युवासंघको नेतृत्व सर्वसम्मत घोषणा गर्ने तयारी, अध्यक्षमा क्षितिज र महासचिवमा सुमन आउन सक्ने – Nepal Press

युवासंघको नेतृत्व सर्वसम्मत घोषणा गर्ने तयारी, अध्यक्षमा क्षितिज र महासचिवमा सुमन आउन सक्ने

रुपन्देही । बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि सर्वसम्मत नेतृत्व घोषणाको अन्तिम तयारी भएको छ ।

बुधवार बिहानसम्म अध्यक्षसहितको अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि पार्टी नेतृत्व सर्वसम्मतका लागि पहलमा लागेको थियो ।

निर्वाचन समितिले निर्वाचनको सबै तयारी पूरा गरेपनि बुधवार राती नेता महेश बस्नेत, राजीव पहारीको पहलमा सर्वसम्मतको थालनी भएको हो ।

बुधवार राती साढे ३ बजेसम्म यसका लागि पहल गरिएको थियो । बिहीबार बिहान धेरै प्रतिनिधिहरू हिँडिसकेकाले अब निर्वाचन हुने सम्भावना छैन ।

निर्वाचन प्रक्रिया लम्बिएपछि पूर्वनिर्धारित समयमा महाधिवेशन नसकिने भएकाले सर्वसम्मत गर्न पहल थालिएको सम्बद्ध नेताहरूको भनाइ छ ।सोमबारदेखि शुरु भएको बन्द सत्र मङ्गलवार राति सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।

नेतृत्वले सर्वसम्मतका लागि निरन्तर पहल गरिरहँदा मतदान प्रक्रिया पछाडि धकेलिएको निर्वाचन अधिकृत, अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

नेतृत्व सर्वसम्मत बनाउन बुधवार राती विधान संशोधन गरेर उपाध्यक्षको पद थपिएको छ । विधान संशोधन गरेर ३ उपाध्यक्षलाई ७ बनाइएको छ, सचिवको संख्या घटाइएको छ, यो सर्वसम्मतको लागि गरिएको हो, अब निर्वाचन हुने सम्भावना छैन– सर्वसम्मतको पहल गरेका एक नेताले भने ।

उनका अनुसार संघको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरीलाई जिम्मेवारी दिनेगरी तयारी भएको छ । अधिकांश पदमा बुधवार राती नै तयारी गरेपनि केही जिल्लाको केन्द्रीय सदस्य मिलाउन बाँकी रहेकाले बिहीबार बिहानसम्मका लागि समय थपिएको हो ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदवारी दिएका छन् । क्षितिज थेबेको प्यानलबाट महासचिवमा सुमन पुरी उम्मेदवार छन् भने रावलको प्यानलबाट महासचिवमा अञ्जना अधिकारी उम्मेदवार बनेकी थिइन् ।

त्यसैगरी खुल्ला उपाध्यक्षमा कृष्णहरि कसी, प्रकाश गौतम र विष्णुहरि त्रिपाठीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा सीता सुवेदी र सुमित्रा बोगटी, समावेशी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ र अमित लामा, महासचिवमा सुमन पुरी र अञ्जना अधिकारी, उपमहासचिवमा प्रकाश लामिछाने, कुबेर अधिकारी, रमेश तिवारी र महाराज गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी अन्य पदाधिकारी, आयोग तथा सदस्यहरूमा दुईभन्दा धेरै उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवारी तालिकामा उल्लेख जनाइएको छ ।

अनुशासन आयोग सचिवमा राजबहादुर शाही र राजन नेपाली, लेखा आयोग प्रमुखमा दिलीप थिङ र सन्तोष चौलागाई, लेखा आयोग उपप्रमुखमा हरिवंश भण्डारी र नानीराम तिवारी, लेखाआयोग सचिवमा रुमेश कटुवाल र प्रविण बोगटी, निर्वाचन आयोग प्रमुखमा सम्पन्न श्रेष्ठ, शिवराज रिमाल र बलराम बेलवासे, निर्वाचन आयोग उपप्रमुखमा नितेश रावल, लिलबहादुर जिसी र रामबहादुर छतकुली र प्रदेश सचिवहरूमा पनि अवश्यक भन्दा धेरै उम्मेदवारी परेको छ ।

उम्मेदवारी परेका अधिकांश पदहरूमा सहमति भइसकेको र केही समयमा नयाँ नेतृत्वको घोषणा गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर