कर्मचारीको सरुवा, बढुवामा भेटी आतंक बढ्यो : अध्यक्ष ओली – Nepal Press

कर्मचारीको सरुवा, बढुवामा भेटी आतंक बढ्यो : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कर्मचारीको सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाएका छन् । एमाले सरकारमा रहँदा हटाएको यस्तो गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको अध्यक्ष ओलीले आरोप लगाए ।

सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्ती पनि भेटी ,दक्षिणाबिना काम नै नहुने गरेको उनको भनाइ छ । भेटी दक्षिणा पनि थोरै होइन भ्रष्टाचार गरेर कमाउने भन्दा पनि बढी लिने गरेको अध्यक्ष ओलीको आरोप थियो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । मन्त्रालयमा जाँदा अनुहार हेरेर व्यवहार गर्ने गरेको अध्यक्ष ओलीको भनाई थियो ।

अहिले मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन रंग हेरेर गठबन्धनको हो की होइन त्यो हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको ओलीको भनाइ थियो । एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन योग्यता र क्षमता हेरेर मात्रै काम गर्ने गरेको दाबी गरे ।

राजतन्त्र हटाएर नेपाली जनताले गणतन्त्र ल्याए पनि अहिले छोटे राजाहरुको विगविगी भएको अध्यक्ष ओलीको भनाइ थियो । एउटा छोटे राजाको विरोध गर्दा युवाहरु गेली लागेर मर्नुपर्ने अवस्था नेपालमा सुरु भएको अध्यक्ष ओलीले बताए । अहिले छोटेराजा होइन ‘छिनेमिने’ हरुको दादागिरी सुरु भएको र त्यसको अन्त्य छिटो हुनुपर्ने उनले बताए ।

अहिलेको सरकारका मन्त्रीहरुले गाउँमा आएर के भन्ने ? मन्त्री खाए, घुस खाए, कमिशन खाए भन्ने, कर्मचारी निकाले भन्ने, जनतालाई दुःख दिए भन्ने भन्दा बाहेक अहिलेका मन्त्रीहरुले केही काम नगरेको ओलीको भनाइ थियो ।

एमालेको सरकार ढलेर गठबन्धनको सरकार बनेपछि देशको ओरालो यात्रा सुरु भएको अध्यक्ष ओलीको भनाइ थियो । अध्यक्ष ओलीले भने, ‘गठबन्धन बनेकै एमालेले देश बनायो, अरुको पार्टीको अब साइनबोर्ड मात्रै रहने भयो, पार्टी साटी सकिने भयो भनेर गठबन्धन बनाएको हो ।’

सिन्धुपाल्चोक बढे राजा, छोटे राजाहरुको जिल्लाको रुपमा चिनिए पनि अब विस्तारै सिन्धुबासीले बढे र छोटे राजाहरुलाई तह लगाउने दाबी अध्यक्ष ओलीले गरे ।

अध्यक्ष ओलीले कृषि क्षेत्रको विकासका लागि विदेशमा अध्ययन गर्न चाहने कृषकलाई विदेश पठाउन सकिने समेत बताए । पाँचपोखरी थाङपाल गाउँपालिकाको सडक कालोपत्रे गर्नका लागि आज नै प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरेर ध्यानाकर्षण गराउने प्रतिबद्धता अध्यक्ष ओलीले गरे । दोस्रो चरणमा काठमाडौंमा लैजाने याङग्री र लार्केको पानी काठमाडौं लैजाने कुरामा पहिला यहाँको विकास गरेर मात्रै लैजानुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।

कार्यक्रममा पुर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले यस क्षेत्रको विकासको बजेट काटेर गलत परम्पराको सुरुवात गरेको आरोप लगाए । झण्डै १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न चार वर्ष बढी समय लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष ओलीले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीयलाई सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर