हात्तीवन किराँत पूजाघरमा साकेलाको रमझम (तस्बिरहरू) – Nepal Press

हात्तीवन किराँत पूजाघरमा साकेलाको रमझम (तस्बिरहरू)

काठमाडौं । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।

यसैक्रममा ललितपुरको हात्तीडाँडास्थित किरात घरमा साकेला नाचिएको छ । उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन् ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *