कतार विश्वकपमा एसिया र अफ्रिकाको हार शृंखला, ११ टोलीमा कसले हात पार्ला पहिलो जित ? – Nepal Press

कतार विश्वकपमा एसिया र अफ्रिकाको हार शृंखला, ११ टोलीमा कसले हात पार्ला पहिलो जित ?

दोहा। कतार विश्वकपमा सहभागी ३२ टोलीमध्ये ११ टोली एसिया र अफ्रिकाका छन्। एसियाका ६ र अफ्रिकाका ५ टोलीले जारी विश्वकप खेलिरहेका छन्।

तर यी दुवै महादेशका टोलीहरुलाई जित हात पार्न मुस्किल  परिरहेको छ, बराबरीसमेत खेल्न सकेका छैनन्। एसियाबाट कतार, दक्षिण कोरिया, इरान, जापान, साउदी अरब र अस्ट्रेलिया सहभागी छन् भने अफ्रिकाबाट क्यामरुन, घाना, सेनेगल, मोरक्को र ट्युनिसियाको सहभागिता रहेको छ।

विश्वकप इतिहासमा एसियाली र अफ्रिकी टोली सेमिफाइनलसम्म पुगेको इतिहास छ, तर एकपटक मात्र। सन् २००२ मा आयोजित विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। अफ्रिकी टोली भने क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेका छैनन्। जारी विश्वकपमा पनि यी दुवै महादेशका टोलीको सुरुवाती संकेत राम्रो देखिएको छैन।

उद्घाटन खेलमा आइतबार इक्वेडरले घरेलु टोली कतारलाई २-० गोलले हरायो। सोमबार इङ्ल्यान्डले इरानलाई ६-२ गोलले पराजित गर्‍यो भने नेदरल्यान्ड्ससँग भएको खेलमा सेनेगल २-० गोलले पराजित भयो। अब यी दुई महादेशका दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, ट्युनिसिया, घाना, साउदी अरब, क्यामरुन  र  मोरक्कोले पहिलो खेल  खेल्न बाँकी रहेको छ।

मंगलबार साउदि अरबले अर्जेन्टिना, अस्ट्रेलियाले फ्रान्स र ट्युनिसियाले डेनमार्कको सामना गर्दै छ। चार वर्षअघि आयोजित विश्वकपमा एसिया र अफ्रिकाबाट जापानले मात्र पहिलो चरण पार गर्न सकेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर