रुसी सेनामा भर्ती भएकाे दुई महिनामै मारिए हरि, शाेक छायाे गाउँभरि – Nepal Press

रुसी सेनामा भर्ती भएकाे दुई महिनामै मारिए हरि, शाेक छायाे गाउँभरि

पोखरा । स्याङ्जा वालिङ नगरपालिका १४ का वडाध्यक्ष राजु कुँवरलाई मङ्गलवार दिउँसो परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाबाट फोन आयो । सोही वडाका २३ वर्षीय हरिप्रसाद अर्यालकाे रुसमा मृत्यु भएको खबर सुनाइयो ।

सुरुमा त वडाध्यक्षले पत्याइनन् । उनले आधिकारिक डकुमेन्ट मगाए । तर, परराष्ट्र मन्त्रालयले पठाएन । पुनः वडाध्यक्ष कुँवरले मन्त्रालयमा फोन गरे । मन्त्रालयले औपचारिकरूपमा आएको पत्रमा अन्य २ जनाको नाम पनि भएकाले पठाउन नमिल्ने जानकारी गरायो । त्यतिबेलासम्म गाउँमा गाइँगुइँ हल्ला चलिसकेको थियो ।

त्यसअघि नै हरिप्रसादकी भाउजूले वडाध्यक्ष कुँवरलाई देवरकाे अवस्था बुझ्न आग्रहसमेत गरेकी थिइन् ।

‘सम्पर्क हुन छोडेपछि हरिप्रसादको भाउजूले अवस्था बुझ्न पत्र पठाउन भन्नुभएको थियो । मैले वडाबाट हुँदैन, मन्त्रालय स्तरबाट पठाउनुपर्छ भनेको थिएँ,’ वडाध्यक्ष कुँवरले भने । मन्त्रालयको जानकारीपछि वडाध्यक्षले परिवारलाई बताए ।

हरिप्रसादको घरमा वृद्ध बाआमा छन् । बुधबारमात्रै हरिप्रसादको मृत्युको खबर उनीहरूलाई सुनाइएकाे थियाे ।

रुसी सेनामा भर्ती भएका अर्यालले डिसेम्बर ४ मा आफ्नो सामाजिक सञ्जालमा ‘यस्तै छ जिन्दगी बाँचे भेट, मरे त त्यत्तिकै’ लेखेर भिडियो पोस्ट गरेका थिए । उनकाे भिडियोबाट युद्धमा जान लागेको अनुमान लगाउन सकिन्थ्यो ।

त्यसपछि उनीसँग परिवारको सम्पर्क भएन । ‘डिसेम्बर ४ मा युद्धमा जान लागेको भिडियो आएको थियो । त्यति बेलासम्म हाम्रो कुराकानी पनि हुन्थ्यो । त्यसपछि कुरा भएको थिएन,’ अर्यालका आफन्त बन्द्री अर्यालले भने ।

युद्धमा जान लागेको भिडिओ राखेर सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरू आत्तिए । धेरैले हरिप्रसादको युद्धमा मृत्यु भएको अनुमान गरेका थिए ।

तन्नेरी उमेरमा नेपाली सेनामा भर्ती भएका हरिप्रसादले ३ वर्ष नपुग्दै सेनाको जागिर छोडेका थिए ।

बन्द्रीले भने, ‘सानै उमेरमा जागिर खायो । साथीहरू अमेरिका अष्ट्रेलिया गए । सेनाको कमाइले केही हुँदैन भनेर ३ वर्ष नपुग्दै जागिर छाड्यो ।’

बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेका उनी भिसा नलागेपछि रन्थनिएका थिए । त्यसपछि उनले साउथ अफ्रिकादेखि कम्बोमा सुरक्षा गार्डमा जाने प्रयास गरेका थिए ।

धेरै ठाउँ धाइसकेका हरिप्रसादलाई रुस जाने अफर आयो । अरू ठाउँभन्दा छिटो हुने भनेपछि उनले रुस जाने तयारी गरे । गत कात्तिक ३ गते उनी एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस गएका थिए ।

‘एजेन्टमार्फत दुबई हुँदै रुस गएको हो । ठ्याक्कै कति लाग्यो त भनेन । तर, ७ लाख यहाँ बुझाएको र रुस गएपछि सेनाको क्याम्पभित्र छिर्न १५ सय डलर बुझाएको भनेको थियो,’ अर्यालले भने ।

अर्यालका अनुसार हरिप्रसाद गएको ५ दिनमै रुसी सेनामा भर्ती भएका थिए । लगत्तै उनले आर्मीको पोसाक लगाएको तस्बिर सेयर गरेका थिए ।

‘मेडिकलमा फिट भए भर्ती गरिहाल्ने रैछ । अझ सेनाको जागिर छोडेको उसलाई भर्ती हुन सजिलो पनि भयो । हप्ता १० दिन तालिम भयो । त्यसपछि युद्धमा खटाएको थियो,’ उनले भने, ‘हामीले यति बेला खतरा छ, नजाऊ भन्दाभन्दै गयो । उ रिस्क नलिएसम्म प्रगति हुँदैन भन्थ्यो ।’

यसअघि स्याङ्जा पुतली बजार नगरपालिका-५ का प्रितम कार्कीको पनि रुस-युक्रेनको युद्धमा मृत्यु भएको थियो । कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो रोजेका थिए । उनकाे असामयिक मृत्युकाे खबरले गाउँ नै शाेकाकुल बनेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर