मिर्चैया अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप – Nepal Press

मिर्चैया अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।

अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो ।

आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । उपचारको क्रममा उनको बिहिवार दिउँसो मृत्यु भयो । उनको मृत्यु मिर्चैया अस्पतालकै लापरबाहीले भएको आफन्तको आरोप छ ।

अल्कालाई ब्यथा सुरुपछि बुधबार साँझ मिर्चैया अस्पताल लगिएको थियो । मृतक अल्काका पति इन्द्रजित साहले भने, ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले केयर गरेन । ढिलोगरी बाहिर लग्न भन्यो । त्यसैले घटना घट्यो । मिर्चैया अस्पतालका चिकित्सकले चरम लापरवाही गरेका छन् ।’

मृतक अल्काका आफन्त र गाउँलेले अस्पताल आगाडि प्रदर्शन गर्दै क्षतिपूर्ति र लापरबाही गरेका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेको थियो ‌। प्रदर्शनपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच प्रहरीको रोहबरमा छलफल समेत भयो । तर अस्पताल प्रशासनले चिकित्सकले लापरबाही नगरेको दावी गरेपछि कुनै सहमति भएन ।

मृतक अल्काका गाउँले अन्जय साह भन्छन्, ‘रक्तस्राव नरोकिएपछि समयमै बाहिर पठाउनु पर्थ्यो ‌। यो त लापरवाही भयो नै । उपचार पनि डाक्टरको सट्टा कमपाउण्डरले गरेका थिए । तर अस्पताल प्रशासनले गल्ती मान्न तयार छैन ।’मृतक परिवारलाई अस्पतालले क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ ।

अस्पतालकी डा। सरिका गोइत भन्छिन्, ‘अल्काको नोर्मल डेलेभरी भयो । बच्चा ठिक छ । डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ । उहाँको रक्तस्राव रोकिएन । यस्तो अबस्थामा आइसियूमा राख्नुपर्छ । तर यहाँ आइसियू छैन । त्यसैले बाहिर लग्न सुझाव दिएका थियौं ।’

ुविराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा अल्काको मृत्यु भएको उनको आफन्तबाटै थाहा पाए,ु डा। गोइतले भनिन्, ‘विराटनगर लग्ने क्रममा बोदेबर्साइनमा रोकिएको थियो । त्यहांको पनि कुनै क्लिनिकमा देखाएको रहेछ । त्यहाँ के गर्यो?गरेन थाहा भएन ।’

उनका अनुसार डेलेभरी भएपछि केहिलाई प्राइमरी पिपिएस (पीपीएस) (पाठेघर खुमच्याउन नसक्ने) समस्या हुन्छ ‌। यही समस्याका कारण अल्काको मृत्यु भएको हुनसक्छ । उपचारमा चिकित्सकको लापरवाही छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *