रुपन्देही ५ : सदाबहार उम्मेदवार शाह र नयाँ अनुहार घिमिरेबीच कडा टक्कर – Nepal Press

रुपन्देही ५ : सदाबहार उम्मेदवार शाह र नयाँ अनुहार घिमिरेबीच कडा टक्कर

रुपन्देही । नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नं ५ मा लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आएका छन् । पार्टीभित्र कुनै निर्वाचन जित्न नसकेका शाहले संसदीय निर्वाचन भने आश्चर्यजनक तरिकाले जित्दै आएका छन् ।

उनी पार्टी केन्द्रीय सदस्य दुई पटक र प्रदेश अध्यक्षमा एकपटक पराजित भएका छन् । शाह यसअघि पनि आन्तरिक प्रतिस्पर्धामा कहिल्यै अगाडि आउन सकेनन् । यसकपटक पनि रुपन्देही ५ मा उम्मेदवार रहेका शाह नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनीवविरुद्ध एमाले-राप्रपा-जसपा गठबन्धनले एमालेका वासुदेव घिमिरेलाई प्रतिस्पर्धामा पठाएको छ ।

निर्वाचनको मिति नजिकिएसँगै शाह र घिमिरेले प्रचार अभियानलाई तीव्र बनाएका छन् । शाह र घिमिरेसँगै यस क्षेत्रमा १७ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा शाह र घिमिरेबीच नै हुने देखिएको छ ।

शाह यही क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका नेता हुन् । नेता शाहले २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार डिलाराम आचार्यलाई ठूलो मतान्तरले पराजित गरेका थिए । वाम गठबन्धनले अधिकांश स्थानमा जीत निकाले पनि यहाँ उल्टै शाहले फराकिलो अन्तरले जीत निकालेका थिए ।

२०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा आचार्य २० हजार ४३८ मतमा रोकिएका थिए । तर, अहिले उनै आचार्य शाहको प्रचारमा छन् ।

शाहले एमालेका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दैछन् । तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर चर्चामा कमाएका निवर्तमान मेयर घिमिरे एमाले गठबन्धनका उम्मेदवार छन् । २०७० र २०७४ सालको निर्वाचन जितेका शाहलाई ‘ह्याट्रिक’ गर्न नदिएर घिमिरे पहिलो पटकको प्रयासमै संसद छिर्ने रणनीतिमा छन् ।

सुरुमै एमालेमा अनमेल, पछि भयो समाधान

यस क्षेत्रमा पहिलेदेखि नै उम्मेदवारीको चर्चा भएका नेता खिमलाल भट्टराईलाई पार्टीले समयमै कुनै निर्णय दिन सकेन । राष्ट्रियसभामा विपक्षी दलको नेता रहेका र अझै डेढ वर्ष उनको कार्यकाल रहेकाले पनि उनलाई सो क्षेत्रमा उम्मेदवार बनाउने विषयमा पार्टीभित्र एकमत हुन सकेन । क्षेत्रीय कमिटीबाट एकल रुपमा भट्टराईको नाम सिफारिस भएको, भट्टराई त्यो सुविधा छाडेर मैदानमा जान तयार भएको, संगठन विस्तारमा केही समययता मेहनत गरेको र कांग्रेस नेता शाहलाई उनले पराजित गर्नसक्ने निष्कर्षसहित पार्टीमा गम्भीर छलफल भयो ।

अन्तिम समयसम्म निर्णय हुन नसकेको अवस्थामा नेता घिमिरेले मनोनयनको अघिल्लो दिन अबेर टिकट पाए । क्षेत्र नं ३ मा दावी गरेका उनलाई ५ को टिकट दिइएको थियो । तर, पार्टीभित्रै बाट अर्को समूहले खिमलाललाई राजीनामा गर्न लगाएर उनैलाई आधिकारिक उम्मेदवार बनाउने गरी पुनः दबाब दियो र मनोनयनकै दिन आश्चर्यजनक रुपमा त्यो निर्णय आयो ।

उम्मेदवारी मनोनयनका दिन दुइटा टिकट आएपछि एमालेबाट घिमिरेसँगै खिमलाल भट्टराईले पनि उम्मेदवारी दर्ता गराए । सुरूमा दर्ता गराएकाले घिमिरेको उम्मेदवारी कायम भयो । पार्टीबाट टिकट वितरणका क्रममा भएको कमजोरीका कारण सिर्जित समस्या समाधान गर्दै भट्टराईको मन जित्ने र साथ लिने चुनौती घिमिरेसामु छ ।

भट्टराईले घिमिरेलाई पूर्ण सहयोग नगरेको त्यहाँका कतिपय नेता कार्यकर्ताले आरोप लगाए पनि उनी आफैं चुनावी कमाण्डर बनेर खटिएका छन् । बासुदेवले कम मत ल्याए त्यसको अपजस भट्टराईलाई जाने भएकाले पनि उनलाई निर्वाचनको माहोल बनाउने चुनौती छ ।

‘म पार्टीको बफादार कार्यकर्ता हुँ, म आफैं चुनावी संयोजक बनेको छु, विपक्षी दलका मान्छेहरुले यिनीहरुबीच अन्तरविरोध गराएर खेल्न सकिन्छ भन्ने सोचे होलान्, एमालेको निर्णयविपरीत जाने छुट कसैलाई छैन’, भट्टराईले भने ।

मतभारमा घिमिरे अगाडि

स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ एमाले पहिलो दल हो । गठबन्धन हुँदा पनि सत्तारुढ दलहरुभन्दा एमाले गठबन्धन ६ हजारभन्दा बढी मतले अगाडि छ । वडाध्यक्षमा आएको मतभारअनुसार एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ । तीनै पार्टीको मत जोड्दा ३९ हजार २९५ हुन्छ ।

त्यस्तै कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२६ र नेकपा एसको १ हजार १६३ मत छ । सत्ता गठबन्धनको कुल मत ३२ हजार ६७७ हुन्छ । सत्ता गठबन्धनमा रहेकाे लोसपाको यहाँ ३ हजार ५५६ मत रहेको छ । उसले आफ्नाे उम्मेदवार उठाएकाे छैन ।

यहाँ सिके राउत नेतृत्वको जनमत पार्टी र लोसपाको पनि राम्रो प्रभाव छ । पालिका निर्वाचनमा वडाध्यक्षको मतलाई आधार मान्दा यो क्षेत्रमा जनमतको ५ हजार ६५६ मत देखिन्छ । जनमतको आफ्नै उम्मेदवार छन् ।

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन् ।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सत्ता गठबन्धनका उम्मेदवार शाह रूपन्देही ५ मा आफूले धेरै विकास गरेको बताउँछन् । ‘पहिले यहाँको अवस्था कस्तो थियो अहिले कस्तो भयो ? शिक्षा, स्वास्थ्य, विकास र बेरोजगारी हटाउने मेरा योजना हुन्’, शाहले भने, ‘अर्थ राज्यमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो र खानेपानीलगायतका योजनाका कारण मलाई मतदाताले विजयी गराउँछन् । अझै पनि धेरै गर्न बाँकी छ । ती बाँकी काम पूरा गर्न म आउन लागेको हो ।’

एमाले गठबन्धनका उम्मेदवार घिमिरेले विश्व शान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देही ५ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र सरसफाइलाई प्राथमिकता दिने बताए । ‘तिलोत्तमा नगरपालिकामा जस्तै क्षेत्र नम्बर ५ मा पनि विकासका काम गरेर देशमै परिचित बनाउनेछु’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तीकरणका क्षेत्रमा धेरै काम गर्ने योजना छन् ।’

कञ्चन, लुम्बिनी सांस्कृतिक, गैडहवा र सैनामैनाको उर्बर भूमिमा सिंचाइ सुविधा उपलब्ध गराउने, पर्यटन क्षेत्रबाट आर्थिक विकामा विशेष योजना ल्याउने र स्थानीयको जीनवस्तर विकास गर्ने उनका प्राथमिकता छन् ।

प्रदेशसभातर्फ एमालेबाट ५ (१) मा भूमिश्वर ढकाल र ५ (२) मा रामचन्द्र यादव उम्मेदवार छन् । सत्ता गठबन्धनले ५ (१) मा माओवादी केन्द्रका विनोद पहाडी र ५ (२) मा कांग्रेसका फकरुद्दिन खानलाई उम्मेदवार बनाएको छ ।

स्थानीयमा देखिएको आक्रोश

उत्तरदेखि दक्षिणी भारतीय सीमासम्म पुगेको यो क्षेत्रमा विकासका आधारभूत विषयहरु नै प्रवेश भएका छैनन् । तराईको दुर्गमजस्तै रहेको यो क्षेत्रभित्र रहेका बाटोघाटो, शैक्षिक तथा स्वास्थ्य अवस्था निकै कमजोर रहेको लुम्बिनी पडरियाका सिबिन खानले बताए । ‘धेरै नेताहरु चुनावको वेला आउँछन्, हामीलाई यो गर्छम् त्यो गर्छम् भनेर जान्छन्, जितेपछि आउँदैनन्’, उनले भने ।

गैडहवा गाउँपालिकाका धुरेन्द्र मिश्राले आफूहरुलाई धेरैपटक कन्चन बाँध बनाइदिने भनेर चुनावको वेला नेताहरुले आश्वासन दिए पनि अहिलेसम्म नबनेको गुनासो गरे । उनले भने, ‘चुनावको वेला सधैं सबै नेताले बनाउँछौं भन्छन् । तर, पछि जित्ने र हार्ने कोही फर्केर आउँदैनन् । यस्तो अवस्थामा कसरी विश्वास गरौं ।’

मायादेवी गाउँपालिकाका दिनेश लोध आफ्नो ठाउँमा स्वास्थ्य संस्था नभएकाले ठूलो समस्या परेको बताउँछन् । ‘स–सानो समस्या पर्दा पनि उपचार गर्न भैरहवा जानुपर्छ, अलि ठूलो अस्पताल बनाइदिए नि हुन्थ्यो’, उनले भने ।

स्थानीय क्षेत्रमा रहेका बाटो निर्माण, कृषि क्षेत्रका लागि मल र बीउको सहजता, उपचारका लागि अस्पताल, शिक्षाका लागि व्यवस्थित शैक्षिक संस्था र सिंचाइको माग यहाँ मतदाताको रहेका छन् । उनीहरुले डुबानको समस्यासमेत समाधान हुनुपर्नेमा उम्मेदवारहरुको ध्यानाकर्षण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर