‘सुनकेशरी’पछि हरर फिल्ममा ऋचा शर्माको दोस्रो परीक्षा, यसपालि तर्सेलान् त दर्शक ? (भिडिओ) – Nepal Press

‘सुनकेशरी’पछि हरर फिल्ममा ऋचा शर्माको दोस्रो परीक्षा, यसपालि तर्सेलान् त दर्शक ? (भिडिओ)

काठमाडौं । प्रेम र मनोरञ्जनमा आधारित चलचित्रहरु चल्न मुस्किल नेपाली सिने क्षेत्र ‘हरर’को विधामा त झन् धेरै पछाडि छ । नेपालमा बनेका अधिक ‘हरर’ सिनेमाहरु डरलाग्दाभन्दा हाँसउठ्दा भएको भनेर कमेडियनहरुले नै ट्रोल गर्ने गरेका छन् ।

अहिलेसम्म बनेका हरर सिनेमाहरुले हलमा पानी पनि भन्न पाएका छैनन् । उच्च प्रविधिको अभाव, कमजोर निर्देशकीय पक्ष र हरर विधाप्रतिको कमजोर ज्ञानले हरर चलचित्रहरु सोचेभन्दा माथि नउठेको धेरैको धारणा छ ।

यही आम मनोविज्ञानबीच आउँदो पुस २२ गते रिलिज हुँदैछ, हरर साइकोलोजिकल ड्रामा ‘चि मुसी चि–ईभन डेड डिजायर बिलङ्गिङ्स’ । भारतीय दम्पती मिर्हाना जेम्स र यस सैनीले मिलेर निर्देशन गरेको यस चलचित्रमा कलाकारहरुको जम्बो टीम नै छ । एमी स्टुडियोको प्रोडक्शनमा बनेको चलचित्र रिन्जु केसी र अरुण चक्रवर्तीले निर्माण गरेका हुन् ।

चलचित्रमा अभिनेत्रीहरु प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र अभिनेताहहरु आयुषमान देशराज जोशी, रवीन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्ती र आरपी पोखरेलको अभिनय देख्न सकिनेछ ।

सत्य घटनाबाट प्रेरित चलचित्र ‘चि मुसी चि’ ले छोरी पाउने आशमा छोराको बलि दिएको कथालाई पर्दामा उतारेको छ । यस चलचित्रले नेपाली समाजमा ‘हरर’ प्रति रहेको दर्शकको निराशामा एउटा उज्यालो थप्ने र दर्शकको मन जित्नेमा टीम विश्वस्त देखिन्छ । चलचित्रमा यसपटक भने उन्नत प्रविधिको प्रयोग गरिएको र दर्शकको स्वादअनुसारको चलचित्र बनेको चलचित्रकी अभिनेत्री ऋचा बताउँछिन् ।

ऋचाले यसअघि ‘हरर’ फिल्म सुनकेशरीमा अभिनय गरेकी थिइन् । तर, त्यस चलचित्रले न दर्शक तान्न सक्यो न त गतिलो समीक्षा पायो । फेरि एकपटक उनले आफूलाई हरर फिल्मको परीक्षामा उतार्दैछिन् । के यसपालि उनी सफल होलिन् ? भूतको चलचित्र हेर्न जाँदा कमेडी भयो भनेर फर्कने दर्शकहरुलाई ‘चि मुसी चि’ले जिरिङ्ग पार्ला या नपार्ला ? त्यो भने पुस २२ गतेले बताउनेछ ।

यसै हरर चलचित्र ‘चि मुसी चि’मा आधारित रहेर अभिनेत्री ऋचा शर्मा र अभिनेता राजन अधिकारीसँग नेपाल प्रेसले गरेको भिडियो कुराकानी-

भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *