सन्दीपविरुद्ध इन्टरपोल नोटिस कायमै भएकाले अमेरिकाले भिसा नदिएको हो ? – Nepal Press

सन्दीपविरुद्ध इन्टरपोल नोटिस कायमै भएकाले अमेरिकाले भिसा नदिएको हो ?

काठमाडौं । सन्दीप लामिछानेलाई अमेरिकाले भिषा अस्वीकार गरिरहेका बेला चर्चामा छ- उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टरपोलले जारी गरेको पक्राउ नोटिस कायमै थियो त्यही भएर अमेरिकाले भिषा नदिएको हो ।

खासगरी सामाजिक सन्जालमा यस्तो तर्क छ्यापछ्याप्ती छ । विभिन्न अपराधमा फरार रहेकालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित देशमा रहेको इन्टरपोलसँग समन्वय गर्ने नेसनल कन्ट्रोल ब्युरो-एनसीबीले नोटिस जारी गर्न पत्राचार गर्छ र अध्ययन पश्चात इन्टरपोलबाट डिफ्युजन, रेड नोटिसजस्ता नोटिसहरु जारी हुन्छ ।

इन्टरपोलका सदस्य राष्ट्रले त्यसरी नोटिस जारी भएका व्यक्ति आफ्नो देशमा भएमा समन्वय गरी सम्बन्धित देशलाई बुझाउँछन् ।

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी दर्ता हुँदा उनी क्यारेबियन प्रिमियर लिग खेलिरहेका थिए । जाहेरी पछि उनी खेलेनन् र तत्काल नेपाल पनि आएनन् । उनीविरुद्ध अनुसन्धान गरिरहेको निकायले डिफ्युजन नोटिस जारी गर्न एनसीबीलाई पत्राचार गरेको थियो । एनसीबीको समन्वयमा इन्टरपोलले डिफ्युजन जारी गर्यो् पनि । जाहेरी दर्ता भएको झन्डै एक महिनापछि सन्दीप आफैं नेपाल फर्किएका थिए ।

नेपालमा नेपाल प्रहरीको मातहतमा रहेको एनसीबीका अधिकारीहरु डिफ्युजन नोटिसले कुनैपनि अपराधमा मुछिएपछि अनुसन्धानका लागि उपस्थित हुन आह्वान गर्ने बताउछन् । ‘सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि डिफ्युजन नोटिस अस्तित्वमा रहँदैन । रेड नोटिसको हकमा चाहिँ एनसीबीले इन्टरपोललाई पत्रचार गर्छ’, एनसीबी स्रोत भन्छ ।

प्रहरी अधिकारीहरु रेड कर्नर नोटिस जारी भएका नेपालीहरुलाई पनि अमेरिकाले भिषा दिइरहेको दाबी गर्छन् । यस्ता नोटिस भएका व्यक्तिहरु नेपालबाट जापान पुगेर अमेरिका गएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा काम गरेका एक पूर्व अधिकारी भन्छन् ।

‘रेड नोटिस जारी भएका एक व्यक्ति जापानबाट अमेरिका गएको हामीलाई जानकारी आएको थियो । त्यसैले अमेरिकाले इन्टरपोलको नोटिस भएका व्यक्तिलाई भिषा दिँदैन भन्ने मलाई लाग्दैन’, ती अधिकारी भन्छन् ।

टी-२० विश्वकप खेल्न जान लागेका सन्दीपलाई नेपालस्थित अमेरिकी दूतावासले भिषा अस्वीकार गरेको हो । पहिलोपटक अस्वीकृत भएपछि सरकार आफैंले पहल गरेको थियो । तर बिहीबार सन्दीपलाई बोलाएको दूतावास कन्सुलरले पुन: भिषा अस्वीकार भएको जवाफ दिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर