चोरको पत्र पढेर भावुक बने पसले, प्रहरी बोलाए तर मुद्दा दर्ता गराएनन् – Nepal Press

चोरको पत्र पढेर भावुक बने पसले, प्रहरी बोलाए तर मुद्दा दर्ता गराएनन्

काठमाडौं । गत जनावरी २३ गते भारतको राजस्थानमा रहेको एक मिठाई पसलमा चोरी भयो । भारतीय सञ्चारमाध्यम लल्लनटपका अनुसार सो पसलबाट चोरले करिब ७ हजार भारु नगद र केही मिठाईको चोरी गरेका थिए ।

रातको समयमा भएको उक्त चोरीबारे पसलका मालिकलाई भोलिपल्ट मात्र थाह भयो । उनले आफ्नो पसलमा चोरी भएको भनेर प्रहरीलाई समेत बोलाए । यद्यपि प्रहरीको आगमन पश्चात् उनले आफ्नै पसलमा एक पत्र भेटे । उक्त पत्र अरू कसैले नभई चोरले लेखेको थियो ।

चोरको पत्र पढिसकेपछि पसले भावुक बने र अन्ततः प्रहरीलाई आफूले कुनै ‘कम्प्लेन’ नगर्ने जानकारी गराएर फिर्ता पठाई दिए । उक्त पत्रमा चोरले आफूले किन उक्त चोरी गरे भन्ने विषयमा कुरा गर्दै आफूलाई पसलेको अतिथि भनेर समेत सम्बोधित गरेको छ ।

यस्तो छ चोरले लेखेको पत्र :

नमस्कार महोदय, म राम्रो मन भएको मान्छे हुँ। म तपाईँको पसलमा चोरी गर्न होइन तर आफ्नो इच्छा पूरा गर्न पसेको हुँ। मैले तपाईँको पसलको माथिबाट तीनवटा इँटा निकालेर भित्र पसेँ, त्यो पनि खानका लागि मात्र । मैले हिजो देखी केही खाएको थिएन त्यसैले म चोरी गर्न नभई आफ्नो भोक मेटाउन मात्र यहाँ पसेको हुँ ।

मलाई थाह छ तपाई पनि गरिब हुनुहुन्छ त्यसैले सान्त्वना दिनका लागि यो पत्र लेख्दै छु । यहाँ छिर्दै गर्दा मेरो खुट्टामा अलिकति चोट लागेको छ सोही कारण यो चोटको भरपाई पनि तपाईँले नै गर्न पर्ने हुन्छ त्यसैले मैले तपाईँको केही नगद पनि लिएर जाँदै छु ।

मैले तपाईँको पसलको धेरै केही खाएको छैन। दुई टुक्रा सेतो मिठाई र दुई टुक्रा आगरा पेठा मात्र खाएको छु । ‘सेव’ भने मैले भेटाउन सकिन ।

र एउटा अन्तिम कुरा, पुलिसलाई खबर नगर्नुहोला । किनकि पुलिस आएर पनि केही गर्न सक्दैन, उल्टो पैसा लिनेछन्।

पुलिसको ‘बा’ सँग पनि मलाई समात्ने हिम्मत छैन। तिनीहरूले म जीवनभरि तपाईँप्रति आभारी रहनेछु, तपाईँले मेरो धेरै सेवा गर्नुभयो।

तपाईँको अतिथि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर