फुटपाथका व्यवसायीको गुनासोः नगर प्रहरीको ज्यादती बढी भयो – Nepal Press

फुटपाथका व्यवसायीको गुनासोः नगर प्रहरीको ज्यादती बढी भयो

रुपन्देही। बुटवल क्षेत्रमा रहेका फुटपाथका व्यवसायीहरुले नगर प्रहरीले आफुहरुमाथि ज्यादति गरेको गुनासो गरेका छन् ।

फुटपाथमा सामान बेचेर गुजारा गर्नेहरुले आफूहरुलाई कुनै विकल्पबिना हटाएको र नगर प्रहरीले आफूहरुमाथि अमानवीय व्यवहारसँगै ज्यादती गरेको भन्दै प्रदर्शन र नाराबाजी गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल अगाडि भेला भएका उनीहरुले ‘काम गरेर खान दे’, ‘रोजगारीको व्यवस्था गर’, ‘ज्यादती गर्ने नगर प्रहरीमाथि कारवाही गर’, ‘मानवअधिकारको सम्मान गर’ लगायतका नारा लगाएका थिए ।

आफूहरुमाथि ज्यादती नरोकिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने उनीहरुको भनाई छ । डोकोमा सामान राखेर बजारमा डुलेर बेच्दा समेत नगर प्रहरीले लखेटी–लखेटी सामान फ्याँकिदिने र कब्जा गरिदिने गरेको महिलाहरुको गुनासो छ । नगर प्रहरीले लखेट्दा खुट्टा भाँचिएर उपचारमा चार लाख खर्च भएको तर उपमहानगरले कुनै वास्ता नगरेको नम्रता परियारले बताइन् ।

नगर प्रहरीले लखेट्दा आफू जस्तै ५ जना अन्य महिलाहरु समेत लडेर घाइते भएको उनले बताइन् । सडकबाट भागेर बजारका घर र होटेलमा आश्रय लिन पुगेको अवस्थामा समेत नगर प्रहरीले हातपात गर्ने, सामान खोसेर लगिदिने गरेको बुटवल ११ मजुवाका इन्द्र नेपालीले बताए । नगर प्रहरीको ज्यादतीविरुद्ध आवाज उठाउंदा घरमै आएर धम्की दिने गरेको नेपालीले बताए ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले फुटपाथ व्यवस्थित गर्ने क्रममा नगर प्रहरीले सडक ब्यापारीलाई हटाउनु स्वभाविक भएको र यसलाई सोही तरिकाले बुझ्नुपर्ने बताउँदै कानुनको पालना सबैले गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर