एमबाप्पेलाई अब कसले रोक्ला ? – Nepal Press

एमबाप्पेलाई अब कसले रोक्ला ?

काठमाडौं । पछिल्लो दशक विश्व फुटबलमा दुई खेलाडीको जगजगी रह्यो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीबीच मात्रै एक दशकभन्दा बढी समय हरेक वर्ष को सर्वोत्कृष्ट रहने भन्ने लडाइँ चल्यो ।

रोनाल्डोले पटकपटक भन्दै आएका छन्- विश्व फुटबलमा यस्तो प्रतिस्पर्धा फेरि नरहन सक्छ । कतारमा हालसालै सम्पन्न विश्वकपले रोनाल्डो र मेस्सी दुवैको विश्वकप करियर समाप्त भएको स्वयं उनीहरुले बताइसकेका छन् ।

पछिल्ला चार वर्षमा दुईपटक फिफा वर्ष खेलाडी भएका रोबर्ट लेवान्डोस्कीले पनि सायदै अब अर्को विश्वकप खेल्नेछन् । लुका मोड्रिचले विश्वकपलाई ‘बाई बाई’ भनिसकेका छन् । सायद अबका एक दुई वर्षमा यी चारै जना खेलाडीले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट बिदा लिइसकेका हुनेछन् । त्यसपछि मेस्सी र रोनाल्डोको विरासत कसले थाम्ला त ?

पछिल्ला प्रदर्शनहरुले एक खेलाडी केलियन एमबाप्पे हुने संकेत गरिसकेको छ । उनकै महत्वपूर्ण प्रदर्शनमा फ्रान्सले चार वर्षअघि विश्वकप जितेको थियो । उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो किशोर खेलाडी बनेका थिए । प्रतियोगितामा उनले सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जिते ।

कतारमा सम्पन्न विश्वकपमा २३ वर्षीय एमबाप्पेकै प्रेरणामा फ्रान्स फाइनल पुग्यो । उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएपछि फ्रान्स उपाधि रक्षा गर्न असफल बन्यो । तर, यो खेलमा ह्याट्रिक गर्दै एमबाप्पे विश्वकप इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने केवल दोस्रो र सन् १९६६ पछि पहिलो खेलाडी बने ।

प्रतियोगितामा ८ गोल गर्दै उनले सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पनि जितेका छन् । फ्रान्सको असफलतामा सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले आफ्नो विश्वकप सपना पूरा गरे । अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

मेस्सीले आफूलाई सर्वकालीन महान खेलाडीको रुपमा प्रस्तुत गरिरहेका वेला विश्व फुटबलले नयाँ पुस्ताका होनहार खेलाडीलाई एउटै मञ्चमा देख्ने अवसर पायो, तुलना गर्ने मौका मिल्यो । मेस्सीले पाँचवटा विश्वकपमा गरेका १३ गोल भेट्न एमबाप्पे अब एक गोलले मात्र पछाडि छन् ।

उनले दुईवटा विश्वकपमा १२ गोल गरिसकेका छन् । यही रफ्तारमा फ्रान्स अगाडि बढे सम्भवतः एमबाप्पेले चार वर्षपछि हुने अर्को विश्वकपमा मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वकालीन सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमान बराबरी वा तोड्न सक्नेछन् । क्लोसको नाममा १६ गोलको कीर्तिमान छ ।

एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपछि पेलेले भनेका छन्, ‘मेरो साथी एमबाप्पे, फाइनलमा चार गोल गरेका छौ । फुटबलको भविष्यलाई हेर्न पाउनु हाम्रा लागि पुरस्कार हो ।’

एमबाप्पेले लगातार विश्वकपमा फ्रान्सलाई फाइनल पुर्‍याए पनि बेलोन डीआर वा फिफा वर्ष खेलाडीजस्ता व्यक्तिगत सर्वोत्कृष्ट वर्ष फुटबलर अवार्ड जित्न सकेका छैनन् । यसमा क्लब फुटबलमा उनी आबद्ध पीएसजीले च्याम्पियन्स लिग जस्ता प्रतियोगितामा उपाधि जित्न नसक्नु कारण हो ।

नेमार र मेस्सीजस्ता खेलाडी रहेको पीएसजीमा रहेका एमबाप्पे फ्रान्सको घरेलु लिग फुटबल लिग वानका पछिल्लो चार सिजनका सर्वाधिक गोलकर्ता हुन् । यो सिजन पनि उनी लिड गरिरहेका छन् । उनले युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि जित्न सकेका छैनन् ।

व्यक्तिगत अवार्डमा खेलाडी आबद्ध रहने क्लब र राष्ट्रिय टोली दुवैले प्राप्त गर्ने नतिजाले ठूलो अर्थ राख्छ । नयाँ पुस्ताका खेलाडीका रुपमा एमबाप्पेलाई सबैभन्दा बढी चुनौती दिन सक्ने कोही खेलाडी देखिएका छन् भने तत्कालका लागि ती एर्लिङ हालान्ड हुन् । नर्वेका यी खेलाडी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

बुन्डेस लिगमा रोबर्ट लेवान्डोस्कीलाई कडा टक्कर दिएका हालान्डलाई भित्र्याउनुको पछाडि मुख्य कारण म्यान सिटीको युरोपियन च्याम्पियन्स लिग जित्ने सपना हो । २२ वर्षका हालान्डसँग बलियो राष्ट्रिय टोली नरहे पनि उनीसँग च्याम्पियन्स लिग जिताउन सक्ने क्लब रहेको छ । यो सिजन हालान्ड युरोपियन गोल्डेन बुटको दौडमा निकै अगाडि छन् ।

उल्लेखनीय के छ भने मेस्सीले विश्व च्याम्पियन सपना पूरा गर्नुअघि ११ पटक घरेलु लिग, ४ पटक युरोपियन च्याम्पियन्स लिग र तीनपटक क्लब विश्वकप जितेका थिए । उनी ६ पटकका युरोपियन गोल्डेन बुट विजेता हुन् । स्पेनिस ला लिगाको ८ सिजनका सर्वाधिक गोलकर्ता र ६ सिजनका सर्वोत्कृष्ट खेलाडी हुन् मेस्सी ।

यस्तै रोनाल्डोले ७ पटक घरेलु लिग, ५ पटक युरोपियन च्याम्पियन्स लिग र तीनपटक क्लब विश्वकप जितेका छन् । चारपटकका युरोपियन गोल्डेन बुट विजेता उनी तीन सिजन ला लिगाका सर्वाधिक गोलकर्ता रहेका छन् ।

रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले ११८ गोल गरेका छन् । मेस्सीले ९८ गोल गरेका छन् । च्याम्पियन्स लिगका पनि रोनाल्डो सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले १४० गोल गरेका छन् । मेस्सीको गोल संख्या १२९ रहेको छ ।

विश्व क्लब फुटबलमा सन् २००८ देखि २०१८ सम्म मेस्सी र रोनाल्डोको मात्र दबदबा रहेको थियो । फिफा वर्ष खेलाडी अवार्ड जितेर मोड्रिचले सन् २०१८ मा उनीहरुको एकछत्र राज तोडेका थिए ।

एमबाप्पे र हालान्ड दुवैले हालसम्म वार्षिक रुपमा दिइने अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सकेका छैनन् । मेस्सी र रोनाल्डोको विरासत थाम्न उनीहरुलाई पक्कै पनि सजिलो हुनेछैन । त्यसबाहेक समयक्रममा जन्मिने र तिखारिने अरु खेलाडीहरु पनि उनीहरुको यात्रामा चुनौती बन्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर