स्वास्थ्य मन्त्रालयकी प्रशासन सचिव गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा – Nepal Press

स्वास्थ्य मन्त्रालयकी प्रशासन सचिव गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव देवकुमारी गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा गएकी छन् ।

राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् प्रशासन सेवाका सचिव गुरागाईँ नेपाल सरकारको सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर शनिवारदेखि अनिवार्य अवकाशमा गएकी हुन् ।

पाँच वर्ष अघि उनी नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवबाट सचिवमा बढुवा भएकी थिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या तथा प्रशासन सचिवको जिम्मेवारीमा रहनु अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको जिम्मेवारीमा थिइन् । गुरागाईँ मुख्यसचिव डा. वैकुण्ठ अर्यालपछि नेपाल सरकारका विशिष्ट श्रेणीमा कार्यरत ७३ जना सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव थिइन् ।

उनी अनिवार्य अवकाशमा गएसँगै निजामती सेवाको विशिष्ट श्रेणीमा सात जना मात्रै महिला रहेका छन् । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस तथा नियुक्त भएसँगै विशिष्ट श्रेणी अर्थात् सचिव पदमा आठ जना महिला रहेका थिए । अहिले गुरागाईँ अनिवार्य अवकाशमा गएसँगै एक जना घटेर सात जना महिलामा झरेको छ ।

गुरागाईँ सचिवबाट अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवाको एक जना सचिवको पद रिक्त भएको छ ।

रिक्त रहेको पदमा अब  वरिष्ठताका आधारमा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव चूडामणि पौडेल, सुदूर पश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव डा. हरि लम्साल र कोशी प्रदेशका कामु सचिव केदारनाथ शर्माको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ ।

जसमध्ये एक जनालाई सरकारले सचिव पदमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा भएमा पौडेल नै सचिवमा बढुवा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *