शिक्षामा विदेशिने पैसा लगानी गरे नेपालमै विश्वस्तरीय शैक्षिक संस्था बन्छन् : उपकूलपति सिंह – Nepal Press

शिक्षामा विदेशिने पैसा लगानी गरे नेपालमै विश्वस्तरीय शैक्षिक संस्था बन्छन् : उपकूलपति सिंह

काठमाडौं । हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थी विदेशिने क्रम रोक्न नेपालकै शैक्षिक संस्थाहरुलाई अब्बल बनाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंहले बताएका छन् ।

मोर्गन इन्टरनेसनल कलेजमा कक्षा-११ मा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै राम्रा शैक्षिक संस्थाहरुलाई विशेष सहयोग उपलब्ध गराएर नेपाली विद्यार्थी विदेशिने रोक्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

मोर्गन इन्टरनेसनल कलेजले शुक्रबार नवआगन्तुक विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

मोर्गन इन्टरनेसनल कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानून अध्ययनका लागि करिब एक हजार विद्यार्थी भर्ना भएको कलेज प्रशासनले बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले भने, ‘अस्ट्रेलिया र जापानमा तेस्रो ठूलो संख्या नेपाली विद्यार्थीको छ । विदेशमा अध्ययनको नाममा खर्बौै रूपैयाँ विदेश पठाइरहेका छौं । त्यो लगानी नेपालको शैक्षिक क्षेत्रमा हुने हो भने विश्वस्तरीय शैक्षिक संस्था नेपालमै बन्न सक्छ ।’

तर, पछिल्ला दिनहरुका निजी क्षेत्रको प्रयासमा नेपालमा क्रमशः लोभलाग्दा शैक्षिक संस्थाहरु बन्न थालेको उनले बताए ।

नेपालको शिक्षा क्षेत्रले उल्लेख्य प्रगति गर्न नसक्नुको दोष प्राध्याकपहरुले पनि लिनुपर्ने सिंहले बताए ।

‘नेपालका प्राध्यापकमध्ये ५ प्रतिशतभन्दा कम मात्रै सिर्जनशिल छन् । नेपालका १४ वटा विश्वविद्यालयमध्ये कुनैले पनि पेटेन्ट दर्ता गराउन सकेको छैन । विकसित देशका लाखौ लाख पेटेन्ट दर्ता छन्’, सिंहले भने ।

नेपालका लागि योग्य विद्यार्थी तयार गर्न यहीँका शिक्षण संस्था बलियो बनाउनुपर्ने उनले बताए ।

उनले मध्यपश्चिम विश्वाविद्यालय गर्व गर्न लायक विश्वविद्यालयको रुपमा स्थापित भइरहेको सिंहले बताए । विश्वविद्यालयमा अहिले ४७ वटा प्रोजेक्ट सञ्चालनमा रहेको र ती सबै सम्पन्न हुने क्रममा रहेको उनले बताए ।

‘नेपालका विश्वविद्यालयमध्ये सबैभन्दा बढी पु्ँजीगत खर्च गर्नेमा मध्यपश्चिम विश्वविद्यालय पहिलो हो । त्यसबाहेक, हामीले अनुसन्धान र विकासमा कुल बजेटको १० प्रतिशत छु्टट्याउने गरेका छौं’, उनले भने ।

मोर्गन इन्टरनेसनल कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै उपकुलपति सिंहले कलेजको प्रशंसा गरेका छन् ।

मोर्गन इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले मोर्गनका दर्जनौ विद्यार्थीले हरेक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको प्रवेश परीक्षामा नाम निकाल्नुले नै यसको गुणस्तर प्रमाणित गरेको बताए ।

कलेजले सबै खालका विद्यार्थीलाई भर्ना लिएर उच्च माध्यामिक शिक्षा परिषदको परीक्षमा सबैलाई उत्कृष्ट नतिजा दिलाउँदै आएको डा. भण्डारीले बताए ।

कलेजले अभिमुखीकरण कार्यक्रममार्फत कक्षा ११ र १२ मा अध्ययन गर्दा विद्यार्थीले ध्यान दिनुपर्ने विषय र दुई वर्ष राम्ररी अध्ययन गर्दा प्राप्त हुन सक्ने अवसरहरुका बारेमा विद्यार्थीलाई जानकारी गराएको थियो ।

मोर्गन इन्टरनेसनल कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

स्नातक तहमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर इन इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस), ब्याचलर अफ आर्टस् अन्तर्गत सोसल वर्क लगायतका विषय अध्यापन भइरहेको छ ।

स्नातकोत्तर तहमा कलेजले मास्टर्स अफ बिजनेस स्टडिजको सम्बन्धन लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर