नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’, सञ्चालनमा आउन अझै डेढ वर्ष कुर्नुपर्ने (भिडिओ) – Nepal Press

नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’, सञ्चालनमा आउन अझै डेढ वर्ष कुर्नुपर्ने (भिडिओ)

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो ।

तर, कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो । ब्रेक थ्रू उत्सव मनाउन भौतिक पूर्वाधारमन्त्री प्रकाशज्वालासहितका अधिकारी पुगेका थिए ।

सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आज रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सकिने छ । नागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणको ढिलाइ हुनुको कारण मुआब्जा र लकडाउनको कारण हो । हालसम्म ६६ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने बाँकी काम अब ढेड वर्ष भित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउने छ । मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ ।’

आयोजनाले जग्गा अधिग्रहणबापत साढे ५ अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलब १३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलब ४५ किमि हुनेछ ।

निर्माण सम्झौताअनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

सुरुङमार्ग बनेपछि नौबिसे-थानकोटको झण्डै ८ किलोमिटर लम्बाईसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ । कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।

 जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनीबीच गत वर्ष निर्माण सम्झौता भएको थियो ।
धादिङको धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा निस्किने छ ।

तस्बिरहरु : गौरव पौडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर