स्टिल उद्योगमा अन्तःशुल्कको प्रभाव : ५ ठूला उद्योग बन्द, रोजगारी गुमाउँदै दुई हजार मजदुर – Nepal Press

स्टिल उद्योगमा अन्तःशुल्कको प्रभाव : ५ ठूला उद्योग बन्द, रोजगारी गुमाउँदै दुई हजार मजदुर

रुपन्देही । करिब १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग अन्तःशुल्क विवादका कारण बन्द भएका छन् । चालू आर्थिक वर्षको बजेटमा अन्तःशुल्क समेटिएपछि स्टिल उद्योग संकटमा परेको हो ।

भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन् ।

सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्क लगाएको थियो । जसले उत्पादन लागत बढ्दा उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ ।

पाँच उद्योग बन्द हुँदा यसमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने भएका छन् । सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको उद्योगीहरूको आरोप छ ।

यस विषयमा व्यवसायीहरुले उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएका छन् । उक्त अवसरमा गृहमन्त्री खाणले अर्थमन्त्रीले यस विषयमा गलत गरेको र सच्चाउन पहल गर्ने प्रतिबद्धता जनाएको व्यवसायीहरुको भनाइ छ ।

भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडौं स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग हो ।

त्यसैगरी स्पञ्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन् । उद्योगहरू धमाधम बन्द हुन थालेपछि आफ्नो रोजगारी गुम्ने चिन्ता यहाँका कामदारहरूमा बढेको छ ।

एभरेष्ट रोलिङ इन्डस्ट्रिज असोज पहिलो साता बन्द भएको छ । पञ्चकन्याले पनि एक महिना अगाडिदेखि उत्पादन बन्द गरेको छ । सरकारी नीतिका कारण लागत बढ्न गएको, प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएकाले एक महिनादेखि स्टिल उत्पादन बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतको उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले नेपाल प्रेसलाई बताए ।

‘हामीले यो अवस्थाका विषयमा सरोकारवाला सबैलाई धेरैपटक ध्यानाकर्षण गरायौं, गृहमन्त्रीलाई उहाँकै क्षेत्र भएकाले भेटेरै भन्यौं, उहाँले यो गलत भएको भनेर हामीलाई भन्नुभयो । तर, बजेट नै पास भइसकेकाले कुनै समाधानको उपाय देखिएन’, उनले भने, ‘तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नुपर्ने हाम्रो माग हो । भन्सार शुल्क बराबर गर्नुप¥यो ।’

संसदीय समितिले स्थलगत अनुगमनपछि सबै विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराए पनि समाधान नभएको उनले बताए । ‘सबै दलका नेता तथा मन्त्रीलाई समस्या देखाएका हौं, समाधान हुने कुनै आधार देखेनौं’, उनले थपे, ‘करिब ६ सय कर्मचारी छन् । चल्नै नसकेपछि तत्कालका लागि बिदा दिइएको छ ।’

एसआर ग्रुपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज साउनदेखि बन्द छ । दैनिक दुई सय टन टीएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको थियो ।

एसआर स्टिलका प्रबन्ध निर्देशक इञ्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आएको उनले बताए ।

‘सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्ष रूपमा ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा प¥यौं । जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन’, उप्रेतीले भने, ‘त्यस्तै आर्थिक मन्दी, ऋणमा कडाइ, पूर्वाधार विकासका काममा कमी, माग नभएकोलगायतले पनि उद्योगहरू चल्न सकेनन् ।’

सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो । एमएस ब्लेड आयातमा भन्सार विन्दुमै प्रतिकेजी तीन रुपैयाँ ५० पैसा अन्तःशुल्क कायम गरिएको छ । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् ।

सरकारको विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको बताउँछन् रुपन्देहीको एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्का । ‘एकै प्रकृतिका सामानमा सरकारले फरक फरक दर कायम गर्‍यो, स्पञ्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन’, गोयन्काले भने, ‘त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनुपर्‍यो ।’

एभरेष्ट रोलिङ उद्योगले दैनिक १५० टन टीएमटी स्टिल उत्पादन गर्दै आएको थियो । सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । हिमालपछि एभरेष्ट नेपालको दोस्रो स्टिल हो ।

उद्योगीको विरोधपछि सरकारले केही समयअघि स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो । त्यस्तै एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो ।

दैनिक प्रयोजनमा प्रयोग हुने ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्ट्सहरू रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डष्ट्रिज पनि बन्द भएको छ । वि.सं २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो ।

स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् । ‘जबसम्म उद्योग तथा औद्योगिक क्षेत्र मैत्री नीति आउँदैन तबसम्म उद्योगहरू बन्द भइरहन्छ’, उनले भने, ‘कोरोनाले धराशायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ ।’

रुपन्देही उद्योग संंघका अध्यक्ष माधव पौडेलले पटक-पटक विभागीय मन्त्रालय र निकायहरुमा ध्यानाकर्षण गराइए पनि समाधान नभएपछि अर्बौंं लगानीका उद्योगहरु बन्द भएको बताए । धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर