दुबईमा रोजगार मेला: दक्ष कामदार पठाउन नेपाल तयार, तलब वृद्धिकाे एजेण्डा पनि उठाइयाे – Nepal Press

दुबईमा रोजगार मेला: दक्ष कामदार पठाउन नेपाल तयार, तलब वृद्धिकाे एजेण्डा पनि उठाइयाे

युएई । दुबईमा भएको रोजगार मेलामा नेपालले दक्षकामदार पठाउन रोजगारदाताले तलब बढाउनुपर्ने बिषय उठाएको छ । ने

पाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र वैदेशिक रोजगार बोर्डसँगको सहकार्य तथा नेपाली दुतावास आबुधावीको स्थानीय संयोजनमा भएको रोजगार मेलामा दक्षकामदार पठाउन नेपाल तयार भएको र त्यसका लागि नेपाली श्रमिकलाई सामाजिक सुरक्षासहित न्यूनतम तलब बढाउनुपर्ने सर्त अगाडि सारीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले युएईमा निर्माण, घरेलु, स्वास्थ्य, र सेवा क्षेत्रलाई आवश्यक पर्ने सीपयुक्त श्रमिक पठाउन नेपाल तयार भएको बताए । श्रम मन्त्री भण्डारीले भने,‘सीपयुक्त जनशक्ति उत्पादन गर्न हामी सहकार्य गर्न तयार छौं’, त्यसका लागि नेपाली कामदारको न्युनतम तलब बढाउनु पर्छ ।

मन्त्री भण्डारीले १५ दिन पहिले आफुले आबुधावी डायलगमा समेत नेपाली श्रमिकको न्यायोचित भर्ना प्रकृया र श्रम बजारको माग अनुसार श्रमिक दिने बिषय उठान गरेको दोहोराउदै रोजगारदाताले पनि श्रमिकको हित, सुरक्षा र कल्याणकारी बिषयको सुनिश्चितता गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमलाई श्रम सचिव केवलप्रसाद भण्डारी, युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्री, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, युएईका मानव संसाधन मन्त्रालयका श्रम सम्बन्ध विभाग प्रमुख अमिद आयासीले सम्बोधन गरेका थिए । कार्यक्रममा युएईका तर्फबाट आयासी सहित मानव संसाधन मन्त्रालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ अब्दुल अजीज अल शाम्शी, परराष्ट्र मन्त्रालयका पश्चिम एशिया मामिला विभाग डेस्क अफिसर खालिद अल हास्मी सहभागी थिए । कार्यक्रममा युएईमा मानव संसाधन सम्बन्धी काम गर्ने स्थानीय एजेन्सी, बिभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधि सहभागी थिए ।

श्रमिकको भर्ना प्रक्रियामा देखिएका समस्यालाई रोजगारदाता र म्यानपावर कम्पनी एकै ठाउँमा बसेर समस्या समाधान गर्नुपर्ने सहभागीहरुले बताए । त्यस्ता समस्यालाई न्युनीकरण गर्न रोजगार मेलाले सहयोग गर्ने उनीहरुको भनाइ छ ।

युएई विश्वभरका आप्रवासी श्रमिकका लागि खुल्ला श्रम बजारको रुपमा रहेकोले १७ बर्षपछि दुबईमा रोजगार मेला आयोजना गरिएको आयोजकको दावी छ । रोजगारदाता र म्यानपावरकम्पनीवीच सिधै पहुँच नहुँदा बिचौलियाहरु हाबी देखिएकाले अस्वस्थ्य प्रतिस्पर्धा भईरहेको छ, यसले श्रमिकले पाउने सेवासुबिधा देखि न्यायोचित भर्ना गर्न निकै कठिन भएको नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । लामो समयपछि रोजगार मेला आयोजना भएपनि अब भने अन्य देशहरुमा समेत यस्तै खालका कार्यक्रम आयोजना गरिने अध्यक्ष भण्डारीको भनाइ छ ।

रोजगार मेलामा ६३ वटा म्यानपावर ब्यवसायीले स्टल समेत राखेका थिए भने रेमिट्यान्स सम्बन्धी काम गर्दै आएको ग्लोबल आइएमईले समेत एउटा स्टल राखेको थियो । छोटो समयको तयारीमा १ सय भन्दा धेरै म्यानपावर व्यवसायी र रोजगारदाता कम्पनी सहभागी भएको आयोजकको भनाइ छ । दुबई मरिनामा रहेको होटल म्यारिओटमा भएको रोजगार मेलाको आजै समापन गरिएको छ ।

-उमाकान्त पाण्डे

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर