मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस, नेकपा एस र लोसपाबाट धोका ? – Nepal Press

मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस, नेकपा एस र लोसपाबाट धोका ?

जनकपुरधाम । बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने लिखित सहमति भयो । जनमतलाई नेतृत्व दिने भनिएको सहमति पत्रमा नेकपा एस र लोसपा पनि सहभागी हुने उल्लेख छ ।

तीन दलको लिखित सहमति र सहमति गरेको बेला जनमतका अध्यक्ष डा. सीके राउत तथा तीनै दलका नेताहरुको संयुक्त तस्बिर सार्वजनिक भएको थियो । सो तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्दै माओवादी दलका नेता भरत प्रसाद साहले शुक्रबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने लेखेका थिए ।

नयाँ सरकार गठनबारे गरेको लिखित सहमति पत्रमा एमाले, माओवादी र जनमतका दलका नेताहरुको मात्र हस्ताक्षर छ । सहमति पत्रमा आफ्नो पार्टीको नाम राखिएकोमा लोसपाका नेताहरुले आपत्ति जनाएका छन् । लोसपाका महासचिव मनिष मिश्रले नयाँ सरकार गठनबारे कुनै आधिकारिक सहमति नभएको बताए ।

तीन दलको सहमतिबारे सत्तारुढ नेकपा एसको कुनै प्रतिक्रिया आएको छैन । स्रोतका अनुसार तीन दलको सहमतिमा नेकपा एस पनि सहमत छैन । लोसपा र नेकपा एस तयार नभएकै कारण नयाँ सरकारका लागि दाबी पेश गर्ने तीन दलको योजना फेरि तुहिएको छ ।

मधेश प्रदेशमा कूल १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । नेकपा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३ र नेकपा माओवादी केन्द्रका ९ सांसद छन् । यो तीन दलको सांसद जोड्दा ४६ पुग्छ । अर्थात् सरकार बनाउन थप ८ सांसद चाहिन्छ ।

नेकपा एसका ७ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले सहयोग गरेमा मात्र सत्तारुढ गठबन्धनको सरकार बन्ने देखिएको छ । तर नेकपा एस अनिर्णित बनेपछि मधेशमा नयाँ सरकार गठन पेचिलो बनेको छ ‌।

अहिले मधेशमा जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपनि नेकपा एस काँध थापेको छ । नेकपा एसका सांसद प्रमोद यादव भन्छन्, ‘सत्ता गठबन्धनको सरकार बनाउने विषयमा न छलफल भएको छ, न केन्द्रबाट कुनै निर्देशन आएको छ । केन्द्रबाट जे निर्देशन आउँछ, हामीले गर्ने त्यही हो ।’

अहिलेको राजनीतिक परिस्थिति हेर्दा नयाँ सरकार गठन गर्न सत्ता गठबन्धनका एमाले, माओवादी र जनमतलाई हम्मेहम्मे परेको छ । सरकारबाट बाहिरिन एमाले र माओवादीलाई लोसपाका सांसदहरु भुमिका खेलेका थिए । लोसपाको भूमिकाबारे एमालेका एक नेताले भने, ‘हामीलाई रुखमा चढायो र अहिले त्यही रुख काट्न खोजिएको छ ।’

माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले नयाँ सरकारका लागि बहुमत जुटाउनमै लागेको बताए । उनले नेपाल प्रेससँग भने, ‘हामी लागिपरेका छौं । आज बेलुकासम्म प्रदेश प्रमुखलाई हामीसँग सरकार बनाउन बहुमत रहेको भनेर ध्यानाकर्षण गराउन सक्छौं ।’ सरकार गठनको आह्वान भएपछि मात्रै दाबी पेश गर्ने हो– उनले थपे ।

सरकार बचाउने दाउमा मुख्यमन्त्री यादव

अल्पमतमा परेका मुख्यमन्त्री सरोज कुमार यादव जसरी पनि आफ्नो नेतृत्वको सरकार बचाउने दाउमा छन् । उनले जेष्ठ २३ मा विश्वासको मत लिने बताएका छन् । विश्वासको मत पाउनेमा पनि उनी ढुक्क छन् ।

नेपाली कांग्रेस, लोसपा, नेकपा एस र साना दलका सांसदहरुसंग मुख्यमन्त्री यादव निरन्तर संवादमा छन् । २३ सांसद भएको कांग्रेसले उनलाई विश्वासको मत दिन तयार भइसकेको स्रोतको दाबी छ । लोसपा र नेकपा एसको सहयोग पाएमा मुख्यमन्त्री यादव नेतृत्वकै सरकार निरन्तरता पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर