अनौठो शैलीको आन्दोलन हेर्नेहरुको भीड नै लागेको थियो, तर प्रहरीले लाठीचार्ज गरेपछि आन्दाेलनकारी जनप्रतिनिधिहरु तितरबितर भए ।

नेकपा माओवादीबाट निर्वाचित मेयर यादव नेता मातृका यादवका सहोदर भाइ हुन् । १३ वडामध्ये ४ वटामा माओवादीबाटै निर्वाचित वडाध्यक्ष छन्, तर उनीहरु पनि मेयरको कायैशैलीको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।

वडा २ का अध्यक्ष मुकेश पूर्वेले आफूहरुको १६ बुँदे मागको सुनुवाइ नगरी मेयर एकलौटी अगाडि बढेकाले आन्दोलन गर्नुपरेको बताए ।

उनले भजनकीर्तन गाउँदै शान्तिपूर्ण आन्दोलन गर्दा पनि मेयर यादवले प्रहरीबाट लाठीचार्ज गर्न लगाएको गुनासो गरे ।

उनका अनुसार गत वैशाख मा भएको हिउँदेसभाअघि सबै वडाध्यक्षले १६ बुँदे मागपत्र बुझाएका थिए, तर, मेयर उक्त मागलाई बेवास्ता गर्दै एकलौटी सभा गरे ।

त्यसपछि पटक पटक मेयरसँग छलफल गर्दा पनि कार्यपालिका बैठक नराखेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको वडाध्यक्ष पूर्वेले बताए ।

उनले शिक्षामा सुधार, वडाको सिफारिस वडाध्यक्षले गर्न पाउनुपर्ने, जग्गा वर्गीकरण अविलम्ब गर्नुपर्ने, समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतको मागपत्र बुझाएको बताए ।

‘विकास निर्माणको कार्यादेश लिन अधिकृतकहाँ जाँदा मेयरलाई भेट्नुस् भन्नुहुन्छ’, उनले भने, ‘मेयरलाई भन्दा अधिकृतलाई भेट्न भन्नुहुन्छ । नगरपालिकामा कुनै काम नै भइरहेको छैन ।’

माग सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “मेयर यादवको ‘भजनकीर्तन’ गर्ने धनुषाकाे सबैलाका वडाध्यक्षहरुमाथि प्रहरीको लाठीचार्ज

  1. जस्तो दाइ छ , भाइ पनि उस्तै !
    एउटै आमा बाट जन्मेको रैछन, पूर्व जंगली गुरिल्लाहरु!😄😄

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर