प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै – Nepal Press

प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प र त्यसको प्रभाव, अवस्था र आगामी कार्य योजना तय गर्नका लागि दुई उपप्रधानमन्त्री एवम सबै मन्त्री सदस्य रहने परिषद्को बैठक बस्न लागेको हो ।

बिहान साढे नौ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा सिंहदरबारमा बैठक बोलाइएको उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

बैठकमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्पको राहत, उद्धार र अवस्थाबारे, छलफल गरिने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त सदस्य सचिव धुब्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा प्रभावितको पहिचान र पुर्नस्थापनबारे तथा खोज उद्धार एवम राहतका सम्बन्धमा स्रोत व्यवस्थापनबारे पनि छलफल हुनेछ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा तीनको व्यवस्था अनुसार विपदु व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहने व्यवस्था छ । समितिको सदस्यमा सबै मन्त्री, प्रतिनिधि सभाको विपक्षी दलको नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधान सेनापती, गृह मन्त्रालयका सचिव रहेको व्यवस्था छ ।

यस्तै विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट कम्तीमा एक जना महिलासहित परिषद्बाट मनोनित तीन जना सदस्य रहने व्यवस्था छ भने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर